हजारौं बिरामीहरु अस्पतालमा छटपटाइरहँदा सरकारी चिकित्सक र सरकार आफ्नै अडानमा

Advertisement

हजारौं बिरामीहरु अस्पतालमा छटपटाइरहँदा सरकारी चिकित्सक र सरकार आफ्नै अडानमा
काठमाडौं । समायोजनको विषयलाई लिएर सरकारी चिकित्सकहरु बिरामीको उपचार छोडेर आन्दोलनमा उत्रिएको झण्डै एक साता भइसक्दासमेत समस्या समाचान नहुँदा उपचारका लागि टाढाटाढादेखि आएका हजारौं बिरामीहरुको बिचल्ली भएको छ ।

विशेष गरी गरिव तथा मध्यम बर्गीय परिवारका बिरामीहरुको उपचार हुने सरकारी अस्पतालहरु बिरामीहरुले सास्ती भोग्नु परेको छ । चिकित्सकहरुको वृत्तिविकास ठप्प पार्नेगरी सरकारले स्थानीय तहमा समायोजन हुनुपर्ने नीति अघि सारेपछि त्यसको विरोधमा उत्रिएका चिकित्सकहरु आफ्ना माग पूरा नभए सामुहिक राजीनामा दिनेसम्मको चेतावनी दिँदै आएका छन् भने सरकारी पक्षले कुनै पनि हालतमा समायोजन गराइछाड्ने अडान लिँदै आएको छ ।

वीर अस्पतालमा सरकारले प्रहरी लगाएर बुधबार टिकट काउन्टर सञ्चालन गरे पनि अरु सरकारी अस्पतालहरुमा बहिरंग सेवा अझै ठप्प छ । शल्यक्रियाका लागि समय दिइएका बिरामीहरु चिकित्सकहरुको आन्दोलनले सबैभन्दा बढि समस्यामा परेका छन् ।

सरकारी चिकित्सक संघको आव्हानमा केन्द्रीय सरकार मातहत राखेर आफूहरुलाई समायोजन गरिनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरु चौतर्फी दबाब बढ्दा पनि पछि हट्न तयार भएका छैनन् । संघमा झण्डै १४ सय चिकित्सकहरु छन् ।

उपचारका लागि थोरै खर्च बोकेर गाउँबाट राजधानी र सदर धाएका बिरामीहरुलाई सरकारी चिकित्सकहरुको आन्दोलन भारी भएको छ । उनीहरु न निजी अस्पतालमा उपचार गराउन सक्छन् न राजधानी तथा सदरमुकाममा धेरै दिन पर्खिने समय र पैसा नै छ ।

समस्या जटिल बन्दै गएपछि राष्ट्रिय मानव अधिकार आयोगले पेशागत मर्यादा कायम राखी आन्दोलन गर्न चिकित्सकहरुलाई आग्रहसमेत गरेको छ । आन्दोलनले नागरिकको स्वास्थ्य अधिकार हनन् भएको भन्दै आयोगले जिम्मेवारीबोध गरी काममा फर्किन आग्रह गरेको हो ।

धेरै बिरामीहरु अस्पतालमै बटपटाइरहेको बेला आयोगले पेसागत क्षेत्रमा देखिएका असन्तुष्टि तथा अस्पष्टतालाई सार्थक वार्ताबाट समाधान गर्न सरकारी चिकित्सक संघ र सरकार दुवैलाई आग्रह पनि गरेको छ । आकस्मिक सेवा सञ्चालन ऐनअनुसार अस्पतालहरुमा हडताल गर्न पाइँदैन । यस्ता संवेदनशील क्षेत्रमा हडताल गर्न नपाउने कानुनी व्यवस्था हुँदाहुँदै सरकार न आन्दोलन गर्ने पक्षलाई कारवाही गर्न सक्छ न वार्तामार्फत समस्या समाधान गर्छ ।

Advertisement

Advertisement

Advertisement