सरकारले भाषण मात्रै गर्यो, विकास गरेन्ः काँग्रेस, प्रधानमन्त्री आयो कि टिभी बन्द गर्नुपर्ने दिन आएः शर्मा

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७५ सालमा सरकारको कामगराई निराशाजनक रहेको निष्कर्ष निकालेको छ । गएको बर्षको सरकारको गतिविधि समीक्षा गर्दै काँग्रेसले सरकार हरेक क्षेत्रमा असफल भएको तर्क अघि सारेको छ ।

सोमबार सो पार्टीको कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सरकारले संघीयता कार्यान्वयन गर्न नसकेको, आर्थिक विकासका ठूला सपना देखाएर कुनै ठोस काम गर्न नसकेको, प्रदेश र स्थानीय सरकारलाई अघिकार सम्पन्न बनाउन नसकेको जस्ता आरोप लगायो ।

पत्रकार सम्मेलनमा काँग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिलेसम्म सरकारले प्रदेश र स्थानीय सरकार सञ्चालनको लागि कानुन बनाउन नसकेको भन्दै प्रदेशसँग प्रदेशदेखि निजामती कर्मचारी नहुँदा काम हुन नसकेको जिकिर गरे । उनले भने, ‘प्रधानमन्त्रीले लोकतान्त्रिक संस्थाहरूलाई केन्द्रीकरण गरेर क्षतविक्षत बनाउनुभयो। सरकार संघीयताविरोधी, जनताविरोधी देखियो, विदेश नीति पनि कमजोर देखियो।’

नेता निधि यस्तो अनुकुल समयमा समेत सरकारले काम गर्न नसकेको भन्दै विपक्षीलगायत सबैबाट सहयोग हुँदा पनि प्रधानमन्त्री भाषण मात्रै गर्दै हिँडेको सुनाए । सरकारले संघीयता सफल होस भन्ने नचाहेको उनको तर्क छ ।

सोही पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको २०७५ सालको प्रगति शून्य रहेको बताए । उनले सरकार शान्ति सुरक्षाको क्षेत्रमा पनि असफल देखिएको, संघीयता कार्यान्वयनमा पनि असफल देखिएको भन्दै थपे, ‘सरकार शान्ति सुरक्षाको क्षेत्रमा लाचार देखियो। २०७५ मा राजधानीमै धेरै हत्या हिंसाका घटना भए। तर सरकारले केही गर्न सकेन, निर्मला पन्तको हत्यारलाई सरकारले लुकाउन र निर्दोषलाई फसाउन खोज्यो।’

अनुकुल समयको सदुपयोग गर्दै प्रधानमन्त्री केपी ओलीले विकासका कामलाई तीब्रता दिनुपर्नेमा भाषण मात्रै गर्दै हिँडेको भन्दै अहिले त ओली आउना साथै टिभी बन्द गर्न मन लाग्ने स्थिति बनेको बताए । प्रधानमन्त्री बोल्दा वा उनको कार्यक्रम आउँदा बालबालिकाले हेर्छन् भनेर टिभी नै बन्द गर्नुपर्ने अवस्था आएको भन्दै उनले भने ‘प्रधानमन्त्रीको कार्यक्रम टिभीमा आउन थालेदेखि बूढापाकाले मनोरञ्जन लिन थालेका छन्, प्रधानमन्त्रीले विचार नगरी बोल्दा केटाकेटीमा नकारात्मक असर पर्छ भनेर अभिभावकले टेलिभिजन बन्द गर्नुपर्ने अवस्था आएको छ।’

प्रवक्ता शर्माले सरकारले भ्रष्टाचार अन्त्य गर्छु भने पनि भ्रष्टाचार बढ्दै गएको भन्दै बूढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा विदेशी कम्पनीलाई सुम्पिनु भ्रष्टाचार हैन ? भनी प्रश्न गरे । उनले वाइडबडी प्रकरणलाई लुकाउन शाही आयोगको शैलीमा अर्को समिति बनाइएको तर्क गरे ।

शर्माले कमिसनको खेलका कारण मेलम्ची खानेपानी आयोजना अलपत्र परेको भन्दै सरकारी जग्गा निजीकरण गर्न लागेका माफियामाथि छानबिन हुनुपर्ने बताए । उनले भने, ‘बालुवाटरको जग्गा हिनामिनामा नेकपाकै उच्चपदाधिकारीको संलग्नता प्रधानमन्त्रीको जानकारीमा छ कि छैन ? छ भने सदाचारको उच्च कोटीमा राख्नुहुन्छ कि भ्रष्टाचार सुन्न चाहन्न देख्न चाहने भन्नेले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने अवस्था आएको छ।’

बालबालिकालाई ढुँगा हान्न काँग्रेसले नभई कम्युनिष्टले सिकाएको शर्माले बताए । नयाँ बर्षको अवसरमा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले बालबालिकालाई ढुङ्गा हान्न काँग्रेसले सिकाएको आरोप लगाएका थिए । सोही आरोपप्रति कटाक्ष गर्दै प्रवक्ता शर्माले भने, ‘तर प्रधानमन्त्रीलाई के थाहा बोल्नेको भन्दा पनि काम गर्नेको नाम इतिहासमा लेखिन्छ ।’

Advertisement

Advertisement

Advertisement