अर्थ समितिले प्रदेशहरुमा पूर्वबजेट छलफल गर्ने, दुई वटा समिति बनाइयो

Advertisement

काठमाडौं । संसदको अर्थसमितिले आउँदो आर्थिक बर्षको लागि पूर्बबजेट छलफल गर्न अर्थमन्त्री भइसकेका समितिका सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की र सुरेन्द्र पाण्डेको संयोजकत्वमा दुई वटा समितिहरु बनाएको छ ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सदनमा पेश हुनुपूर्व नै अर्थसमितिले बजेट तर्जुमा, कार्यान्वयन, अनुगमनमा देखिएका समस्याका सम्वन्धमा नीतिगत सुधारमा असर पर्नेगरी काम गर्न निर्देशन एवं सुझावहरु सरकारलाई दिनुपर्ने देखिएकाले पूर्बबजेट छलफल सञ्चालन गर्न लागिएको जनाएको छ ।

जसअनुसार वैशाख पहिलो सातादेखि प्रदेश नं. १ को झापा र विराटनगर, प्रदेश नं. २ को जनकपुर र वीरगञ्ज तथा प्रदेश नं. ३ को हेटौंडामा पूर्वबजेट छलफल सञ्चालन गर्ने त्यसबाट आएको सुझावहरुलाई ज्ञानेन्द्रबहादुर कार्की नेतृत्वको १२ सदस्यीय उपसमितिले प्रतिवेदन तयार गरी बुझाउने छ ।

त्यस्तै, सुरेन्द्र पाण्डे नेतृत्वको १२ सदस्यीय उपसमितिले गण्डकी प्रदेशको पोखरा, प्रदेश नं. ५ को बुटवल र नेपालगञ्ज, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा पूर्बबजेट छलफल गरी आएको सुझावसहितको प्रतिवेदन बुझाउने छ ।

दुवै उपसमितिले पूर्वबजेट छलफल कार्यक्रम सञ्चालन स्थलनजिक रहेका राष्ट्रिय गौरवका आयोजना, भन्सार तथा राजश्व कार्यालयको स्थलगत अनुगमन र छलफलसमेत गर्ने अर्थसमितिले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement