कर्णाली राजमार्गमा यात्रुहरु अलपत्र, खानेपानी र खाजासमेत पाउन मुस्किल

Advertisement

सुर्खेत । शनिबार बेलुकाको भारी असिना वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएको छ । दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले दुई दिनदेखि यात्रु आवतजावतमा समस्या आएको हो । दैलेखबाट गएको जेसिबीले शनिबार दहीखोलाको पहिरो हटाउन सकेन । पहिरो हटाउन नसक्दा काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रुहरु दुई दिनदेखि अलपत्र परेका छन् ।

दहीखोलामा ठूलो पहिरो गएको र दैलेखबाट आएको सानो जेसिबीले अवरुद्ध बाटो खुलाउन नसक्दा यात्रुलाई असहज भएको जिल्ला प्रशासन कालिकोटले जानकारी दिएको छ । पानी बेलाबेलामा आइरहने र पहिरो पनि खसिरहने भएकाले बाटो खुलाउन समस्या भएको प्रजिअ चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

“बाटो खुलाउन हामी निरन्तर लागिरहेका छौँ”, प्रजिअ कार्कीले भने, “यद्यपि जनशक्ति र साधनको अभाव छैन ।” सो स्थानमा स्काभेटर सञ्चालन गाह्रो भएको जनाइएको छ । उक्त पहिरोमा हिँडेर भए पनि जोखिमपूर्ण तरिकाले यात्रा पार गरिएको यात्रु हरिलाल शाहीले बताए ।

पहिरो गएको ठाउँमा कुनै पनि घर पसल नहुँदा यात्रुलाई खानेपानी र खाजा नास्ता पाउन गाह्रो भएको उनको गुनासो थियो । गाडी चालकले यात्रुलाई पनि ठग्ने गरेको कुरा पनि त्यत्तिकै बाहिर आएको छ । सडक अवरुद्ध भएको ठाउँमा पसल नभएकाले चाउचाउ बिस्कुट किन्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता रहेको यात्रु दलबहादुर थापाले दुखेसो गरे ।

सडक डिभिजन कार्यालय जुम्लाले दहीखोला, किट्टुभीर, पादुका खोलाको पहिरो पन्छाएर गगनेखोला पहिरो पन्छाउन डोजरको प्रयोग भइरहेको जनाएको छ । डिभिजन कार्यालय जुम्लाका इञ्जिनीयर श्रवणकुमार महताराका अनुसार गगनेखोलाको पहिरोले वर्षेनी दुःख दिने गरेको छ । अवरुद्ध राजमार्ग खुलाउन आइतबार बिहानदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक डिभिजन कार्यालय जुम्ला लागिरहेको जिल्ला प्रशासन कालीकोटले जनाएको छ । रासस

Advertisement

Advertisement

Advertisement