‘मर्जरमा जाने भन्दा पनि कसरी अब्बल विकास बैंक बन्ने ? भनेर लागेको छौं’

prabin-basnet

कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भएर बनेको कामना सेवा विकास बैंक यतिखेर तीब्र बजार विस्तारमा लागेको छ । तीब्र प्रतिस्पर्धाकै बीच आफूलाई अब्बल विकास बैंक बनाउने रणनीतिका साथ काम गरिरहेका यस बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत पूर्वाधार तयार नहुँदा डिजिटलाइजेशन गर्ने कुरा चाहेर पनि नसकिएको बताउँछन् । एभरेष्ट इन्स्योरेन्स, नविल बैंक, नेपाल बंगलादेश बैंक, एनआईसी एसिया बैंक हुँदै कामना सेवा विकास बैंकको व्यवस्थापकीय नेतृत्व गर्न आइपुगेका बस्नेतसँग कर्पोरेट नेपालकी समाचारदाता कमला भुसालले गरेको कुराकानीको सार प्रस्तुत छः

तपाईंकै बैंकबाट कुरा सुरु गरौं । के छ कामना सेवा विकास बैंकको वित्तीय स्थिति ?
कामना सेवा विकास बैंकको दोस्रो त्रैमाससम्ममा नाफा ३८ दशमलव ८८ प्रतिशत पुगेको थियो । अव थर्ड क्वाटरसम्ममा २० अर्बको हाराहारीमा निक्षेप छ भने साढे १७ अर्बको हाराहारीमा कजा र करिव साढे २२ करोड नाफा हुने आशा छ ।

पुँजी बढाउने कुराले प्रत्यक्षरुपमा असर गर्ने भनेको नाफामा हो । अहिले धेरै बैंकलाई पूरानो अनुपातमा नाफा कमाउन धौधौ भएको छ । तपाईंहरुलाई कत्तिको कठिनाई भएको छ ?
हाम्रो भर्खर पुँजी साढे दुई अर्ब क्रस भएको छ । त्यो पूँजी बढेको अनुपातमा विजनेस बढाउनलाई केही समय लाग्नु स्वाभाविक हो । हामी व्यापार विस्तारको क्रममा भएको हुनाले खर्चहरु धेरै छन् । प्रोफिटमा पनि केही असर परेको कुरा स्वभाविक नै हो ।

अहिलेसम्म कतिवटा शाखा सञ्जार विस्तार गरिसक्नुभयो ?
पछिल्लो पटक सञ्चालन आएको बुटवल मैनाबगरको शाखासहित ७९ वटा शाखा पुगेका छ । यो हप्ता भित्रमै अन्य केही स्थानमा शाखा पुर्याउने तयारी गरिरहेका छौं । र ग्राहकसंख्या लगभग दुई लाख ५० हजारको हाराहारीमा पुगेको छ भने लोन कस्टमर पनि १५ हजार भन्दा माथिको हाराहारीमा पुगिसकेको छ ।

भनेपछि देशभर शाखा फैलाउन दौडमा हुनुहुन्छ ?
यसअघि हामी मुख्यत प्रदेश नम्बर ४ र ५ मा केन्द्रित भएका थियौं । अहिले प्रदेश १, २ र ३ मा विशेषगरी काठमाडौं उपत्यकालाई फोकस गरेर शाखा सञ्जाल विस्तार गर्न खोजिरहेका छौं । नेशनल लेवलको डेभलपमेन्ट हुनलाई त्यो देशभरि बैंकको शाखा हुनुपर्यो । त्यसैले शाखा सञ्जाल विस्तारलाई तीब्रता दिएका हौं ।

काम गर्ने कुरामा सञ्चालक समितिको दबाब निकै हुन्छ होला है ?
काम गर्ने कुरामा सञ्चालक समितिको दबाब किन हुन्छ भने उहाँहरुले अब्बल किसिमको बैंक होस, राम्रो पर्फमेन्स देखियोस, सबैतिरबाट राम्रो होस भन्ने कुरा नियालेर बसिरहनुभएको हुन्छ । त्यो कुराको लागि दबाब दिनु स्वाभाविक हो ।

नाफा बढाउने दबाबकै कारण अहिले बीमा कम्पनीको पोसिसी बेच्नेदेखि हस्पिटलहरुसँग सम्झौता गर्नुपर्ने बाध्यता छ नि तपाईंहरुलाई । होइन् ?
बाध्यता त होइन । त्यो त हामीले ग्राहकहरुलाई सुविधा दिएको हो । त्यसमा नाफा बढाउने कुरासँग प्रत्यक्षरुपमा सम्वन्धित छ जस्तो लाग्दैन । जस्तो हाम्रो बैंकको ग्राहकलाई हामीले कुनै बीमा कम्पनीसँग सम्झौता गरिसकेपछि छुट पाउनुहुनेछ । यसले गर्दा फाइदा चाहीँ हुन्छ । यसलाई बाध्यता भन्न मिल्दैन ।

मर्जरको योजना चाहीं के छ नि तपाईंहरुको ?
हामीहरु कामना र सेवा मिलेर कामना सेवा विकास बैंक बनेका हौं । यो मर्जर भर्खर कम्प्लिट भयो । यो भन्दा पहिला कामनाले कास्की फाइनान्सलाई पनि लिइसकेको थियो । अहिले हाम्रो चुक्ता पुँजी पनि पुगिसकेको छ । अब यसलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ ? त्यसतर्फ लागेका छौं । हुन त मर्जर र एक्विजिशन भन्ने कुरा बोर्ड लेवलको कुरा हो । मैले आफैं भन्ने कुरा त होइन । बोर्ड लेवलमा यसको प्रयोजनको निमित्त एक जना सञ्चालकको नेतृत्वमा मर्जर कमिटी पनि बनिसकेको छ । जहाँसम्म मलाई जानकारी छ हामी मर्जरमा जानभन्दा पनि कसरी वेष्ट डेभलपमेन्ट बैंक बन्न सकिन्छ भन्ने कुरातर्फ फोकस गरिरहेका छौं ।

पुँजी बढाउने कुरामा राष्ट्र बैंकले फेरि निर्णय गर्दैछ भन्ने सुनिन्छ । फेरि पुँजी बढाउनुपर्छ भनियो भने तयार हुनुहुन्छ ?
यो कुरा इन्फर्मल्ली आएको मात्र हो । तर मलाई जहाँसम्म लाग्छ हालै मात्र पुँजी वृद्धिको कसरतबाट बैंकहरु गुज्रिएको हुनाले तुरुन्तै फेरि अर्को वृद्धिको कुरा नआउला जस्तो मलाई लाग्छ । भोलि अब एउटा पोलिसिको हिसाबले गर्नै पर्छ भनेर आयो भने हामीले गर्दैनौं भन्ने हुँदैन । हाम्रो नियामक निकायले जे–जस्तो पोलिसिहरु ल्याउनुहुन्छ, त्यसलाई फलो गर्दै जानेछौं । त्यसको लागि हामी तयार छौं ।

अर्कोतिर बैंकहरु सेवामुखी भन्दा धेरै नाफामुखी भए भन्ने गुनासो बढेको छ । बैंकहरु धेरै नाफामुखी हुन सुहाउँछ ?
नाफामुखी एउटा नाफा प्रयोजन पक्कै पनि हो । यो लङट्रमको विजनेस भएको हुनाले व्यक्तिसँग, समाजसँग सहकार्य गरेर जानुपर्छ । व्यापारमा ठूलो मार्जिनभन्दा पनि सस्टेनेवल हिसाबले समाजमा आर्थिक विकास गरौं भन्ने व्यवसाय हो । त्यहीँबाट नियामक निकायले नाफाको सिलसिलामा विभिन्न कुराहरु राखिदिएको हुन्छ । जस्तैः स्प्रेडदर पाँच प्रतिशतभन्दा बढि गर्न पाइँदैन, लगानी ८० प्रतिशतभन्दा बढि गर्न पाइँदैन । यसले स्वाभाविकरुपमा नाफामा नियन्त्रण हुन्छ । हामीहरु कुनै पनि नियामक निकायले राखेका यस्ता खालका प्रावधानहरुलाई नमिचिकन काम गर्छौं ।

