किरिया बस्ने ठाउँ छैन्, लामखुट्टे छल्ने झुल छैन्, पानी खान गिलास छैन्

Advertisement

बारा, पर्सा, काठमाडौं । बाराको कलैया–१८ स्थित मारबालियाका २२ वर्षीय राजेन्द्र पटेल हुरीले ध्वस्त घरको भग्नावशेषनजिकै आगो ताप्दै थिए । भर्खरै मात्र उनी आफ्ना ५० वर्षीया आमा मनुरादेवी कुर्मीको दाहसंस्कार गरेर आएका हुन् । रीतअनुसार कपाल मुण्डन गरे, तर किरिया बस्ने ठाउँ नै पाएनन् । आइतबार साँझको हुरीले उनका दुवै घर ध्वस्त बनायो । घरले थिचेर आमाको घटनास्थलमै ज्यान गयो । उनीसँग अहिले ओत लगाउने ठाउँ छैन, त्यसैले आमाको किरिया कर्मलाई नै पछि सार्नुपर्‍यो ।

उनले भने, ‘हुरीले घर उडायो । छानोले थिचेर आमाको ज्यान गयो । दुवै घर ध्वस्त भए । आज दिनभर आमाको दाहसंस्कार गरियो । कपाल मुण्डन गरियो । किरिया बस्नुपथ्र्यो । घर छैन, कहाँ किरिया बस्ने ?’

मारबलियाका ६० वर्षीय बिर्जलाल चमारको ५० वर्षीया श्रीमती बढियादेवीको ज्यान पनि आइतबारको हुरीले लग्यो । सोमबार दिनभर बिर्जलालले श्रीमतीको दाहसंस्कार गरे । कपाल मुन्डन गरे । तर, घर हुरीले उडाएकाले उनले श्रीमतीको किरिया कर्म केही दिन पर सारेका छन् । सोमबार रातिको ९ः३० बजे ध्वस्त घरनजिकैको खाली ठाउँमा आगो ताप्दै गरेका उनले भने, ‘राति मच्छड आउँछ । झुल छैन । ओत लाग्न पाल छैन । खानलाई पानी छैन । यस्तो अवस्थामा श्रीमतीको किरिया गर्ने कुरो भएन ।’

मारबालियास्थित हुरीले ध्वस्त घरनजिकै लगाइएको एउटा पालमुनि १५ भन्दा धेरै महिला सुतेका थिए । २२ वर्षीय अनितादेवी काखे छोरालाई बर्कोले गुटुमुटु पारी छोप्ने प्रयास गर्दै थिइन् । घाइते छोराको टाउकोमा चोट प्रशस्तै देखिन्थ्यो । उनले केही भनिन्, तर बुझिएन । भाषा उल्था गर्दै छेउमा रहेकी उनकी साथीले बुझाइन्, ‘हुरीले थिचेर उनकी सासु बितिन् । छोरा र श्रीमान् पनि घाइते भए । बेघरबार भएपछि उनी पालमा बस्न पुगेकी हुन् । घर नभएपछि उनको पनि सासुको किरिया कर्म रोकिएको छ ।’

बारा फेटा गाउँपालिका–१ का २५ वर्षीय दिनेश शर्मा सोमबार राति करिब १० बजे घरको भग्नावशेष नजिकै आमा समीदेवीलाई सुताउने तरखर गर्दै थिए । आमा ७४ वर्षकी छन् । नजिकै थिए दिनेशकी श्रीमती र काखे छोरा । छोरा चिच्याइचिच्याई रुँदै थिए । भुइँ खाली थियो । ओछ्याउने केही थिएन । न ओढ्नेको कुनै व्यवस्था थियो । दुःखेसो गर्दै उनले भने, ‘हामीले केही पनि खाएका छैनौँ । खाना पकाउने भाँडा सबै हुरीले उडायो । पानी थापेर खाने गिलाससमेत छैन । ओढ्ने ओछ्याउनेको त कुरै छाडौँ । अब यही भुइँमा सुत्ने हो । लामखुट्टेले दुःख दिन्छ । पकाउने भाँडा सबै हुरीले उडायो । पानी थापेर खाने गिलाससमेत छैन । ओड्ने, ओछ्याउनेको त कुरै छाडौँ ।’

पूरै गाउँ अन्धकार
बारास्थित पथलैया–१८ र फेटा–१ स्थित विद्युत्का पोल हुरीले उडाएर क्षतविक्षत गरेको छ । हाइटेन्सन लाइनसमेत भत्काएर ध्वस्त भएको छ । गाउँ अन्धकार छ । अन्धकार हटाउन केहीले टुकी बालेका छन्, केही आगो फुकेर अँध्यारो हटाउने कोसिसमा छन् । मनगढवाका ३७ वर्षीय विनोद मण्डलले भने, ‘गाउँ पूरै अन्धकार छन्, बिजुली छैन । पोल ढल्यो, तार पनि ढल्यो ।’

२७ को मृत्यु, ६ सय ६८ जना घाइते, ज्यान गुमाउनेमा चार भारतीय

बारा–पर्सामा आइतबार गएको भीषण हावाहुरीबाट ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । गृह मन्त्रालयका अनुसार ज्यान गुमाउनेमा १२ पुरुष, १० महिला र ५ जना बालबालिका छन् । मृतक २७ मध्ये २५ जनाको सनाखत भएको छ भने दुईजनाको परिचय खुल्न बाँकी छ ।

ज्यान गुमाउनेमा फेटा गाउँपालिकाका १३ जना छन् । फेटा–१ का हरिनारायण दास, मनोरमा देवी, रुनी देवी, नन्द पटेल, फेटा–६ का रुबी खातुन, बिबीमा खातुन, मुस्तकिमा खातुन, मीना खातुन, अलिसा खातुन, सकिया खातुन, सम्सिधा खातुन, सबनम खातुन र नोक्सारा मियाँ छन् ।

त्यस्तै भवानीपुर–१ का राम माझी र सुरज माझी, पर्सौनी–४ का अक्षयलाल माझी र कलैया–१८ की गढीमा देवीले ज्यान गुमाएका छन् । सुवर्ण–८ की तरिफा खान, महागढीमाई–७ की कोइरी देवी, सुवर्ण–४ का श्रीप्रसाद यादवको पनि मृत्यु भएको छ । पर्सा जिल्लाका एकजनाले ज्यान गुमाएका छन् । वीरगन्ज–१८ का सरोज रामको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा चारजना भारतीय नागरिक छन् । जसमा राजेश मुखिया, अवधेश पासवान, हितलाल सहनी र राधे लोडी छन् । उनीहरू इँटाभट्टाका कामदार हुन् । दुईजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । हावाहुरीले ६ सय ६८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए । जसमध्ये २ सय ८४ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

मन्त्रिपरिषद् निर्णयः पीडितको उपचार र आवास जिम्मा सरकारको
हावाहुरीबाट घाइते भएकाहरूको उपचार सरकारले गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले वास गुमाएकाको आवास पनि सरकारले नै बनाइदिने निर्णय गरेको छ । आवास निर्माणको मोडालिटी भने तथ्यांक संकलन र मूल्यांकनपछि मात्र निर्धारण हुनेछ । यसैगरी घटनास्थलमा राहत वितरणलाई तीव्रता दिने निर्णय पनि सरकारले गरेको छ । घटनास्थलमा महामारी फैलन नदिन स्वास्थ्यकर्मी परिचालन गर्ने तथा औषधिलगायत अत्यावश्यक सामग्री व्यवस्थापन गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

हावाहुरी प्रभावित बारा र पर्साका गाउँमा चिकित्सक टोलीसहित प्रहरी खटिएको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार दुईवटा
मेडिकल टोली प्रभावित क्षेत्र पुगेको छ ।

यसैबीच, सेनाको सिमरास्थित २८ नम्बर बाहिनीले सोमबार बारा र पर्सामा उद्धार तथा अस्थायी बसोवास र खानपिनका लागि चार सय सैनिक परिचालन गरेको छ । सेनाको चण्डी दल, तारा दल गणसम्बद्ध सैनिक दिनभर खटिएका छन् । स्काई ट्रकबाट सेनाले नौ गम्भीर घाइतेलाई काठमाडौं ल्याएको छ भने एमआई १७ हेलिकोप्टरबाट राहत सामग्री पठाएको छ ।

सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले भने, ‘सर्जनसहितको टिम पनि बारा र पर्सामा पठाएका छौँ ।’ एउटा हेलिकोप्टर मध्य एयर बेस काठमाडौंमा तयारी हालतमा राखिएको उनले बताए ।

मौसम विज्ञान विभागद्वारा दुःख व्यक्त, परिवारप्रति समवेदना, घाइतेको स्वास्थ्य लाभको कामना

विभाग भन्छ, ‘अहिलेको प्रविधिबाट हुरी, हिउँ, असिना, चट्याङको पूर्वानुमान गर्न सकिन्न’

जल तथा मौसम विज्ञान विभागले आइतबार मध्य तथा पूर्वी तराईमा मेघ गर्जनसहित वर्षा हुने पूर्वानुमान गरेको थियो । तर, आइतबार साँझ मध्य तराईका बारा र पर्सामा असिना–पानी मात्रै परेन, ठूलो जनधनको क्षति पुग्ने गरी भीषण हावाहुरी नै चल्यो ।

वर्षाको पूर्वानुमान गर्ने जल तथा मौसम विज्ञान विभागले हावाहुरीको पूर्वानुमान गर्न सक्दैन ? विभागका महानिर्देशक सुर्जकुमार वैद्य भन्छन्, ‘हावाहुरी, असिना, हिउँ, चट्याङको पूर्वानुमान गर्ने मौसमी राडार र बेलुन सञ्चालन गर्नै सकिएन । हामी तापक्रम र वर्षाको मात्रै पूर्वानुमान गर्न सक्ने हैसियतमा छौँ ।’

हावाहुरीको समेत पूर्वानुमान गर्न सक्ने एउटा राडार नेपालसँग छ । तर, सञ्चालनमा छैन । सो राडार पाल्पामा स्थापना गर्न ठेकेदार कम्पनीलाई संरचना निर्माणको जिम्मा दिइए पनि काम नसकिएको महानिर्देशक वैद्यले बताए । यस्तै, सुर्खेत र उदयपुरमा राडार राख्ने स्थानको पहिचानमात्रै गरिएको छ । एउटा राडार सञ्चालनमाल्याउन ३० करोड खर्च लाग्छ ।

‘राडार सञ्चालनभए हावाहुरी चल्नुभन्दा एक–दुई घन्टाअघि नै पूर्वानुमान (नाउकास्ट) गरेर ठूलो क्षतिबाट बच्न सकिन्छ,’ महानिर्देशक वैद्यले भने ।

कीर्तिपुरमा बेलुनबाट हावाको गतिपूर्व अनुमान गर्ने बेलुन परीक्षण भएको थियो । तर, अत्यधिक महँगो भएपछि नियमित गर्न नसकिएको वैद्यले बताए ।‘प्रविधिसहित जडान गरिएको सेन्सरयुक्त बेलुन बिहान ५ः४५ र बेलुका ५ः४५ बजे दुईपटक उडाउनुपर्छ,’ वैद्यले भने, ‘प्रविधिसहित जडान गरेको बेलुन एकपटक उडाउँदा २० हजार जति खर्च हुन्छ ।’ तर, सेन्सर युक्त बेलुनको डाटाका आधारमा गरिने पूर्वानुमान विश्वभर नै उत्कृष्ट मानिने उनले बताए ।

आइतबार हावाहुरी चल्ने पूर्वानुमानथिएन
मीनकुमार अर्याल
मौसमविद्
आइतबार पनि पूर्वानुमान शाखाको मौसमको पूर्वानुमान मैले नै गरेको थिएँ । प्रिमनसुनमा हावाहुरी चल्ने, मेघ गर्जन हुने, हावाहुरी थोरै चल्ने जस्तो देखिएको थियो । त्यसलाई स्वाभाविक ठानियो । हावाहुरीको पूर्वानुमान गर्ने अत्याधुनिक प्रविधि नहुँदा ठूलो मानवीय क्षति भयो ।

यसरी चल्यो बारामा हावाहुरी
जल तथा मौसम विज्ञान विभागका अनुसार पोखरामा विकास भएको वायुसँग बंगालको खाडीबाट आएको वायु मिसिँदा बारामा ठूलो हावाहुरी चलेको हो । ‘अरेबियन सागरबाट पश्चिमी वायुसँग पोखरामा विकास भएको स्थानीय वायुसँग मिसिएर दक्षिण–पूर्वदिशाबाट चितवन हुँदै पर्सा–बारातिर चिसो हावा गयो । उता, बंगालको खाडीबाट उत्तर–पश्चिम हुँदै बारातिर तातो हावा आयो,’ मौसमविद् मीनकुमार अर्यालले भने, ‘पश्चिमी वायु पोखरामा विकास भएको स्थानीय चिसो वायु र बंगालको खाडीबाट आएको वेग युक्त वायु एक–आपसमा रुमल्लिएर टकराउँदा दुर्घटना भयो ।’ विभागकाअनुसार दुवै दिशाबाट आएको हावा बारा आसपास क्षेत्रमा भेट हुँदा प्रतिघन्टा ९० किलोमिटरको गति लिएको थियो । प्रि–मनसुनमा मेघ गर्जनसहित हावाहुरी चल्ने गरे पनि बारा–पर्सामा चलेको हुरी अहिलेसम्मकै ठूलो भएको विभागले जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै घटनाप्रति विभागले दुःखव्यक्त गरेको छ । नेपालजस्तो जटिल भुबनोट भएको देशमा विपद क्षेत्र र ठाउँ तोक्की पूर्वअनुमान गर्न गाह्रो हुने बताउँदै विभागले प्रविधि र जनशक्ति अभाव हुँदा पूर्वानुमान गर्न नसकिएको जनाएको छ । मौसमी राडार नेटवर्क, स्वचालित मौसमी केन्द्र कमी हुँदा पूर्व अनुमान गर्न नसकिएको विज्ञप्तीमा उल्लेख छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement