धरानमा बस दुर्घटनाः नाबालिका सहित ४ को मृत्यु, २० भन्दा बढि घाईते (अपडेट)

Advertisement

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित जिरो पोइन्टमा बस दुर्घटना हुँदा सात महिनाकी नाबालिका सहित चारजनाको मृत्यु भएको छ । धरानका डिएसपी सुमन तिमिल्सिनाका अनुसार भोजपुरबाट धरानका लागि छुटेको उक्त बस दुर्घटनामा परेको हो।

बसमा क्षमता भन्दा बढी यात्रु रहेको र बसको ब्रेक फेल भएका कारण बस बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन कुमार तिम्सिनाले बताएका छन् ।

दुर्घटनामा परी बसमा सवार ३८ जना यात्रु घाइते छन् । सोमबार धनकुटाको चौबिसे गाउँपालिकास्थित ६ नम्बर बुधवारेबाट धरानतर्फ आउँदै गरेको ना ७ ख २७१३ नम्बरको यात्रुबस धरानको जिरो पोइन्टमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी पहिचान नखेलेकी सात महिनाकी बालिका, अर्की एक महिला, बसका चालक धरान १५ निवासी चक्रबहादुर गुरुङ, धनकुटा चौबिसेका ५६ वर्षीय दलबहादुर मगरको मुत्यु भएको छ ।

डिएसपी तिम्सिनाका अनुसार चालक गुरुङ र नावालीकाको घटनास्थलमै मृत्यु भएको अन्यको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते हुने ३८ जनामा अधिकांश धनकुटाकै रहेका छन् भने सुनसरी र मोरङका स्थानीय समेत रहेका छन् । दुर्घटनामा परी घाइते भएका कुशल लिम्बू, प्रेमकुमार मगर र चन्द्र बहादुर मगरले बसमा क्षमता भन्दा बढी यात्रु रहेको र धरानको सारंगादेखि बसको ब्रेक फेल भएर बिजुलीको पोलमा ठोक्किएर बस दुर्घटनामा परेको बताएका छन् ।

सबै घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेमध्य चार जनाको अवस्था गम्भीर रहेको बीपी प्रतिष्ठानका सहायक निर्देशक विकास साहले जानकारी दिएका छन् । घाइतेको उपचारमा कमी हुन नदिन लागि प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियार र निर्देशक गौरीशंकर साह लगायत चिकित्सकहरु परिचालन भएका छन् । संघीय प्रहरी इकाई धरानका प्रमुख एसएसपी शरदकुमार खत्रीले दुर्घटानका बारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।

Advertisement

Advertisement

Advertisement