तपाईंहरु घरजग्गा र गाडिहरुमा लगानी गर्न लालयित भएको पक्कै हो । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन के समस्या हुन्छ र ?
हाम्रो आर्थिक हिसाबले सुक्ष्म अवलोकन गर्नुभयो भने उत्पादनमुखी भन्दा पनि खपतमुखी भइरहेको छ । हिजो जुन कुरा हामी आफैं उत्पादन गथ्र्यौँ, त्यो पनि आज विस्तारै छोडिरहेको अवस्था छ । अरु त अरु गाउँघरका खेतीबारी पनि बाँझै रहेको अवस्था प्रशस्त देखिन्छ । कृषिप्रदान देश भएर पनि अन्य देशसँग परनिर्भर भएको अवस्था छ । कृषि एउटा उद्योग, जहाँ मटेरियल्सहरु हेरेर उत्पादनमूलक कामहरु हुनुपर्ने हो । उत्पादनमा लगानी गर्न चाहने लगानीकर्ताको पनि कमि छ । यस्तो अवस्थामा हामीले हाम्रो भरमजदुर प्रयास गरेर उद्यमशीलताको विकास गर्ने, उत्पादनमूलक काममा लागेका मानिसहरुलाई पहिचान गरेर उहाँहरुलाई सपोर्ट गर्ने कार्य गरिरहेका छौं । तथापि समग्र देशलाई नै उत्पादनशील र उत्पादनमुखी बनायो भने हामीले पनि लगानीका थप ढोकाहरु खोल्न तयार छौं ।

विकास बैंकहरु एकपछि अर्को घट्दै जाने क्रममा छन् । यो स्थितिमा तपाईंले कस्तो देख्नुहुन्छ विकास बैंकको भविश्य ?
यो आ–आफ्नो स्ट्राटेजी हो । कतिपय विकास बैंकका बोर्ड र उच्च म्यानेजमेन्टलाई लिनुभन्दा पनि कुनै कर्मसियल बैंकमा गाभ्यो भने ठिक हुन्छ भन्ने उहाँहरुले रणनीतिक डिसिजन हुनसक्छ । तर आजको दिनमा विकास बैंकहरुको छुट्टै अस्तित्व छ । हामीहरुलाई समाजमा विकास बैंकको आवश्यकता छ भन्ने कुरालाई मनन् गरेर अब्बल किसिमको विकास बैंक कसरी बनाउने ? भन्ने कुरालाई अघि सारेको हुनाले मेरो विचारमा हामीहरु रणनीतिकरुपमा अब्बल विकास बन्न सक्ने विश्वास छ ।

विकास बैंकहरुका बीच कामना सेवा विकास बैंकले कसरी प्रतिस्पर्धा गर्दैछ ?
बैंकलाई नम्बर १ भन्दा पनि मैले अब्बल बनाउने प्रयास गरिरहेको छु । अब्बल हुनका लागि वित्तीय सुचाङ्कहरु अब्बल हुँदैमा मात्र संस्था अब्बल हुन्छ जस्तो मलाई लाग्दैन । धेरै वटा प्यारामिटर्स मिलेर संस्था अब्बल हुन्छ । त्यो मध्ये वित्तीय सुचाङ्क पनि एउटा हो । त्यसैगरी कर्मचारी टीम कतिको खुशी छ ? त्यो कुरा पनि महत्वपूर्ण हो । अर्को कुरा ग्राहकहरु हाम्रो संस्थामा आइसकेपछि उहाँहरुलाई कतिको खुशी पार्न सकिन्छ ? भन्ने कुरा भयो । अनि अर्को कुरा मार्केटमा बैंकको गुडविल र इमेज कस्तो छ ? भन्ने कुरा पनि महत्वपूर्ण छ । यस्ता सबैतिर अब्बल भएमात्र बैंक अब्बल हुन्छ ।

