नेपालमा आएर निर्धक्क लगानी गर्नुहोस, सबै सहयोग गर्न तयार छौं: अर्थमन्त्री

Advertisement

काठमाडौं । नेपाली र फ्रेन्च उद्यमी व्यवसायीहरू बीच नेपालमा संयुक्त सहकार्यका सम्भाव्यता खोजी गर्ने सम्बन्धमा आज (मंगलवार) महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भएको छ ।

नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीहरूसँग भएको व्यवसायिक भेटवार्तामा नेपाली उद्यमी व्यवसायीहरूले सहकार्यका सम्भाव्य क्षेत्रहरू प्रस्तुत गरेका थिए । त्यस अवसरमा फ्रान्सेली कम्पनीहरूका तर्फबाट जल तथा नविकरणीय उर्जा, सूचना तथा संचार प्रविधि, दीगो र स्मार्ट शहरीकरण, कृषि तथा खाद्य प्रशोधन, शहरी यातायात, फोहर व्यवस्थापन लगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता प्रस्तुत गरिएको थियो ।

नेपाली लगानी सम्मेलनको लगत्तै नेपालस्थित फ्रान्सेली राजदूतावास र राजदूतको विशेष पहलमा महासंघद्वारा आयोजना गरिएको यो कार्यक्रमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । व्यवसायिक भेटवार्तामा छिमेकी भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ वटा प्रतिष्ठित फ्रान्सेली कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि माननीय अर्थमन्त्री डा. यूवराज खतिवडाले नेपाल बाह्य लगानी आकर्षण गर्नमा सवै हिसावले तयारी अवस्थामा रहेको र नेपालमा लगानीको पूर्ण वातावरण भएकाले निर्धक्क भएर लगानी गर्न फ्रान्सेली कम्पनीहरूलाई आग्रह गरे ।

नेपाल र फ्रान्स बीचको दौत्य सम्बन्ध जतिकै मजवूद आर्थिक सम्बन्ध पनि हुनुपर्नेमा उले जोड दिए । उनले भने,‘नेपालमा लगानी बढाउने इच्छा देखाएर तपाईहरू यहा“ आउनु भएकोमा सरकारको तर्फबाट फ्रेन्च प्रतिनिधिमण्डललाई स्वागत गर्छु।’ फ्रेन्च लगानीकर्ताहरूले खोजे अनुसारको लगानीको वातावरण दिन सरकार तयार भएको कुरा पनि उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले महासंघले यस प्रकारको महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए ।

महासंघका अध्यक्ष भवानी राणाले नेपाल लगानीको लागि “ भर्जिन ल्याण्ड” भएको बताइन । नेपालमा लगानी गर्न सवै क्षेत्रमा उत्तिकै सम्भावना छन्, नीतिगत तथा कानूनी सुधार भएका छन् । अध्यक्ष राणाले भनिन्े–‘यो समय लगानीका लागि सबैभन्दा उपयुक्त समय हो । महासंघ यसका लागि आफ्नो तर्फबाट फ्रान्सेली लगानीकर्ताहरूलाई आवश्यक सबै सहयोग गर्न प्रतिवद्ध छ ।’

नेपालका लागि फ्रान्सका राजदूत फ्रान्सा“ जाभियर लेजले दुई देश बीचको व्यवसायिक सहकार्यमा यो कार्यक्रमलाई परिणामदायी बनाउन आफूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवं मिनिष्टर अफ काउन्सिलर जो मार्क फनेले नेपालमा लगानी विस्तार गर्न फ्रान्सेली लगानीकर्ता इच्छुक रहेकाले यो कार्यक्रमले केही परिणाम दिनेमा आफू विश्वस्त रहेको बताए ।

Advertisement

Advertisement

Advertisement