अल्टिच्युड एअरले ल्यायो नयाँ हेलिकप्टर

Advertisement

काठमाडौं । अल्टिच्युड एअरले तेस्रो पटक नयाँ हेलिकोप्टर खरिद गरेको छ । कम्पनीले ९ एन एमएक्स कलसाइन भएको सिरियल नं. ८६५६ हेलिकोप्टर खरीद गरेको हो । कम्पनीले एअरबसको विश्वविख्यात हेलिकोप्टर एएस ३५० बी ३ ई (एच १२५) खरिद गरेको हो । अल्टिच्युडको नयाँ एअरक्र्याफ्ट फ्रान्समा निर्मित भइ मलेसियामा रिएसेम्बल गरिएको हो ।

अल्टिच्युडले खरिद गरेको नयाँ हेलिकोप्टर मलेसियाबाट मार्च ३० मा उडेर बुधबार काठमाडौंमा ल्यान्ड गरेको हो । फ्लाइटमा कम्पनीका अपरेसन्स निर्देशक क्याप्टेन केशव प्रसाद गौचनको नेतृत्वमा क्याप्टेन रवीन्द्र प्रजापति, इन्जिनियर अनिरुद्र श्रेष्ठसमेतको टोली मलेसियाबाट थाइल्यान्ड, म्यानमार, बंगलादेश, भारत हुँदै नेपाल आएको हो ।

कम्पनीले ल्याएको नयाँ हेलिकोप्टर २३ हजार फिटसम्म सहज उडान गर्ने क्षमता भएको जनाएको छ । कम्पनीले ३ मिलियन डलर (करिब ३० करोड रुपियाँमा) खरिद गरेको जनाएको हो ।

नेपालजस्तो उच्च पहाडी भूभागका लागि यो हेलिकोप्टर सबैभन्दा उपयोगी हुने कम्पनीले विश्वास गरेको छ ।कम्पनीका अनुसार हेलिकोप्टरमा थप जी ५०० एच इन्स्ट्रुमेन्ट भएका कारण यो सबैभन्दा नयाँ मोडलको हेलिकोप्टर भएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement