प्रदेश ३ ले पनि लगानी सम्मेलन गर्ने, आर्थिक वृद्धिदर ११.२ प्रतिशत पुर्याइने

Advertisement

हेटौंडा । प्रदेश–३ सरकारले लगानी सम्मेलन गर्ने भएको छ । प्रदेशको विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका प्रवद्र्धन लगायत उद्देश्यले प्रदेश सरकारले वैशाख ६ र ७ गते चितवनको भरतपुरमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था लगायतसँग लगानी सम्मेलन गर्न लागेको हो । प्रदेशलाई लगानीको आकर्षक गन्तव्यका रुपमा प्रवद्र्धन गर्न सरकारले लगानी सम्मेलन गर्न लागेको हो ।

प्रदेश नीति तथा योजना आयोगले हेटौंडामा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको हो । नेपालका निजी क्षेत्रसँग भएको रकम प्रदेशमा लगानी गरेर काम गर्ने उद्देश्यले लगानी सम्मेलन गर्न लागिएको प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष खिमलाल देबकोटाले बताए ।

प्रदेशको सबै भूगोलमा गएर सबै वर्ग र क्षेत्रका सुझावका आधारमा सहभागितामूलक विधिबाट पहिलो आवधिक योजनाको आधारपत्र तयार गर्ने कामको नेतृत्व आयोगले गरेको छ । ‘स्वस्थ्य, सुसँस्कृत र सुखी जनता–समाजवादउन्मुख समृद्ध प्रदेशको दीर्घकालीन सोच’ आधारपत्रले लिएको छ ।

आधारपत्रले प्रदेश विकासका सम्वाहकका रुपमा गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच क्षेत्रमा लगानी केन्द्रिकृत गर्ने ध्येय राखेको छ ।

आधारपत्रले वार्षिक औषत आर्थिक वृद्धिदर ११.२ प्रतिशत हुने र प्रतिव्यक्ति आय चार लाख पाँच हजार पुग्ने लक्ष्य लिएको छ । योजना अवधिका लागि कुल स्थिर लगानी ३२ खर्ब ३७ अर्ब आवश्यक हुने प्रक्षेपण आधारपत्रको छ । उक्त लगानीमध्ये ६२ प्रतिशत निजी क्षेत्रबाट आउने अनुमान छ । प्रदेशको विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका प्रवद्र्धन गर्नेलगायत उद्धेश्यले प्रदेश सरकारले लगानी सम्मेलन गर्ने बताइएको छ ।

कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट हुने कार्यक्रम छ । कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री, विभिन्न मन्त्रालयका मन्त्रीहरु, सभाभुख, उपसभामुख, सांसद्हरु, प्रमुख सचिव, मन्त्रालयका सचिव तथा देशका वरिष्ठ अर्थविद्, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्षलगायत विभिन्न जिल्लाका उद्योग व्यवसायी, निजी क्षेत्रका लगानीकर्ता गरी करिब १ सय ५० जनाको उपस्थिति रहने अनुमान गरिएको देवकोटाले बताए ।

नेपालको संविधान कार्यान्वयन भएपश्चात् प्रदेश सरकारले आफ्ना योजना तथा कार्यक्रमलाई राष्ट्रिय लक्ष्य र प्रतिवद्धता तथा प्रादेशिक क्षमता, माग र आवश्यकताअनुरुप गर्ने लक्ष्यले जेठ २९ गते प्रदेश नीति तथा योजना आयोग गठन गरेको थियो ।

काठमाडौंमा भएको नेपाल लगानी सम्मेलनमा प्रदेश–३ सरकारसँगको छलफलबाट २४ वटा आयोजना छनौट भएका थिए । प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलपछि सरकारीस्तरका १६ वटा र निजी क्षेत्रका ८ वटा आयोजना सम्मेलनमा आउने विदेशी लगानीकर्तासमक्ष लगिएको थियो । राष्ट्रिय सम्मेलनका लागि १३ हजार २ सय ८४ मिलियन डलरका आयोजना तयार पारिएको थियो ।

नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement