रामपुरमा विपन्न समुदायलाई रेडियो वितरण

Advertisement

बेझाड । रेडियो स्वामित्व र सहभागिता विशेष कार्यक्रम अन्तर्गत सामुदायिक रेडियो रामपुरले अति विपन्न समुदायलाई रेडियो वितरण गर्दै आएको छ । रेडियो सुन्न तीव्र इच्छा भएका तर आयस्रोत अत्यन्तै न्यून रहेका विपन्न समुदायका व्यक्तिलाई रेडियो रामपुरले रेडियो प्रदान गर्दै आइरहेको छ ।

पाल्पाको पूर्वी भागमा अवस्थित कालीगण्डकीवेशीकै पहिलो रेडियो रामपुरले स्थापनाकालदेखिनै यो कार्यक्रम हालसम्म निरन्तर रुपमा सञ्चालन गरिरहेको छ ।

रामपुर नगरपालिका–५ मटेरी बस्ने ६१ वर्षीय कलावती डोटेलले रेडियो सेट पाएपछि खुशी व्यक्त गरे। “रेडियो किन्न नसकेपछि गाउँघरका समाचार सुन्न छिमेकीको घरमा जाँदा नराम्रो दृष्टिकोणले हेर्थे, आफूसँग रेडियो नहुँदा गाउँघरका खबर सुन्न नपाइने, रेडियो रामपुरले एक सेट रेडियो दिएपछि बिहान खुलेदेखिराति बन्द नहुञ्जेलसम्म सुनिरहन्छु” डोटेलले भने।

बुढेसकालमा उनलाई रेडियो सुनेर दिन बिताउने माध्यम पनि बनेको छ । गाउँघरका खबर यस रेडियो बोल्ने हुँदा पनि रेडियो सुन्ने चाहना पूरा भएको उनको भनाइ छ । अहिलेसम्म निस्दी गाउँपालिका–४ को मित्याल, – ५ को गल्धा, रामपुर नगरपालिका–१ र २ का गाँडाकोटलगायत अति विपन्न समुदायकै घर घरमा पुगेर रेडियो प्रदान गरिएको स्टेशन प्रबन्धक वासुदेव ढकालले बताए।

साविक रामपुर गाउँविकास समिति हालको रामपुर नगरपालिकाले दश रोपनी जग्गा उपलब्ध गराएपछि दुईतले सुविधासम्पन्न भवनमा रेडियो सञ्चालन भइरहेको छ । विसं २०६३ असार २७ मा सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति लिई २०६५ कात्तिक २६ गतेदेखि नियमित रुपमा रेडियो सञ्चालन हुँदै आएको छ ।

सूचनाको पहुँच पुर्याउन जिल्ला सदरमुकाम तानसेनदेखि करीब ६५ किलोमिटर पूर्वको रामपुरमा गण्डकीवेशीकै पहिलो रेडियोको रुपमा स्थापना भई सामुदायिक स्वामित्वमा रहेर काम गरिरहेको रेडियो सञ्चालक समितिका अध्यक्ष वासुदेव देवकोटाले बताए।

Advertisement

Advertisement

Advertisement