संघीयता कार्यान्वयनमा जटिलता भनेको सिकारु चालक ब्रेक र एक्सिलेटरमा झुक्किए जस्तो हो’

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अघिल्ला वर्षहरुमा भन्दा २०७५ सालमा देश विकासका लागि धेरै कामहरु भएको जिकिर गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा बिहीबार उनले देश विकासका लागि अहिले धेरै काम भएको दावी गरेका हुन् ।

हामी मिति मात्रै परिवर्तनमा लाग्ने हैन देशको मुहार परिवर्तनमा लाग्नुपर्छ भन्दै ओलीले २०७५ सालभित्र जनताका मौलिक हक, स्वतन्त्रताका हक, सामाजिक सुरक्षका हकलगायतका हकको व्यवस्था गरिएको बताए ।

उनले यस वर्षमा विकासको गतिलाई अगाडी बढाएको र समाजका बिकृतिलाई हटाउन दृढताका साथ अगाडी बढेको हुनाले यसलाई आधार वर्षको रुपमा लिँदै देशलाई अब अगाडी बढ्न सबै ढोका खुला भएको बताए ।

ओलीले देशको विकास एक श्रेणीबाट अर्को श्रेणीमा पुर्याउनका लागि लगानी सम्मेलन पनि गरेको भन्दै सम्मेलनले देशलाई आर्थिक समृद्धिमा लैजानको लागि बाटो तय गरेको बताए । उनले अहिलेको सरकारले संगठित र उत्साहपूर्ण राष्ट्र निर्माणका काम गरेको भन्दै यस भन्दा अघि यसरी काम नभएको दाबी गरे ।

ओलीले अहिलेको सरकार सार्वजनिक निजी साझेदारी (पीपीपी)मा काम गर्न उत्साहित र तयार रहेको बताए । यसका लागि कम्तिमा पनि ५५ प्रतिशत प्राइभेट सेक्टरको साथ आवश्यक रहेको उनले बताए । ओलीले सरकारले सभ्य, आधुनिक र मर्यादित समाज निर्माण गर्न जोड दिएको बताउँदै लाइफ डिशलाइफमा आधारित भएर काम गर्ने बताए ।

उनले देशले पहिलो पटक संघीयता कार्यान्वयनमा ल्याएको भन्दै त्यसमा प्राविधिक रुपमा केही अन्यौलता भएको बताए । ओलीले भने, ‘हामीले अन्त सुनेको तर कसैले पनि नभोगेको संघीयता पहिलो पटक कार्यान्यनमा ल्याएका छौं, त्यसैले केही समस्या आएको हो, भर्खर गाडी सिक्दा सिकारु ब्रेक र एक्सिलेटरमा झुक्किजस्तो हामी पनि संघीयता कार्यान्वयनमा केही अन्यौलमा परेका छौं ।’

प्रधानमन्त्री ओलीले संघीयतामा गएपछि ल्याएको पहिलो बजेटमा केही समस्या भएको भन्दै अबका दिनमा त्यस्तो नहुने जिकिर गरे । उनले भने, ‘यस वर्षको बजेटमा कतै कार्यक्रममा मात्र गएको छ, कतै रकम मात्र गएको छ, त्यसमा केही तालमेल भएको छैन, संघीयतामा हामी सिक्ने र सिकाउने काम गर्दै कार्यान्वयनमा गइरहेको छौं, अब त्यो समस्या हट्नेछ ।’

ओलीले संघीयता कार्यान्वयन गर्न देश, जनता र सिस्टममा समर्पित भएर लाग्नुपर्ने बताए । उनले उद्यमी व्यवसायीहरुलाई ढुक्क भएर नयाँ उद्योगमा लगानी गर्न आग्रह गरे । ओलीले उद्यमीहरुलाई इलेक्ट्रिक भेइकल कम्पनी खोल्न आग्रह गर्दै सरकारले पूर्ण सहयोग गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement