हिमाल आरोहीबाट संकलन भयो २५ करोड रोयल्टी

Advertisement

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिने आरोही समूहको संख्या ४६ पुगेको छ । ४६ समूहबाट यस बर्ष १ सय ९३ जनाले विभिन्न हिमाल आरोहण गर्नेछन् ।

४६ आरोही समूहका आरोहीबाट शनिबारसम्म २५ करोड ५६ लाख २८ हजार ८३७ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ । यी मध्ये सर्वोच्च शिखर सगरमाथाबाट मात्रै २३ करोड ९२ लाख ५ सय ७५ रोयल्टी उठेको छ । सगरमाथा आरोहणका लागि १९ आरोही समूह त्यसतर्फ गएका छन् । सगरमाथासहितका हिमाल आरोहणका लागि आरोही धमाधम गन्तव्यतर्फ लागेका विभागले जनाएको छ ।

कञ्चनजङ्गा र ल्होत्सेका लागि समान चार र अन्नपूर्ण तथा अमादब्लममा समान दुई आरोही समूहले आरोहण अनुमति लिएका छन् । मकालु, नुपुचे र ग्याल्जेनपिकका लागि दुई–दुई समूहले अनुमति पाएका छन् ।

विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाका अनुसार आरोही आउने क्रम जारी रहेकाले यो वर्ष आरोहीको उत्साहजनक सहभागिता रहने अनुमान छ ।

सन् २०१८ को वसन्त ऋतुमा ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको थियो । सोमध्ये सबैभन्दा धेरै सगरमाथाबाट मात्रै ३५ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी उठेको थियो ।

सन् २०१८ को यही मौसम ९वसन्त ऋतु०मा सगरमाथासहितका हिमाल आरोहणका लागि १ सय ७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए ।

सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १०८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४ सय १५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य हिमाल १३ सयभन्दा बढी रहेको बताइन्छ ।

Advertisement

Advertisement

Advertisement