ओली र प्रचण्डलाई चित्रबहादुरको प्रश्न– नेपालीलाई अल्पमतमा पार्नेगरी किन नागरिकता बाँड्छौ ?

chitra-bahadur-kc

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियता नै खतरामा पर्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा केसीले सदनमा प्रस्तुत उक्त विद्येयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औंल्याए ।

उनले भने, ‘नागरिकता विद्येयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अंगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ । यो अत्यन्तै गम्भीर र गलत कुरा हो । तत्काल खारेज गर्नुपर्छ ।’

united

संसदबाट विद्येयक पारित हुन बाँकी रहेको अवस्थामा सरकारले यसरी ‘सर्कुलर’ जारी गर्नु अत्यन्तै गम्भिर रहेको बताउँदै केसीले यसमा आफ्नो पार्टीको आपत्ति रहेको सुनाए । उनले उक्त विद्येयकले नेपालमा जन्मिएका बास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट बञ्चित गराईने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिएको आरोप लगाए ।

नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले हालै तराईमा पुगेर नागरिकता विद्येयकबारे गलत टिप्पणी गरेको भन्दै केसीले आपत्ति जनाए । उनले भने, ‘यस्तो खालको विद्येयक पारित भयो भने हामी मूल नेपालीहरु अल्पमतमा पर्छौं, र विदेशबाट आएका आगन्तुकहरु बहुमतमा पर्ने निश्चित् छ ।’

नेपालमा कांग्रेस, एमाले, माओवादी र राप्रपा जसको नेतृत्वमा सरकार बने पनि सबैले विदेशीहरुलाई नागरिकता दिने बाटो खोलिदिएको पनि केसीले गुनासो गरे । संसदमा प्रस्तुत भएअनुसार विद्येयक पारित भए विदेशीहरु वा आगन्तुकहरु नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सेना प्रमुख, प्रधानन्यायाधीशलगायत महत्वपूर्ण पदमा पुग्ने बाटो खुल्ने पनि उनले टिप्पणी गरे । केसीले भने, ‘त्यसैले यो विद्येयक कुनै पनि हालतमा पारित गर्नुहुँदैन् । खारेज गर्नुपर्छ ।’

आफ्नो पार्टीले उक्त विद्येयकविरुद्ध देशव्यापी रुपमा प्रदर्शन गर्ने पनि अध्यक्ष केसीले जानकारी दिए । उनले भने, ‘विद्येयकको विरोधमा हामीले हस्ताक्षर अभियानको सुरु गरिसकेका छौं ।’ अहिले पनि नेपालको संघीय संसदमा दर्जनौं अंगीकृत नागरिकको प्रतिनिधित्व रहेको केसीको भनाई छ ।

उनले उक्त विद्येयकको विरुद्धमा आफ्नो पार्टीलगायतले चैत्र २४ गते काठमाडौंमा बृहत्त जुलुश निकाल्ने तयारी गरिसकेको पनि जानकारी दिए । केसीले थपे, ‘देश डुब्ने स्थिति छ, त्यसैले हामी सबै सचेत नागरिक, बुद्धिजीवीहरु एक भएर विद्येयकको विरोध गर्नुपर्छ । सरकारलाई दबाब दिनुपर्छ ।’ उनले गैरआवासीय नेपालीहरुलाई पनि दोहोरो नागरिकता दिन नहुने स्पष्ट पारे ।

केसीले मुख्य दलहरुको असफलता र अकर्मन्यताका कारण राजा फर्किने खतरा रहेको पनि टिप्पणी गरे । उनले भने, ‘देशमा राजा फर्काउने खेल भैरहेको छ । सयौं राजा पाल्नुभन्दा एउटै राजा भए हुन्थ्यो भन्ने जनतामा परिसकेको छ ।’

कांग्रेस महामन्त्री शशांक कोइरालाले हिन्दुराष्ट्रको कुरा उठाउनु र महासमिति बैठकमा हिन्दुराष्ट्रको माग गर्नुले राजा आउने खतरा आफूले देखेको उनले स्पष्ट पारे । केसीले थपे, ‘हिन्दूराज्य भनेपछि यसको राज गर्ने त राजाले नै हो ।’

मुलुकको लागि संघीयता घाँडो भएको पनि उनको टिप्पणी छ । केसीले भने, ‘संघीयता खारेज गरिएन भने यसले मुलुकलाई खारेजी गर्छ ।’ नेपालका ठूला दलहरुले संघीयता आफै नबोकेको बरु विदेशीहरुले बोकाएको भारी बोकिरहेको उनको भनाई छ ।