लोडसेडिङले बाँकेका उद्योग, व्यापार र सार्वजनिक सेवा प्रभावित

Advertisement

राँझा । विद्युत् अनियमित हुँदा बाँकेमा उद्योग, व्यापार तथा सार्वजनिक सेवा प्रवाह प्रभावित भएको छ । बाँकेमा करीब एक महीनादेखि विद्युत् प्रवाह अनियमित भएको छ । विद्युत् प्रवाह अनियमित हुँदा बैंक तथा वित्तीय संस्था, छापाखाना, विद्युतीय सञ्चार माध्यम, फर्निचर, मासु, ग्रिल उद्योगसँगै विद्युतीय उपकरणद्वारा सञ्चालित उद्योग व्यवसाय प्रभावित बनेका घरेलु तथा साना उद्योग महासङ्घका सचिव मधु खड्काले बताए ।

उनका अनुसार, विद्युत् आउनेजाने क्रमको निश्चित नहुँदा मेसिनरीकार्य सञ्चालन प्रभावित भएको छ । विद्युत् प्रवाह अनियमित हुँदा यहाँका घरेलु तथा साना उद्योगको उत्पादन प्रभावित भएको छ । खड्काले विद्युत् प्रवाह नियमितता र लोड वृद्धिका लागि पटक÷पटक विद्युत् कार्यालयमा पुगेर अनुरोध गरेको बताए ।

उनले भने, “मेसिन चलिरहेको बेला बत्ती जाँदा समस्या हुने गरेको छ, कतिपय मेसिन त बिग्रिने समेत गरेका छन्ब, त्ती आउनेजाने निश्चित नहुँदा लक्ष्य अनुसारको उत्पादनमा समेत कमी आउने गरेको छ ।” नेपालगञ्जमा विद्युत् अनियमित हुँदा उद्योग व्यवसायमा क्षति पुगिरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए ।

गर्मीयामको शुरुवातसँगै विद्युत् प्रवाह अनियमित हुँदा सर्वसाधारणको दैनिक जनजीवन समेत प्रभावित हुन पुगेको उनको भनाइ छ । विद्युत्को नियमित प्रवाहका लागि पटक÷पटक पहल गरिए पनि नियमित हुननसकेको श्रेष्ठले गुनासो गरे । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका प्रमुख रामदुलारे यादवले यही चैत २५ गतेसम्म विद्युत् प्रवाह अनियमित हुने जानकारी दिए । कोहलपुर क्षेत्रमा ठूलो क्षमताको ट्रान्सर्फमर जडानकार्य भइरहेकाले विद्युत् प्रवाह अनियमित भएको यादवले बताए ।

कोहलपुर सब स्टेशनमा यसअघि ३०/३० एमपिएका दुई ट्रान्सर्फमर रहेकामा त्यसमध्येको एउटा ३० एमपिएलाई बदलेर ६३ एमपिएको नयाँ ट्रान्सर्फमर जडान गर्न लागिएको उनले बताए । नयाँ ट्रान्सर्फमर राखेपछि जिल्लाको विद्युत् प्रसारण क्षमता ९३ एमपिएमा वृद्धि हुने र कोहलपुर सव स्टेसनबाट प्रसारण हुने कोहलपुर, नेपालगञ्ज, गुलरिया, सुर्खेतलगायतका क्षेत्रमा विद्युत् प्रवाहमा सहजता आउने प्राधिकरणका प्रमुख यादवले बताए ।

खजुरामा छुट्टै सवस्टेशन जडानको तयारी
नेपाल विद्युत् प्राधिकरणले बाँकेको खजुरा गाउँपालिकामा छुट्टै सवस्टेशन जडान गर्ने भएको छ । सर्वसाधारण र उद्योग, व्यवसायको समेत चाप बढेपछि खजुरा क्षेत्रलाई लक्षित गर्दै ३३ केभीए क्षमताको सवस्टेशन जडान गर्ने तयारी भइरहेको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण शाखाका प्रमुख यादवले जानकारी दिए ।

अहिले खजुरामा परसपुर र नेपालगञ्ज सव स्टेशनबाट बिजुली खपत भइरहेको छ । लामो दुरीबाट लगिएको बिजुलीमा विभिन्न समस्या आउने गरेकाले नयाँ सवस्टेशन जडानपछि समस्या अन्त्य हुने प्रमुद यादवले जानकारी दिए । उनका अनुसार सवस्टेशनका लागि खजुरा क्यान्सर अस्पताल नजिकै जग्गाको खोजी समेत भइसकेको छ । जग्गासँगै सवस्टेशन निर्माणका लागि आवश्यकपर्ने बजेट समेत तय भइसकेको उनले जानकारी दिए । रु ३० करोडको लगानीमा सवस्टेशन बनाउने काम शुरु गरिने प्रमुख यादवले बताए । रासस

Advertisement

Advertisement

Advertisement