अब सार्वजनिक यातायात बिहान ५ देखि राति १० बजेसम्म चलाउनुपर्ने, टिकट पनि अनिवार्य

Advertisement

काठमाडौं । काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विधेयक काठमाडौं महानगरपालिका नगरसभाबाट पारित भएको छ ।

आइतबार बसेको नगरसभाको चौथो अधिवेशनले सवारी तथा यातायात व्यवस्थापन विधेयक पारित गरेको हो । पारित विधेयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।

विधेयकअनुसार महानगरभित्रका रुटमा कात्तिकदेखि माघमसान्तसम्म बिहान ५ देखि राति ९ बजेसम्म सार्वजनिक यातायातले सेवा सञ्चालन गर्नुपर्नेछ । र बाँकी महिना बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्नेछ । विधेयकमा सहरी बस, बिजुलीलगायत वातावरणमैत्री बस, केबुलकार, मोनोरेल, मेट्रो रेलजस्ता ठूला यातायात सञ्चालन गर्ने संस्था तथा कम्पनीलाई विशेष सहुलियत दिनेसमेत उल्लेख छ ।

टिकट अनिवार्य
यात्रुका लागि टिकट अनिवार्य गरिएको छ । सावरी सञ्चालकले कागजी टिकटलाई विद्युतीय टिकटले विस्थापन गर्नुपर्ने र परिचयपत्रधारी (ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति)लाई अनिवार्य रूपमा सहुलियत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । पिक एन्ड ड्रप प्रणालीअनुरूप सबै सवारीले तोकिएको स्थानमा मात्र यात्रु चढाउने र ओराल्नुपर्ने व्यवस्था गरिएको छ । गाडीमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण, फोहोर फाल्ने भाँडो अनिवार्य राख्नुपर्नेछ । महानगरसँग स्वीकृति नलिई कुनै पनि सवारीमा प्रचार सामग्री राख्न पाइँदैन ।

यात्रुले तोकिएको स्थानमा मात्र फोहोर फाल्ने, अरूलाई असर हुने क्रियाकलाप नगर्ने, यात्राका क्रममा मदिरा तथा सूर्तिजन्य वस्तुको सेवन नगर्ने, अश्लील नबोल्ने, यौनजन्य हिंसा नगर्ने, लागुऔषधको ओसारपसार नगर्ने आचरण पनि तोकिएको छ । आचरणविपरीतका काम गरे एक सय देखि ५ हजार रुपैंयाँसम्म जरिवाना गर्ने व्यवस्थासमेत गरिएको छ ।

अनुगमन समिति बनाइने
ऐन कार्यान्वयनका लागि नगर कार्यपालिकाको एक सदस्यको नेतृत्वमा ट्राफिक प्रहरीका प्रतिनिधि, नगर प्रहरी महाशाखाका प्रतिनिधि, सार्वजनिक यातायात सेवा प्रदायक संस्थामध्येका एक प्रतिनिधि, उपभोक्तावादी संघसंस्थाका एक प्रतिनिधि रहेको अनुगमन समिति बनाइनेछ । समितिको सदस्यसचिवको जिम्मेवारी सहरी सुव्यवस्थापन विभागका प्रमुखलाई दिइने व्यवस्था छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement