बचत तथा ऋण भन्दा अन्य सहकारी आवश्यक

Advertisement

काठमाडौं । महानगरपालिकाले बचत तथा ऋण सहकारीभन्दा अन्य सहकारी सञ्चालनका लागि दर्ता प्रक्रिया अघि बढाउन सञ्चालकलाई आग्रह गरेको छ ।

बुधबार आयोजना गरिएको ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कामपाको सहकारी विभागले बचत सहकारीको सङ्ख्या आवश्यकताभन्दा धेरै भइसकेको भन्दै श्रमिकको हकहितका लागि सहकारी सञ्चालन गर्न आवश्यक रहेको जनाएको हो।

कामपामा सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दुग्ध, कृषि, शिक्षा, सञ्चार लगायत सहकारी छन् । कार्यक्रममा कामपा उपप्रमुख हरिप्रभा खड्गीले असल काम गर्नेको प्रशंसा र गलत गर्नेलाई कारवाहीको दायरामा ल्याउन विभाग लागि पर्न आवश्यक रहेको बताइन्।

कामपामा हाल एक हजार ८५६ सहकारी रहेको जानकारी गराउँदै विभागका प्रमुख नमराज ढकालले विद्युतीय प्रणालीमा आधारित ‘कोपोमिस’ कार्यान्वयनमा ल्याइसकेको जानकारी दिए ।

ढकालले भने “५५० सहकारीले पासवर्ड लिइसकेको छन् । यस प्रणालीबाट उनीहरुले महानगरलाई विवरण तथा प्रतिवेदन बुझाउन तथा महानगरसँग सोझै आफ्ना समस्या तथा सम्भावना पेश गर्न सक्नेछन् ।”

विसं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज गरी सम्बन्धित स्थानीय तहले सहकारीलाई नियमन गर्नुपर्ने कानूनी व्यवस्था भएअनुरुप कामपाले सहकारीको नियमन र अनुगमन शुरु गरेको हो ।

५२ अर्ब बचत तथा ४१ अर्ब बराबरको कर्जा परिचालन

काठमाडौं महानगरपालिकाको सहकारीहरूमा करीब दुई लाख सदस्य छन् भने आठ हजारले रोजगारी पाएका छन् । सबै सहकारीबाट करीब सात अर्ब शेयर, करीब ५२ अर्ब बचत परिचालन र ४१ अर्ब बराबरको ऋण प्रवाह भएको छ ।

युरोपमा औद्योगिक क्रान्ति र पूँजीवादी अर्थव्यवस्थाबाट सिर्जित बेरोजगारी र शोषणमा परेका श्रमिकको उत्थानका लागि नयाँ आर्थिक विकासको प्रारुपको रुपमा सहकारीको अवधारणा आएको हो । पहिलोपटक सन् १८३० मा ६० कपडा कारखानाका मजदुर सामेल भई रोचडेल फ्रेन्डली को–अपरेटिभ सोसाइटीको गठन भएको थियो ।

सन् १८३३ मा सहकारीका जनक रवर्ट ओवेनले बेलायतमा हजारौं मजदुर, गरीब किसान र बेरोजगार जनसमुदायको भेला आयोजना गरी सहकारीको अवधारणा प्रस्तुत गरेका थिए ।

Advertisement

Advertisement

Advertisement