प्राधिकरणमा सरुवाको किचलो फेरि सुरु, आधिकारिक युनियनको निर्वाचन फेरि अन्योलमा

Advertisement

कठमाडौं । सरुवाकै विषयलाई लिएर पटक पटक मिति सर्दै आएको नेपाल विद्युत प्राधिकरणको आधिकारिक युनियनको निर्वाचन अहिले फेरि सरुवाकै विषयलाई लिएर अन्योलमा परेको छ ।

प्राधिकरणमा अहिले आधिकारिक युनियनको रुपमा प्रतिनिधित्व गर्दै आएको कर्मचारी युनियनले कर्मचारी विनियमअनुसार कर्मचारीको नियमित सरुवा नगरेर मिनियम मिच्ने काम गरेको भन्दै यसको पछाडि चुनावलाई प्रभावित पार्ने योजना रहेको आरोप लगाएको छ ।

सत्तारुढ दल निकटको कर्मचारी युनियनले भने सरुवा हुनुपर्छ भन्नेमा आफूहरु पनि रहेको तर आधिकारिक युनियनले नै बोर्डमा बसेर सुरुवा गराउन नसकेको तर्क अघि सारेको छ । प्राधिकरण व्यवस्थानले भने मन्त्रालयको निर्देशनलाई कारण देखाउँदै कर्मचारी सरुवा गर्न नसकिएको तर्क प्रस्तुत गरेको छ ।

आधिकारिक युनियन पक्षधर नेतृ प्रमिला ढुँगानाले आधिकारिक युनियनको कुरा नसुनेर व्यवस्थानले राजनीति गर्ने काम गरेको गुनासो गरिन् । उनले भनिन्– आधिकारिक युनियनले विनियमअनुसार गर भनेको काम नगरेर अर्को युनियन कुरा सुन्छ भने किन चाहियो आधिकारिक युनियन ? किन गर्नुपर्यो चुनाव ?’

ढुँगानाका अनुसार गएको चैत ५ गतेसम्मको समय तोकेर आफूलाई इच्छा भएको ठाउँमा सरुवा हुन निवेदन दिन भनिएको, निवेदन नदिनेहरुलाई जुनसुकै ठाउँमा पनि सुरुवा गरिन्छ भनेर धम्क्याएर नचाहाँदा नचाहाँदै पनि फर्म भराइएको, निवेदन दिएपछि गर्नुपर्ने सरुवा नगरेर विनियम मिच्ने काम गरिएको छ ।

उनले लामो समयदेखि सरुवा रोकिँदा धेरै कर्मचारी मर्कामा परेको भन्दै अहिले चुनावी रणनीतिअनुसार एक भएका सत्तारुढ कर्मचारी संगठनको इशारामा व्यवस्थापनले काम गर्ने गरेको आरोप लगाइन् । ढुँगानाले भनिन्– क्षेत्रदेखि निर्देशनालय र केन्द्रको प्रशासनले गर्नुपर्ने सरुवा कुनै पनि गरेको छैन् । यसले गर्दा कर्मचारीहरुमा व्यापक असन्तुष्टि छ । यस्तो अवस्थामा कसरी आधिकारिक युनियनको निर्वाचन हुन्छ ?

नेकपानिकट कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले भने सरुवा गर्न आधिकारिक युनियन आफै असफल भएको भन्दै यसमा आफूहरुलाई दोषी दिनु बेकार भएको बताउँछन् । उनले भने– आधिकारिक युनियनको मान्छे आफै व्यवस्थापनमा प्रतिनिधित्व गरेको हुन्छ । प्रतिनिधित्व गर्नेले त कर्मचारीको हित र वृत्ति विकासलाई पहिला ध्यान दिनुपर्यो । व्यवस्थापनले टेर्दैन भने बाहिर आएर आन्दोलन गर्ने आँट गर्नुपर्यो ।

उनले सरुवा रोकिँदा लामो समयदेखि सरुवा नभएका र समस्यामा परेका कर्मचारीहरुलाई अप्ठ्यारो परेको स्वीकार गर्दै यतिबेला सरुवा गर्दा चुनाव झन प्रभावित होला भनेर सरुवा नगरिएको हुनसक्ने अनुमान गरे । चुनावबाट पछि नहठ्न पौडेलको कर्मचारी संघलाई सुझाव छ ।

प्राधिकरणमा आधिकारिक युनियनको निर्वाचन आउँदो वैशाख १९ गतेलाई तोकिएको छ । व्यवस्थापनले चुनाव प्रचारमा खटिनुपर्ने युनियनसम्वद्ध करिव २५ जनाको सरुवा गरे पनि बाँकीको भने मन्त्रालयको निर्देशनलाई कारण देखाउँदै सरुवा गर्न मानेको छैन् । प्राधिकरणको कर्मचारी विनियमअनुसार क्षेत्रले साउन र माघमा, निर्देशनालयका महाप्रवन्धकले भदौ र फागुनमा, केन्द्रको प्रशासनले असोज र चैतमा कर्मचारी सरुवा गर्नुपर्ने हुन्छ । तर, विभिन्न कारण देखाउँदै ती महिनाहरुमा व्यवस्थापनले कर्मचारीको सरुवा गर्न आलटाल गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement