‘नक्कली बिल बनाएर दोब्बर विद्युत महशुल अशुल्न खोजे उद्योग चलाउन हामी सक्दैनौ’

Advertisement

काठमाडौं । उद्योगपति पशुपति मुरारकाले उद्योगधन्दालाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने बेला नेपाल विद्युत प्राधिकरणले नियममै नभएको दोब्बर महशुल तिर भन्दै बिल पठाएर उद्योगहरु बन्द गराउन खोजेको गुनासो गरेका छन् ।

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले भने, ‘जबरजस्ती विद्युत महशुल लिन खोज्या भए लियोस, हामी उद्योगै सरकारलाई नामसारी गर्न तयार छौं ।’ मुरारकाले बिल नै नदिइकन प्राधिकरणले अबौं रुपियाँ विद्युत नतिरेको भन्दै गलत हल्ला फैलाएको गुनासो गरे ।

उनले भने, ‘सिम्पल कुरा हो, नियमअनुसार लागेको बिल भए उद्योगलाई पठाउने हो, ग्राहकलाई बिल नपठाएर मिडियामा फलानो उद्योगले यति विद्युत महशुल तिरेन भन्ने कुरा कहाँबाट आयो ? त्यसै त मिडियामा आएन होला ।’

नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षसमेत भइसकेका मुरारका सम्वद्ध अर्घाखाँची सिमेन्टलगायतका उद्योगहरु दोब्बर महशुल गैरकानुनी रहेको भन्दै प्राधिकरणविरुद्ध अदालत गएका छन् । मुरारकाले यदि उद्योगहरुले तिर्न अटेरी गरेको भए यस्ता कुराहरु मिडियामा ल्याउन सुहाउँथ्यो भन्दै लाग्नै नपर्ने महशुलका लागि नक्कली बिल तयार गरेर पैसा अशुल्न खोज्नु र बाहिर प्रचार गर्नु गलत भएको बताए ।

उनले भने, ‘नियमअनुसार लाग्ने विद्युत महशुल भए गएको तीन बर्षसम्म बिल नपठाएर प्राधिकरण किन मौन बस्यौ ? अहिले आएर बक्यौता भन्दै कसरी स्वीकार गर्ने ?’ मुरारकाले थपे, ‘अर्को कुरा यदि प्राधिकरणले डेडिकेटेडसरह २० घण्टाभन्दा बढि विजुली दिएको भए म तिर्न तयार छु । त्यो पनि छैन् । छेन भने कसरी उसलाई दोब्बर महशुल माग्ने अधिकार छ ?’

उनले अहिले पनि नर्मल लोडसेडिङभन्दा बढि लोडसेडिङ छ उद्योगहरुमा रहेको बताउँदै पछिल्लो दिनमा मात्रै अलीअली लोडसेडिङ कम भएको बताए । मुरारकाले भने, ‘तर पनि लोडसेडिङ अझै छ । पैसा लिनलाई त सामान डेलिभरी गर्नुपर्ने उनको भनाई छ ।

उद्योगपति मुरारकाले आफूहरुलाई डेडिकेटेड नभएर ट्रंक लाइनबाट बिजुली दिएको स्पष्ट पार्दै ट्रंक लाइनको विद्युत महशुल दर विद्युत महशुल निर्धारण आयोगले अहिलेसम्म पास नगरेको र प्राधिकरणको विनियमावलीमा ‘ट्रंक लाइनबाट डेडिकेटेडसरह सुविधा लिन चाहेमा निवेदन दिनुपर्नेछ, निवेदन दिएपछि सञ्चालक समितिले पास गर्नुपर्ने, पासभएअनुसार २० घण्टाभन्दा बढि बिजुली दिएर मात्रै अनुसुची १ (क)अनुसारको दोब्बर महशुल लाग्ने’ भन्ने रहेको बताए ।

उनले भने, ‘न मैले त्यस्तो सुविधाको लागि निवेदन दिएको छु, न प्राधिकरणको सञ्चालक समितिबाट पास भएको छ, निवेदन नदिएपछि पास भएन होला पक्कै, न मैले बत्ति पाएको छु ।’ सबै उद्योगमा टीओडी मिटर भएकोले कुन दिन कति बत्ति विजुली बालेको छ ? भन्ने कुरा हेर्न मुरारकाले प्राधिकरणलाई आग्रह पनि गरे । उनले थपे, ‘बत्ति आएको छ भने पैसा लियोस, छैन भने यो बाहिर यो नचाहिँदो हल्ला गर्ने काम नगरियोस् । त्यही हो मेरो कुरा ।’

जबरजस्ती गैरकानुनीरुपमा दोब्बर महशुल अशुल्न खोजेपछि आफू प्राधिकरणविरुद्ध अदालत जानुपरेको उनले बताए । मुरारकाले भने– मैले नियमअनुसार विद्युत महशुल तिरिरँदा दोब्बर महशुल तिर भन्दै नयाँ बिल आएपछि म न्याय खोज्न अदालत नगए कहाँ जाने ? भोलि एक महिना पैसा तिरेन भने लाइन काटिदिन्छ ।

दोब्बर महशुल तिर भन्दै चैत महिनाको बिल आएपछि आफूहरुले मुद्दा दायर गरेको उनले बताए । प्राधिकरणकै नियमअनुसार सामान डेलिभरी नगरी भुक्तानी माग्न पाइँदैन भन्दै मुरारकाले बिजुली नै नदिई प्राधिकरणले बक्यौता भनेर के को आधारमा पैसा अशुल्न खोजेको हो ? आफूलाई अच्चम लागेको बताए ।

उनले भने, ‘यदि हामीले डेडिकेटेड सुविधा माग गरेर उनीहरुले दिन्छु भनेर निर्णय गरेर सो अनुसार बिजुली दिएको भए हामीले दोब्बर नै भए पनि महशुल तिर्नुपर्छ, तर त्यो तिनवटै स्थिति होइन् ।’ मुरारकाले सरकार र प्राधिकरणकै मान्छेहरुले अब लोडसेडिङ हट्यो, उद्योगहरुलाई पनि अब नियमित विद्युत आपूर्ति गर्यौं भनेर बोलेको तर अहिलेसम्म त्यसको अनुभूति उद्योगहरुले पाउन नसकेको भन्दै सार्वजनिकरुपमा बोलेअनुसार व्यवहार गर्न नसके पनि उद्योगी व्यवसायीलाई हतोत्साही पार्ने काम नगर्न आग्रह गरे ।

सरकारी निकायहरुबीच समन्वयको अभाव र कानुनी अस्पष्टा कायम राखेर उद्योगीहरुलाई दुःख दिने कुराले भोलि विदेशी लगानीकर्ता कसरी आउँछन् ? कसरी टिक्छन् ? भन्दै मुरारकाले पत्रिकाको भित्री पेजमा विज्ञापन छापेर फ्रन्ट पेजको पैसा लिन पाइँदैन् भने । उनले भने, ‘त्यसै पनि उद्योगहरु चल्न नसकिरहेको बेला कसरी उनीहरुलाई प्रोत्साहन र संरक्षण गरौं भन्नु त कता हो कता, उल्टै मानसिक तनाव दिने हो भने उद्योगमा ताल्चा लगाउनुको विकल्प छैन् ।’

Advertisement

Advertisement

Advertisement