जहाज खरिदमा कंसाकारलाई साथ दिएको नाममा छानीछानी दुःख दिइयो: निगमका कर्मचारी

nepal-airlines

काठमाडौं । नेपाल वायुसेवा निगममा जहाज खरिद गर्न महाप्रवन्धक सुगतरत्न कंसाकारलाई सात दिएको नाममा कार्यकारी अधिकार लिएर आएका मदन खरेलले आफूहरुलाई दुःख दिएको निगमका कर्मचारीहरुले गुनासो गरेका छन् ।

कर्पोरेट नेपालसँगको कुराकानीमा खरेल र उनको समूहले आफूहरुलाई हतोत्साही गर्ने, सरुवा गर्ने र कामै छोड्न बाध्य बनाउनेसम्म काम गरेको भन्दै आफूहरुमाथि अन्याय हुँदा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमेत मुकदर्शक भएर बसेको गुनासो गरे ।

जहाज खरिद जस्तो महत्वपूर्ण र जटिल काम गर्न रातदिन गरेर काम गरेका आफूहरुलाई निगम व्यवस्थापनले सम्मान र प्रोत्साहन गर्नुपर्नेमा उल्टै निरुत्साहित गर्ने काम गरेको एक कर्मचारीले बताए । उनले भने– हामीले कुनै व्यक्तिका लागि काम गरेका थिएनौं, संस्थाका लागि गरेको हो, २८ बर्षपछि जहाज आयो, अब निगमको व्यापार बढ्छ, आर्थिक अवस्था सुध्रिन्छ भनेर बसेको बेला गुटबन्दी गर्ने, आफ्नै कर्मचारीहरुलाई साइकोलोजीकल्ली डिमोरलाइज गर्ने काम भएको छ, यो कुरामा आधिकारिक युनियन र अरु युनियनले स्पष्टसँग बोल्ने आँट गर्नुपर्छ ।

वाइडबडी जहाजमा अनियमितता भएको कुरा आएपछि सरकारले जहाजहरु खरिद गर्न भूमिका खेलेका महाप्रवन्धक सुगतरत्न कंसाकार नहटाइकन झापाका मदन खरेललाई कार्यकारी अधिकारसहित अध्यक्ष बनायो । बाहिर जहाज खरिदमा अबौं रुपियाँ अनियमितता भएको कुरा आएपछि कंसाकारको अधिकार खोस्ने र खरेललाई भित्राउने कुराको न युनियनले विरोध गर्न सक्यो, न कोही कर्मचारीले कुरा उठायो, स्रोत भन्छ– आम कर्मचारीहरु जहाज खरिद गरिदिएर कंसाकारले ठिक गरे भन्ने पक्षमा छन् । तर कर्मचारीले यस्तो कुरा सार्वजनिकरुपमा बोल्न हिंडन् सक्दैनन् ।

न्यारोबडी र वाइडबडी गरी चारवटा विमान खरिद गर्ने कार्यमा कंसाकारलाई सहयोग गरेको भन्दै छानीछानी ती कर्मचारीहरुलाई अधिकार विहीन बनाउने, असहज र उपेक्षित ठाउँमा सरुवा गर्ने, कारवाही भ्रष्टाचारमा कारवाही हुँदैछ भनेर मानसिक त्रास देखाउने काम खरेल समूहबाट भइरहेको आफूलाई पीडित बनाउने पक्षले बतायो । अहिले भूमिकाविहीन बनाइएका कंसाकारलाई नभेट्न सर्कुलर जारी गर्दै भेटे कारवाही गर्ने चेतावनी दिइएको छ ।

जहाज खरिद आफैमा जटिल प्राविधिक विषय भएको र यसको टेण्डर प्रक्रियामा अझै जटिल विषय भनेको बोलपत्र मूल्यांकन भएको निगम स्रोतको भनाई छ । वाइडबडी खरिदको टेण्डर खोलिसकेपछि मूल्यांकन टोलीको नेतृत्व गर्ने निगमका तत्कालिन नायव महाप्रवन्धक इन्जिनियर रमेशबहादुर शाह कंसाकारको पालामा विज्ञको पदमा कार्यरत थिए । खरेलले उनलाई तीन साताअघि निगम छोड्न बाध्य बनाएको निगम स्रोतले बतायो ।

