१६औं फेवा नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा, पर्यटक ठगिन नदिन कडा अनुगमन

Advertisement

काठमाडौं । पश्चिमाञ्चल होटल संघले नयाँ वर्ष २०७६ को अवसरमा आयोजना गर्न लागेको १६औं फेवा नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको  छ।

संघले नेपाली संस्कृति, खाना र संगीतको प्रबद्र्धन गर्ने उद्देश्यले यही चैत २९ देखि आगामी बैशाख एक गतेसम्म पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कमा महोत्सव गर्ने भएको हो ।

आन्तरिक पर्यटन प्रबद्र्धन गर्दै फेवा तालको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवमा करिब ६५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले  बताए।

संघले यसपटक महोत्सवमा आउने पर्यटकलाई सेवा सुविधामा कम्तिमा पनि १५ प्रतिशत छुट दिने व्यवस्था गरेको प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले बताए।  संघले यस पटकको महोत्सवमा पोखरा घुम्न आउने पर्यटकहरु ठगिन नपाउन भनेर अनुगमन टोली खटाउने बताएको छ । यदि कुनै व्यापारीले पर्यटकलाई ठग्ने नियत गर्यो भने तुरन्तै कारबाही गरिने लामिछानेले बताए।

पर्यटकीय सिजन सुरु भए पनि विदेशी पर्यटकको आगमन उत्साहाजनक नभएको संघका पूर्वअध्यक्ष भरतराज पराजुलीले बताए । महोत्सवले आन्तरिक पर्यटकलाई निकै आकर्षण गर्ने विश्वास लिइएको छ ।

सङ्घका अध्यक्ष विकल तुलाचनले पोखरालाई पर्यटकीय राजधानीका रुपमा स्थापित गर्ने विगतमा झै यो पटक पनि ‘जाउँ है पोखरा’ अभियानमार्फत धेरै सङ्ख्यामा पर्यटक आकर्षण गर्न तथा उनीहरुको बसाइँ अवधि लम्ब्याउन अभियानलाई निरन्तरता दिइएको बताए ।

महोत्सवको प्रचारका लागि संघले काठमाडौं, जनकपुर, लुम्बिनी र चित्वनमा प्रवद्र्धनात्मक कार्यक्रम गरेर फर्केको छ । यस अभियानले नेपालमा आन्तरिक पर्यटनको माहोल सिर्जना गर्न सफल भएको तुलाचनको भनाई छ  ।

Advertisement

Advertisement

Advertisement