सबै ठाउँमा बाणिज्य बैंकहरु पुग्ने, नयाँ प्रोडेक्टहरु पनि उनीहरुले ल्याउने हो भने विकास बैंक किन चाहियो र ? भन्ने कतिपयको प्रश्न पनि जायजै देखिन्छ नि त ?
कुनै पनि संस्थाले केही नयाँ प्रोडक्टहरु किन ल्याउँछ ल्याउँदैन ? भन्ने कुरा त्यही संस्थाकै हो । जस्तो कमर्सियल बैंकलाई नयाँ प्रोडक्ट ल्याउन छुट दिएको र विकास बैंकलाई छुट नदिएको अवस्था हैन । विकास बैंकहरुले पनि आफू इनोभेटिक हुनुपर्यो । ग्राहकमाझ जानुपर्यो । घुलमिल हुनुपर्यो । टेक्नोलोजिकल चेन्जेजहरु के भएको छ ? नयाँ के दिन सकिन्छ ? भन्ने एउटा क्वेस्ट हुनुपर्यो । इनोभेसन कसैको पेवा होइन, जसमा क्वेस्ट छ, त्यसले गर्न सक्छ । त्यसको लागि त्यही किसिमको सोच हुनुपर्यो ।

बाहिर मुलुकमा प्रविधिले गर्दा सबै काम घरैबाट, मोवाइलबाटै हुन थालिसक्यो । नेपालमा अझै लाइन बस्नुपर्ने, ऋण लिँदादेखि खाता खोल्दा धेरै फारमहरु भर्नुपर्ने समस्या छ । यो समस्या कहिलेसम्म समाधान होला ?
त्यसको लागि बैंक वित्तीय संस्था एउटा पक्ष हो । त्यसमा धेरै पक्षहरु हुन्छन् । सरकारले पनि त्यसमा आवश्यक पूर्वाधार, नेशनल आइडेन्टिटी कार्ड जस्ता इन्फ्राइष्ट्रक्चर तयार गर्नुपर्ने हुन्छ । त्यसैले हामीले चाहेर पनि १०० प्रतिशत सबै डिजिटलाइजेशन गर्न सकिरहेका छैनौं । तर पनि विकास बैंक चाहीँ आँफै डिजिटलाइज गर्नमा इच्छुक छौं । हाम्रो इन्टरनेट बैंकिङ लन्च हुने अवस्थामा छ । भिसा कार्डहरु नेपाल, भुटान र भारतमा चल्नेगरी लन्च गरिसकेका छौं । त्यही भएर कारोबारका लागि बैंक नै धाइरहनुपर्ने अवस्था छैन् । हामीले मोबाइल बैंकिङबाटै बिजुली बत्ति, पानीको बिल तिर्ने काम घर बसेरै गर्न सकिने व्यवस्था छ । खाता खोल्नका लागि पनि चाँडै नै मोडल डेभलप गर्दैछौं ।

prabin-basnetबैंकहरुमा लगानीयोग्य पुँजीको अभाव अझै छ कि हटिसक्यो ?
कतिपय कमर्सियल र डेभलपमेन्ट बैंकहरुमा यस्तो अवस्था भएको सुनिएको छ । तर हाम्रो बैंकमा आजको दिनमा पनि एक अर्ब भन्दा बढि लगानीयोग्य पुँजी छ । हामी सक्रियरुपमा कर्जा प्रवाह गरिरहेका छौं । ग्राहकलाई नयाँ नयाँ स्किम लिएर गएका छौं । हालै मात्र लगानीको लोनको स्किम (होम लोन, अटो लोन र एसएमई लोन) ल्याएका छौं । होम लोन र अटो लोनमा ११ दशमलव ९९ प्रतिशतसम्म र व्यापारिक कर्जामा १२ दशमलव ४९ प्रतिशतसम्मको लोन उपलब्ध गराउने सुविधा ल्याएका छौं । धेरै बैंकले लोन दिन नसकेको अवस्थामा यो भनेको एकदमै राम्रो हो ।

बैंक ब्याजदर निकै चर्को भयो भन्ने कुरा उद्योगीहरुबाट आइरहेको छ । ब्याजदर घटाउन किन नसकिने स्थिति हो र ?
ब्याजदर पनि सेल्फ ड्रिभन हो । जस्तो हरेक कपडा पसलमा जानुभो भने त्यसको मूल्यको कुनै लेखाजोखा हुँदैन होला । तर हामीले डिपोजिटमा रेट कति दिने ? भन्ने कुरा पहिले नै रेट तोकिएको हुन्छ । लोनमा चाहीँ हामीले पाँच प्रतिशतभन्दा बढि स्प्रेड हुने गरेर दिनै मिल्दैन । राष्ट्र बैंकले हामीलाई मनिटरिङ र कन्ट्रोल गरिरहेको हुन्छ । नियामक निकायले तोकेको मापदण्डभित्र बसेर मात्र व्यापार गर्न पाउने हुनाले यो रेगुलेटेड विजनेस हो । यसमा यस्तो किसिमको समस्या हुँदैन ।

अहिले सेयर बजारमा निकै गिरावट आइसक्यो । यसको वास्तविक कारण के जस्तो लाग्छ ?
मेरो बुझाइमा पुँजी बजार भनेको डिमान्ड र सप्लाइको खेल हो । यसमा लगानीकर्ताको साइकोलोजी पनि महत्वपूर्ण छ । अहिले जुन कम्पनीहरुको फाइनान्सियल पर्फमेन्स छ, त्यो भन्दा पनि बढि साइकोलाजीले इफेक्ट गरेको होकी ? सप्लाई र डिमान्डमा भएको असर, नयाँ राइट सेयरको असर लगायत नयाँ कम्पनीहरुको सेयर खुल्ने क्रमले डिमान्ड र सप्लाइको अवस्थामा इफेक्ट गरेको हुनाले यो किसिमको चेन्जेजहरु आइरहेको होकी जस्तो लागेको छ । तर नेपालको इन्डेक्स भनेको संसारको इन्डेक्समध्ये वन अफ दि लो इन्डेक्स हो जुन कुरा तल छ त्यो माथि जानु नै हो जस्तो मलाई लाग्छ । बाँकी कुरा त मार्केटले र समयले नै बताउने कुरा हो ।

बैंकिङ क्षेत्रमा कामना सेवा विकास बैंकको फरक पहिचान के हो ?
कामना सेवा विकास बैंक २०८० सम्ममा अब्बल विकास बैंक बन्ने भन्ने रणनीतिमा लागेको र मेहेनत गरिरहेको संस्था हो । हुनत यो टेक्निकल्ली कान्छो विकास बैंक हो । तर पनि हरेक हिसाबले अब्बल बन्नमा मेहेनत गरिरहेका छौं । ग्राहकलाई कसरी राम्रो सेवा सुविधा दिने ? कसरी खुशी बनाउने ? भन्ने हाम्रो सोचाई हो । जब हामीले नयाँ प्रोडक्ट बनाउँछौं, त्यसमा हामीले मध्यम नजरमा ग्राहकलाई नै राख्ने गर्दछौं । यही नै अरुभन्दा डिफ्रेन्सियट गर्ने आधार हो ।