सिंहदरबारको पश्चिम भागलाई पनि रेट्रोफिटिङ गरिने, पूरानो संसद भवन भत्काउन सुझाव

Advertisement

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ (प्रबलीकरण) गरिने बताएको छ ।

संसदको विकास तथा प्रविधि समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो अध्ययनले रेट्रोफिटिङ गरेर अझै बलियो बनाउन सकिने देखाएकाले प्राधिकरणले पश्चिम भागको रेट्रोफिटिङ गर्ने गरी प्रक्रिया अघि बढाएको बताए ।

सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा रेट्रोफिटिङ कार्य भइरहेको छ । अध्ययनले सिंहदरबारको मुख्य पर्खालहरुमा ठूलो क्षति नभएको, प्रयोग भएका ईंटाहरु बलियो रहेको, केही काठहरु भने फेर्नु पर्ने देखाएको ज्ञवालीको भनाई छ ।

पुरातात्विक सम्पदा संरक्षणको अवधारणा अनुसार सिंहदरबारको रेट्रोफिटिङ गर्न लागिएको जनाउँदै उनले प्राधिकरणले संसद्को पुरानो भवनलाई भत्काएर नयाँ बनाउन सुझाव आएको जानकारी दिए । ज्ञवालीले उक्त हललाई परराष्ट्र मन्त्रालयबाट स्टेट हलका रुपमा कार्यक्रम अघि बढाउन सुझाव आएको जानकारी दिए ।

सांसद गणेश पहाडीले संसदको पूरानो भवनलाई रेट्रोफिटिङ गर्नु भन्दा भत्काएर अन्तर्रार्ष्ट्रिय स्तरको बनाउन सुझाव दिए । सांसदहरुले गुनासो सम्बोधन, गुम्बा पुनर्निर्माण, बस्ती स्थानान्तरण, पुनर्निर्माणको बजेट, सडक पुनर्निर्माण, खानेपानी, जीवीकोपार्जन, विद्यालय पुनर्निर्माण, सम्पदा पुनर्निर्माण लगायतबारे जिज्ञासा राखेका थिए ।

Advertisement

Advertisement

Advertisement