केन्द्रको निकै आलोचना गर्दै आएका राउत अहिले भन्छन्– सम्बन्ध राम्रो भइसक्यो

Advertisement

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार र प्रदेश सरकारबीच सम्वन्ध राम्रो रहेको बताउन थालेका छन् । कुनै समय केन्द्रको निकै आलोचना गर्ने राउतले बुधबार रिपोर्टर्स क्लवको कार्यक्रममा भने सम्वन्ध राम्रो भइसकेको बताएका हुन् ।

उनले प्रदेश प्रहरी गठनदेखि कर्मचारी व्यवस्थापन र स्रोत व्यवस्थापनमा केन्द्रले सहयोग गरेको भन्दै निकै आलोचना गर्र्दै आएका थिए । राउतले हावाहुरी प्रभावित क्षेत्रमा राहत र उपचारमा गरेको प्रधानमन्त्रीबाट सहयोग भएको भन्दै उनको प्रसंशा पनि गरे ।

‘व्यवस्था परिवर्तन भएको छ, अब हामीले सोच पनि परिवर्तन गर्नुपर्छ । हिजोको एकात्मक शासनजस्तो अब व्यवहार देखाउनुहुँदैन् ।’ – उनले थपे । बारा र पर्सामा हावाहुरीका कारण निधन भएका पीडित परिवारका लागि प्रदेश सरकारले घर निर्माण गर्ने राउतले घोषणा पनि गरे ।

उनले भने, ‘प्रदेश सरकारले उहाँहरुको लागि सामूहिक पूनर्वासको लागि प्रबन्ध गर्ने सोच बनाएको छ । आन्तरिक मामिला तथा योजनामन्त्रीको संयोजकत्वमा बनेको पाँच सदस्यीय समितिले पनि त्यही कुरा सिफारिश गरेको छ । हामी सहयोग गर्न तयार छौं ।’

राउतले सिँगो पीडित परिवारलाई प्रदेश सरकारको साथ र सहयोग रहेको विश्वास दिलाए । उनले भने, ‘प्रदेश सरकार पीडितहरुको दुःखमा साथमै छ । हामी घरदैलो गरिरहेका छौं । उहाँहरुको पीडा कम गर्न लागिरहेका छौं ।’ प्रदेश सरकार पीडितहरुको दुःख कम गर्नको लागि जिम्मेवार ढंगले लागिरहेको उनले स्पष्ट पारे ।

मुख्यमन्त्री राउतले घट्ना घटेकै दिन स्थानीय नेता तथा कार्यकर्ता, गाउँपालिका प्रमुख, प्रदेश सरकार घट्नास्थल पुगेको पनि सुनाए । उनले भने, ‘विहान ७ बजे नै प्रदेश सरकारको मन्त्रिपरिषद बैठक बसेर उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको थियो । र, घाईतेहरुको सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।’ घाईतेहरुको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने उनले जनाए ।

मुख्यमन्त्री राउतले थपे, ‘आज मात्रै पनि मेरो नेश्नल मेडिकल कलेजका सञ्चालकसँग कुराकानी भएको थियो, उपचारमा ३५ लाख लागे पनि त्यो दिन प्रदेश सरकार तयार छ भनेर मैले भनेको छु, पीडितलाई दुःख हुनुहुँदैन् । यो कुरामा हामी धेरै सचेत छौं ।’ घाईतेहरुको उपचारमा कुनै कमी हुनुहुँदैन भन्ने कुरामा प्रदेश सरकार सचेत र गम्भिर रहेको उनले दोहोर्याए ।

राउतले घट्नास्थलको दृश्य दर्दनाक रहेको बताउँदै राउतले त्यहाँ पुग्ने जो कोहीको पनि आँखा रसाउने बताए । उनले भने, ‘थुप्रै सहयोगी हातहरु हामीले त्यहाँ पुगेको देखेका छौं । सबै पीडितसामू समान ढंगले राहत पुगोस भन्ने हाम्रो प्रयत्न छ । सकेसम्म राहत एकद्धार प्रणालीमा वितरण गर्नुपर्छ भनेर नै हामी लागिरहेका छौं ।’

उक्त घट्नामा संघीय सरकारले खासगरी प्रधानमन्त्री केपी शर्मा ओली, सुरक्षा निकायका प्रमुखहरु, मन्त्रीहरु, मुख्य सचिवलगायतका जिम्मेवार निकायका व्यक्तिहरुले विशेष चासो देखाएको र उद्धार र राहतमा कुनै कमी आउन नदिनेगरि काम गरेको राउतले सुनाए ।

प्रधानमन्त्री ओली र उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले घाईतेहरुको उद्धार र स्वास्थ्योपचारमा कुनै कमी नहोस भनेर आफूलाई फोन गरेको पनि मुख्यमन्त्री उनले स्मरण गराए । राउतले भने, ‘संघीय सरकार हर प्रकारको सहयोग गर्न तयार छ भनेर प्रधानमन्त्रीले भन्नुभयो । घाईतेहरुको उपचारको लागि काठमाडौं ल्याउनुपरे जहाज तयारी अवस्थामा छ भन्नुभयो ।’

उनले पीडितहरुको लागि राहत कोष स्थापना भैसकेको र कोषमा देश तथा विदेशबाट ठूलो सहयोग भैरहेको पनि जनाए । पीडित हुनेमा अधिकांश गरिब, मुस्लिम तथा दलितहरु रहेका पनि राउतले बताए । उनले भने, ‘आर्थिक रुपमा बढि विपन्न भएकाहरुनै प्रभावित भएका छन् । उहाँहरुको लागि सामूहिक घर बनाउने हाम्रो योजना छ । प्रहरी तथा सेनासँग आधिकारिक डाटा लिएर हामी सोहीअनुसार सहयोग गर्छौं ।’

राहत तथा उद्धारको नाममा रमिता हेर्नेहरुको बढि भीड लाग्ने गरेको छ नि भनेर सोधिएको प्रश्नमा मुख्यमन्त्री राउतले ठाडै अस्विकार गरे । उनले भने, ‘त्यहाँ कोही पनि रमिता हेर्न गएका छैनन् । मैले उहाँहरु सबैलाई सहयोग गर्न गएको पाएको छु । सहयोगी हातहरु नै त्यहाँ पुग्नुभएको छ । बरु, हामीले दृष्टिकोण बदल्न जरुरी छ, उहाँहरुको प्रशंसा गर्नुपर्छ । १८ गते विहान घट्नास्थल पुग्दा मैल धेरै भोलुनटियर्सहरु त्यहाँ पुगेको देखें । खाद्यान्न, औषधीलगायतका सामाग्रीहरु लिएर जानुभएको थियो ।’

Advertisement

Advertisement

Advertisement