संगम र सुगम बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण

Advertisement

कास्की । बचत तथा ऋणको कारोबार गर्ने सहकारीको सङ्ख्या वृद्धि भइरहेको अवस्थामा यहाँका दुई सहकारीबीच एकीकरण भएको छ । विसं २०६१ वैशाखदेखि कारोबार शुरु गरेको सङ्गम कारोबार  बचत तथा ऋण सहकारी संस्था लिमिटेड र २०६५ असोजमा दर्ता भएको सुगम बचत तथा ऋण सहकारी संस्था आज एकापसमा गाभिएका हुन् ।

एकीकरण घोषणासभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले सहकारीको समृद्धि सहकार्यबाट मात्र सम्भव हुने भएकाले संस्थाका सम्पूर्ण सदस्यले मिलेर काम गर्नुपर्ने बताए  । उनले अध्यक्ष एक जनाले चलाएर मात्र संस्था बलियो नहुने भएकाले सबैले अपनत्व लिएर सँगसँगै अघि बढ्नुपर्ने धारणा ब्यक्त गरे  । एकीकरणपश्चात संस्थाको नाम सङ्गम बचत तथा ऋण सहकारी संस्था लिमिटेड राखिएको छ भने संस्थाको कूल सदस्य तीन हजार ४०० पुगेका छन् ।

एकीकृत संस्थाको संयुक्त कारोवार भने आउँदो वैशाख ३ गतेदेखि शुरु गरिने संस्थाका अध्यक्ष नीरज थापाले बताए  । एकीकरणपश्चात संस्थाको कूल बचत रु २९ करोड, ऋण लगानी रु ३१ करोड र शेयर पूँजी रु नौ करोड पुगेको छ । सहकारी संस्था सङ्ख्यात्मकभन्दा गुणात्मक रूपमा अघि बढेर सदस्यको हितका लागि कार्य गर्नुपर्दछ भनेर एकीकरण गरिएको थापाले बताए  । जिल्लाका ६२९ सहकारी संस्थामा शेयर पूँजी रु ६ अर्ब ७५ करोड, निक्षेप रु २३ अर्ब ५० करोड तथा रु २६ अर्ब ५० करोडको ऋण लगानी रहेको छ ।

सहकारीमा यहाँ दुई लाख ७५ हजार शेयर सदस्य छन् भने दुई हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । तीन सय ६३ बचत तथा ऋण सहकारी छन् । जिल्लामा सञ्चालित सहकारीमध्ये प्रदेशअन्तर्गत २११, नगरपालिकाअन्तर्गत ३१७ तथा गाउँपालिकाअन्तर्गत १०१ सहकारी छन् ।

Advertisement

Advertisement

Advertisement