आधिकारिक युनियनको निर्वाचन विवादले प्राधिकरणभित्र तनाव बढ्दै, निर्वाचन कार्यालयमा ताला

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणभित्र आधिकारिक युनियनको निर्वाचन गर्ने विषयमा भएको विवाद चर्किँदै गएको छ ।

सत्ताधारी कर्मचारी युनियन कुनै पनि हालतमा चुनाव हुनुपर्ने अडानमा छ भने काँग्रेसनिकट कर्मचारी संघले भने आफ्ना अध्यक्षलाई स्पष्टिकरण सोध्ने निर्णय फिर्ता हुनुपर्ने, फागुन ७ मा भएको सहमति पालना हुनुपर्ने अडान राख्दै शुक्रबार निर्वाचन कार्यालयमा ताला लगाएको छ । यद्यपि व्यवस्थापनले प्रहरी बोलाएर ताला फोरिसकेको जनाइएको छ ।

नेकपानिकट कर्मचारी संघले चुनाव हारिने डरले कर्मचारी संघ चुहावबाट भाग्न खोजेको आरोप लगाएको छ भने आधिकारिक युनियन (सीबीए)को रुपमा प्रतिनिधित्व गर्दै आएको काँग्रेसनिकट कर्मचारी संघले भने ज्ञानेन्द्रशैलीमा एउटा युनियनलाई चुनाव जिताउन व्यवस्थापन लागिपरेको आरोप लगाएको छ ।

आरोपप्रत्यारोपका कारण प्राधिकरणको मुख्यालयदेखि देशभरका कार्यालयहरुमा एकखालको तनावको स्थिति सिर्जना भएको छ । विवादकै बीच प्राधिकरण व्यवस्थापनले भने निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै मतदाता नामावली समेत टाँस्न सुरु गरेको छ । एकपक्षीयरुपमा निर्वाचनको कार्यक्रम अघि नबढाउन आफूहरुले व्यवस्थापनको ध्यानाकर्षण गराउँदा पनि सत्ताको बलमा व्यवस्थापनले निर्वाचनको कार्यक्रम अघि बढाएको कर्मचारी संघका पदाधिकारीको गुनासो छ भने कर्मचारी युनियनका पदाधिकारीले स्वस्थ प्रतिस्पर्धा छोडेर कर्मचारी संघले कर्मचारीकै अधिकार कुण्डित गर्न खोजेको बताएका छन् ।

दुई ठूला कर्मचारी संगठनबीचको विवादले वैशाख १९ गतेलाई तोकिएको आधिकारिक युनियनको निर्वाचन अन्योलमा पर्नुका साथै मुलुककै ठूलो सार्वजनिक संस्थामा कर्मचारी कर्मचारीहरुबीच नै मुठभेडको स्थिति बढ्दै गएको छ ।



Advertisement

Advertisement

Advertisement