शाह निगमभित्र निकै इमान्दार र मेहनती इन्जिनियरमा चिनिँदै आएका थिए । उनकै नेतृत्वमा ग्राउन्ड हैंडलिंगमा निगमले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह समेत लिन सफल भएको थियो । निगमका कर्मचारी भन्छन्– उहाँले निगमको प्रतिस्था बढाउन ठूलो काम गर्नुभयो, अहिले उहाँलाई नै निकाल्ने काम भयो । यो निगमका लागि ठूलो क्षति हो । यस्तै उडानतर्फ अत्यन्तै महत्वपूर्ण आईओसा भन्ने सर्टिफिकेट लिने काममा समेत लागेका शाहलाई हटाउँदा निगमलाई अमूल्य क्षति भएको जनाइएको छ ।

त्यसैगरी, वाइडबडी खरिदमा संलग्न भएका सक्रियढंगले लागेका पदाधिकारीहरुमध्येका तीन जना निर्देशकहरु प्रभाष कर्माचार्य, उमेश पौडल र रविन्द्र श्रेष्ठलाई खरेलले कार्यकारी अध्यक्षमा नियुक्त भएको केही दिनमै सरुवा गरी भूमिकाविहीन बनाएर राखेका छन् क्याप्टेन सुभाष रिजाललाई निर्देशक पदबाट हटाईदिएका छन् ।

वाइडबडी खरिद परियोजनाको प्रमुखको जिम्मा दिइएका उपनिर्देशक इन्जिनियर पारस पौडेललाई कुनै काम नदिइकन राखिएको आधिकारिक ट्रेड युनियनका एक सदस्यले जानकारी दिए । उन भन्छन्– निगमका कर्मचारीहरुबीच गुटबन्दी सिर्जना गरेर खरेल सरले राम्रो गर्नुभएन । उहाँ त राजनीतिक नियुक्ति लिएर आएको मान्छे । उहाँलाई चिन्ता हुने कुरा भएन् । हाम्रो त क्यारियर यही निगमसँग जोडिएको छ । निगमलाई राम्रो बनाउने कुरामा न उहाँ चिन्तित देखियो न सरकार ।

सञ्चालक समितिको अध्यक्ष मन्त्रालयको सचिव हुने व्यवस्था हटाउँदा सञ्चालकहरुबीच नै एकले अर्कोलाई नटेर्ने अवस्था रहेको भन्दै युनियनका सदस्यले भने– गुटबन्दीलाई मलजल गर्ने काम पनि उनीहरुबाट भएको छ । राजनीतिक र आर्थिक चलखेल गर्ने र निगमभित्र दुनिया विकृति भित्राउने काम भइरहेको छ । नयाँ आएका जहाजहरु कसरी उडाउने भन्नेतर्फ उहाँहरुको ध्यान देखिन्न । एउटै संस्थामा दुई जना कार्यकारी राख्न नहुने उनको तर्क छ ।

सचिव अध्यक्ष हुँदा सञ्चालक समितिमा अनुशासन र पद्दतीअनुसार काम गर्न निकै सहयोग हुने गरेको निगमका कर्मचारीहरुको अनुभव छ । अहिलेका सचिवले निगमको बारेमा कुनै चासो नदिने गरेको उनीहरुले बताए । चौबिस अर्ब लगानी गरेर खरिद गरेका वाइडबडी जहाजहरुको लागि नयाँ गन्तव्य खोज्न व्यवस्थापन उदासिन हुँदा घाटा बढ्दै गएको भन्दै कर्मचारीहरुले कंसाकारले किनेका जहाज किन उडाउने ? भन्ने शैलीले खरेलले काम गरे निगम चाँडै नै धरासायी हुने बताउँछन् ।