सरकार भ्रष्टाचारविरुद्ध लड्ने, त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको ओलीको भनाई

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ बर्षको अवसरमा आइतबार बिहानै आफ्नै सरकारी निवास बालुवाटारबाट देशवासीलाई शुभकामना दिँदै सरकार भ्रष्टाचारविरुद्ध लड्न तयार रहेको प्रष्ट पारेका छन् ।

ओलीले बिहान ७ बजे देशबासीका नाममा सम्बोधन गरेर जस्तोसुकै मूल्य चुकाएर भए पनि मुलुकबाट भ्रष्टाचारलाई अन्त्य गर्ने जिकिर गरे । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारका उपलब्धी सुनाउँदै जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गा फिर्ता गरिने बताए ।

राज्यको सम्पत्तिमाथिको अनधिकृत दोहनलाई छुट नदिइने भन्दै उनले सरकारले गरेको लगानी सम्मेलन मुलुकको हितमा रहेको बताए । ओलीले सम्मेलनमा सहभागी अन्तर्राष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरुले नेपाललाई दक्षिण एशियाको उदाउँदो अर्थतन्त्र भनेको र विश्वका विभिन्न मुलुकले नेपालको शान्ति प्रक्रिया र प्रतिस्पर्धामा आधारित हाम्रो सहभागितामूलक शासन पद्दतीलाई प्रेरणादायी र अनुकरणीय मानेको तर्क प्रस्तुत गरे ।

प्रधानमन्त्री ओलीले मुलुकबाट पृथकतावाद अन्त्य भएको दावी गर्दै सबैखाले अतिवाद, अशान्ति र उच्छृङ्खलताबाट मुलुकलाई छिट्टै मुक्त गराइने बताए । उनले विप्लव समूहप्रति संकेत गर्दै त्यसको गतिविधि नियन्त्रण गर्न राष्ट्रिय अभियान नै चलाइएको बताए ।

Advertisement

Advertisement

Advertisement