पुल्चोक क्याम्पसमा आजबाट नवीकरणीय ऊर्जा प्रदर्शनी

Advertisement

काठमाडौं । नेपालमा जर्मन दूतावासको आयोजनामा आज शुक्रबारबाट ऊर्जासम्बन्धी प्रदर्शनी हुँदैछ। आजदेखि १६ दिन चल्ने प्रदर्शनी पुल्चोक क्याम्पसको सूचना तथा सञ्चार प्रविधि केन्द्रमा हुने दूतावासले जनाएको छ। ‘जर्मन ऊर्जा रुपान्तरणः जर्मनीको ऊर्जा प्रणालीमा परिवर्तन’ नाम दिइएको प्रदर्शनी वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ।

विश्व नै स्वच्छ र नवीकरणीय ऊर्जाको स्रोत खोज्नेतर्फ अग्रसर भइरहेका बेला जर्मनीले सन् २०५० सम्ममा कार्बन तटस्थताको लक्ष्य हासिल गर्ने बाटोमा अघि बढिरहेको छ। नेपालमा पनि नवीकरणीय ऊर्जा उत्पादनको ठूलो सम्भावना रहेको र यसका लागि जलविद्युत्, सौर्य ऊर्जा तथा ऊर्जा खपत कम गर्ने माध्यमहरु पनि रहेकाले प्रदर्शनी आयोजना गर्न लागिएको बताइएको छ।

नेपाल सरकारले वातावरणमैत्री ऊर्जा उत्पादनमा गरेका प्रयासको सराहना तथा यसबारेमा जानकारी पनि गराइने छ। यस्तो किसिमको प्रदर्शनी हालसम्म ३० भन्दा बढी मुलुकका ८० ठाउँमा गरिएको काठमाडौंस्थित जर्मन दूतावासले जनाएको छ।

प्रदर्शनीमा विद्यार्थी, नवीकरणीय ऊर्जा क्षेत्रमा व्यावसायिक रुपमा काम गरिरहेकाहरु तथा नीति निर्माता र विज्ञहरुले सहभागी भएर यस क्षेत्रमा भएको पछिल्लो विकासबारे जानकारी लिन सक्नेछन्। प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था छ। प्रदर्शनीमा नेपाल–जर्मनी मित्रताको ६०औं वर्षको अवसरमा दुई देशका नागरिकको मित्रतासँग सम्बन्धित फोटोहरु पनि राखिने दूतावासले जनाएको छ।

प्रदर्शनीको उद्घाटनका क्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन तथा नेपालका लागि जर्मनीका राजदूत रोलाण्ड सेफेरले अर्थतन्त्रको उन्नयन तथा आर्थिक विकासमा नवीकरणीय ऊर्जाको प्रयोगबाट मिल्ने सहयोग, यसको विस्तार, चुनौती र सम्भावनाका बारेमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।

Advertisement

Advertisement

Advertisement