राष्ट्र बैंकले मंगलबार ७ अर्ब ८९ करोडको ट्रेजरी बिल जारी गर्दै

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब ८९ करोड ८६ लाख रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने ट्रेजरी बिलका लागि भोली (सोमबार) मध्याह्न ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि १ अर्ब रुपियाँको बिल जारी गर्न लागेको छ ।

यो ट्रेजरी २०७६ साल असार २४ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि १ अर्ब ८९ करोड ८६ लाख रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो २०७६ असोज २१ गते परिपक्क हुने छ । साथै, १ वर्ष अवधिका लागि जारी हुने ६ अर्ब रुपियाँको ट्रेजरी २०७६ चैत २५ गते परिपक्क हुनेछ ।

यस अघि चैत १८ गते केन्द्रीय बैंकले ११ अर्ब ६८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । राष्ट्र बैंकका अनुसार त्यसबेला २८ दिनका लागि ३ अर्ब २५ करोड रुपियाँको, ९१ दिनको १ अर्ब रुपियाँको, १ सय ८२ दिनका लागि ३ अर्ब रुपैयाँको र एक वर्षको लागि ४ अर्ब ३६ करोड रुपैयाँको ट्रेजरी जारी भएको थियो ।

ट्रेजरी बिल के हो ?

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

Advertisement

Advertisement

Advertisement