स्थापना दिवसमा अपाङ्ग पुनर्स्थापना केन्द्रलाई फियुनको सहयोग

Advertisement

काठमाडौंं । नेपाल वित्तीय कर्मचारी संघ (फियुन)ले गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित अपाङ्ग पुनस्र्थापना केन्द्रलाई सहयोग गरेको छ । आफ्नो २९ औं स्थापना दिवसको अवसरमा फियुनले केन्द्रलाई फर्निचर र त्यहाँ रहेका बालबालिकाहरुलाई जुत्ता तथा स्टेशनरी सामानहरु वितरण गरेको हो ।

शुक्रबार केन्द्रमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाको समेत उपस्थितिमा नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पदमराज रेग्मीले केन्द्रका अध्यक्ष उदय लिम्बुुलाई सो फर्निचर, जुत्ताहरु तथा स्टेशनरीका सामानहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रम फियुनका अध्यक्ष रेग्मीले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित ४५ ओटा संस्थाको उपस्थिति भएको नेपाल वित्तीय संस्था कर्मचारी संघको गठन नै लोकतन्त्रान्तिक व्यवस्थाको एउटा सफलता भएको बताउँदै २०४७ सालमा लोकतान्त्र बहाली पछि गठन भएको संघले २९ औं स्थापना दिवस मनाउन लागेको बताए । उनले मानवीय सेवा अभियानको क्रममा केन्द्रलाई तेस्रोपटक सहयोग गरेको बताए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष लिम्बुले अपाङ्ग पुनर्स्थापना केन्द्रले ५५ जना अपाङ्ग बालबालिकाहरुको शिक्षा र पुनर्स्थापनाको काम गरिरहेको बताउँदै संस्थाले ३ वर्षदेखि निरन्तर रुपमा संस्थालाई विभिन्न किसिमका सहयोग गर्दै आएकोमा आभार प्रकट गरेका थिए ।

सोही कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सुरेश चालिसेले आफ्नो नगर क्षेत्रमा मात्रै ८ ओटा पुनर्स्थापना केन्द्र भएको बताउँदै त्यसमध्ये अपाङ्ग पुनर्स्थापनाको केन्द्रले उत्कृष्ठ काम गरेकोले नगरपालिकाको ध्यान केन्द्रमा गएको बताए । उनले नगरपालिकाले केन्द्रलाई सक्दो सहयोग गर्ने बताउँदै आफ्ना आवश्यकता र नगरपालिकाले गर्नुपर्ने सहयोग स्पष्ठ रुपमा माग गर्न आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले देशमा लोकतन्त्र रहे मात्रै यस्ता संस्थाहरुले जीवन्तता पाउने भन्दै लोकतन्त्रवादीहरु एकपटक फेरि जागरुक हुनुपर्ने दिन आएको बताए ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ २०४७ साल बैशाख १७ गते बैंक कर्मचारी काँग्रेसको नाममा स्थापना भएको संस्थाले सोही वर्षको चैत २२ गते आफ्नो नाम परिवर्तन गरी नेपाल वित्तीय संस्था कर्मचारी संघ नामाकरण गरेको थियो । सोही आधारमा शुक्रबार संघले २९ औं स्थापना दिवस मनाएको हो ।

Advertisement

Advertisement

Advertisement