हावाहुरी पीडितलाई मलम लगाउन धुर्मुस सक्रिय

Advertisement

बारा । विगत लामो समयदेखि सामाजिक काममा उदाहरणीय काम गर्दै आएका कलाकार सीताराम कट्टेल (धुर्मुस) हावाहुरी पीडितहरुलाई राहत वितरण गर्न पनि सक्रिय ढंगले लागेका छन् ।

विनाशकारी हुरीले बितण्डा मच्चाएर घरबारविहीन भएकाहरुलाई उनले खाने कुरादेखि कपडाहरुसम्म वितरण गरे । हुरीले बढी प्रभाव पारेको फेटा गाउँपालिकाको पुरैनिया धुर्मुसले सोमबार चार सय थान त्रिपाल, नौ क्विन्टल चामल र चार सय कार्टुन चाउचाउ वडाअध्यक्ष जाकिर हुसेनलाई हस्तान्तरण गरे।

भूकम्प पीडितदेखि बाढि पीडितहरुलाई नमुना एकीकृत वस्ती निर्माण गरिदिएर ठूलो गुन लगाएका धुर्मुसले प्राकृतिक विपतिबाट भएको यस्तो क्षतिमा थोरै भएपनि सहयोग गर्न सकिन्छ कि भनेर राहत लिएर बारा आएको बताए । उनहरुले प्रभावित क्षेत्रमा आएर पीडितको अवस्था हेर्दा आफूहरु निकै दुखित भएको बताए ।

हावाहुरी बढि प्रभावित क्षेत्रमा व्यवसायीक संघसंस्था, क्लव, शैक्षिक संस्थाहरुले पनि राहत वितरणको काम गरिरहेका छन् । आइतबार साँझ आएको विनाशकारी हावाहुरीले २७ जनाको मृत्यु भएको थियो भने सयौंको संख्यामा घाइते र हजारौं घरबारबिहीन भएका थिए ।

Advertisement

Advertisement

Advertisement