राहुघाट जलविद्युत् आयोजनाको विद्युत् खरीदबिक्री सम्झौता

Advertisement

म्याग्दी । बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक श्रीरामराज पाण्डेबीच आज काठमाडौँमा सम्झौता भएको हो । रघुगङ्गा हाइड्रो लिमिटेड प्राधिकरणको शत्प्रतिशत लगानी रहेको सहायक कम्पनी हो । यो विसं २०७३ मा स्थापना भएको छ ।

सुख्खायामको छ महीना पिक आवरमा प्रतियुनिट दश रुपियाँ ५५ पैसा र सामान्य समयमा आठ रुपियाँ ४० पैसामा विद्युत् खरीद बिक्री गर्ने सम्झौता भएको कम्पनीका सहायक निर्देशक गोपाल पाठकले बेनीमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराए । बर्खाको छ महीना प्रतियुनिट चार रुपियाँ ५० पैसाका दरले प्राधिकरणले आयोजनाको विद्युत् खरीद गर्नेछ ।

प्रतिवर्ष तीन प्रतिशतका दरले ८ वर्षसम्म विद्युत्को मूल्यवृद्धि हुनेछ । भारतीय एक्जिम बैंकको ४४ मिलियन डलर सहुलियतपूर्ण ऋण, नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी रहने यस आयोजनाको कूल लागत निर्माण अवधिको ब्याजसहित रु आठ अर्ब ५९ करोड अनुमान गरिएको छ ।

अर्धजलाशययुक्त बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने जनाएको छ । सुख्खायाममा ४३.५ र बर्खायाममा ६५.९५ प्रतिशत विद्युत् उत्पादन हुनेछ । २०७४ मङ्सिर ५ गते भारतीय जयप्रकाश एसोशिएटसँग ठेक्का सम्झौता भएको राहुघाटको हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको छ । घुमाउनेतालदेखि झीँ र दग्नामको सिमानामा निर्माण हुने बाँधसम्म १० किलोमिटर सडकको ट्र्याक पुगिसकेको छ ।

सिभिल र हाइड्रो मेकानिकल ठेकेदार कम्पनीले तिल्केनी, बगैँचा, अधेरीखोला र लरेनी भन्ने ठाउँबाट चार वटा भागमा विभाजन गरेर करीब सात किलोमिटर सुरुङ खन्ने तयारी गरेको प्रबन्ध सञ्चालक पाण्डेले बताए । झीँ र दग्नामको सीमामा बाँध रहेको आयोजनाको विद्युत्गृह पिप्लेको तिल्केनीचौरमा रहने जनाइएको छ ।

विद्युत्गृहदेखि बाँध रहने ठाउँको उचाइ २९२ मिटर अग्लो छ । रघुगङ्गा लगायतका निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत् प्राधिकरणले खुर्कोट दाना प्रसारण लाइनका साथै राहुघाट र दानामा सबस्टेशन निर्माण गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement