सरकारी चिकित्सकसँग सरकारले वार्ता नगर्ने, बल प्रयोग गरेर अस्पताल खुलाउँछौंः लालबाबु

Advertisement

धनगढी । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आन्दोलनरत सरकारी चिकित्सकहरुसँग वार्ता नगर्ने बताएका छन् । समायोजनको विरोधमा एक सातादेखि मुलुकभरका सरकारी अस्पतालहरुको सेवा प्रभावित हुनेगरी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुसँग वार्ता नगर्ने उनले अडान दोहोर्याएका हुन् ।

प्रेस क्लव धनगढीले बिहीबार पण्डितले बल प्रयोग गरेर भए पनि अस्पताल सञ्चालन गर्ने बताउँदै सरकारलाई घुँडा टेकाउछु भन्ने नसोच्न चेतावनी दिए । उनले भने, सरकारलाई घुडा टेकाउँछु भनेर डाक्टरले व्यवहार गर्ने ? सरकार कसैको पनि दया माया नगरेर कडा रुपमा प्रस्तुत हुन्छ।’

मन्त्री पण्डितले कानुनअनुसार सरकारले डाक्टरलाई कारवाही गर्न सुरु गरिसकेको बताउँदै अबको निकास भनेको बल प्रयोग गरेर अस्पताल सञ्चालन गर्ने भएको बताए । डाक्टरको समस्याको समाधान सरकारले पहिले नै गरिसकेको उनको भनाई छ । पण्डितले डाक्टरका सेवा सुविधा नघट्नेलगायत सबै कुरामा सहमति भइसकेको जिकिर गरे ।

पेशागत मर्यादा भन्दाबाहिर गएर राखेको माग पुरा हुँदैन भन्दै उनले काठमाडौं बसेर दुर्गमको सेवा हुँदैन भने । पण्डितले राष्ट्रको सामु खाएको सपथ नभुल्न पनि चिकित्सकहरुलाई सल्लाह दिए । उनले हिजोको जस्तै केन्द्रमा बसिरहन्छु भनेर कसैले पनि नसोच्न आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement