टिभीहरुलाई फ्रिक्वेन्सी सुविधा दिने निर्णयको विरोधमा इन्टरनेट सेवा प्रदायकहरु आन्दोलित

Advertisement

काठमाडौं । ईन्टरनेट सेवा प्रदायकहरु आन्दोलित भएका छन् । टीभी प्रसारणको अनुमति लिएका कम्पनीलाई सरकारले बिनाप्रतिस्पर्धा  फ्रिक्वेन्सी दिने तयारी गरेपछि उनीहरु आन्दोलित भएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको फ्रिक्वेन्सी दिने तयारीमा आपत्ति जनाउँदै इन्टरनेट सेवा प्रदायक संस्थाहरु सरकारविरुद्ध आन्दोलनमा उत्रेका हुन् ।

सरकारले विद्यमान विनियमावली नै परिवर्तन गरेर सस्तोमा फ्रिक्वेन्सी दिन लागेको थाहा पाएपछि उनीहरु धर्नामा बसेका हुन् । वर्षौदेखि सरकारले आफूहरुलाई फ्रिक्वेन्सी नदिएको र हाल आएर टेलिभिजन प्रसारक संस्थालाई ‘चोर बाटो’बाट दिन लागिएको भन्दै उनीहरु धर्नामा बसेका हुन् ।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान)का अध्यक्ष भोजराज भट्ट मन्त्रालयको ठाडो हस्तक्षेपमा फ्रिक्वेन्सी गैरकानूनी तवरबाट बाँड्न लागिएकाले आन्दोलनमा आएको बताए । उनले फ्रिक्वेन्सी अक्सन (मोल बढाबढमा लिलामी) गर्नुपर्ने बताए । ‘अक्सन गर्दा राज्यलाई पनि फाइदा हुन्छ । कसैलाई पोस्नका निम्ति नै सरकारले ब्याक डोरबाट फ्रिक्वेन्सी दिन लाग्नु गलत छ,’ उनले भने ।

उनीहरुले इन्टरनेट सेवा आफूहरुबाट सञ्चालन गर्ने कानुनी व्यवस्थाको उलंघन नगर्न सरकारलाई सचेत गराउँदै शुक्रबारनै नेपाल दूर संचार प्राधिकरणमा ज्ञापन पत्र पनि बुझाएका छन् । संघका अध्यक्ष भट्टले सरकारले आफूहरुको माग सम्बोधन नगरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

Advertisement

Advertisement

Advertisement