जमिन टुक्राटुक्रा पर्दा हाम्रो कृषि उत्पादन बढ्न सकेन्ः प्रचण्ड

Advertisement

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कफीको माग आन्तरिक र अन्तर्राष्ट्रिय  बजारमा धेरै भए पनि आपूर्ति भने एकदमै कम भएको बताएका छन् । दुई दिने कफी सम्मेलनको उद्घाटन गर्दै उनले देशको व्यापार घाटा कम गर्न कफीको उत्पादन तथा गुणस्तरमा वृद्धि गरी आयात प्रतिस्थापन गर्नुपर्ने बताए ।

दाहालले भूउपयोग नीति स्पष्ट नभएका कारणले उत्पादनमा वृद्धि गर्न तथा निर्यात प्रवद्र्धन गर्न समस्या भएको बताए । उनले जमिन टुक्रा पार्ने तथा जमिनको उपयुक्त परिचालन गर्न नसकेर देशले घाटा व्यहोर्न परेको बताए ।

नेता दाहालले सुखी नेपाली सम्वद्ध नेपालको सपना देख्नु मात्र ठूलो कुरा होइन, व्यवहारमा उतार्नु ठूलो कुरा हो भन्दै देशमा भएका युवाहरुलाई विदेश पलायन गर्नुभन्दा पहिला स्वदेशमै तालिम तथा उचित शिक्षाको व्यवस्था गर्न सरकारले जोड दिनुपर्ने बताए । नेपालको शिक्षा प्रणालीमै कमजोरी रहेको उनको भनाई छ ।

दाहालले देशको आर्थिक विकासमा कृषिको भूमिका महत्वपूर्ण हुने भएकाले रोजगारी, उत्पादनमा वृद्धि, आधुनिकीकरण, तथा व्यवसायीरणमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा उनले पानी र चियापछि धेरै मानिसले पिउने कफी भएकाले यसलाई विश्व बजारमा लान सके व्यापार घाटा सन्तुलनमा सहयोग पुग्ने बताए ।

कृषि विकास राज्यमन्त्री रामकुमारी चौधरीले कफी उत्पादनमा वृद्धि गर्न सकेमा गरिबी न्युनीकरण गर्न हुने तथा रक्तचाप न्युनीकरण गर्ने, भएका व्यवसायीहरुको स्तरोन्नती हुने लगायतका फाईदा हुने बताइन । उनले युवालाई निःशुल्क तालिमको व्यवस्था गर्न सके आर्थिक विकासमा टेवा पुग्ने बताईन् । चौधरीले कृषि व्यवसायलाई यान्त्रिकरण तथा आधुनिकीकरण गर्नुपर्ने बताइन् ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग वार्षिक ८०० मेट्रिकटन भए पनि उत्पादन ५१३ मेट्रिकटनमा सीमित छ । कफी विकास बोर्डका अनुसार नेपालमा अराविका जातको कफी खेती हुन्छ । सो कफीको माग कोरिया, जापान, जर्मनी र अमेरिकाबाट धेरै भएको छ । मागलाई पूरा गर्न एवं कफीको उत्पादन बढाउन लगानी सम्मेलन अपरिहार्य भएको बोर्डका प्रवक्ता दीपक खनालले जानकारी दिए ।

नेपालका ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गर्दै आएका छन् । आर्थिक वर्ष ०७४।७५ मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो । सोही वर्ष रु नौ करोड ३७ लाख २५ हजारको कफी निर्यात गरिएको थियो भने छ करोड ५८ लाख ९१ हजार बराबरको आयात भएको थियो ।

गत तीन वर्षको तथ्याङ्क हेर्दा कफीको माग धेरै भए पनि उत्पादन कम देखिन्छ । आव ०७१।७२ मा रु दुई करोड ४९ लाख ९१ हजारको निर्यात र नौ करोड ९१ लाख ७६ हजारको आयात भएको थियो ।

आव ०७२०७३ मा निर्यात रु पाँच करोड ५४ लाख ४१ हजार र आयात रु १० करोड ७९ लाख थियो भने आव ०७३।७४ मा निर्यात रु रु पाँच करोड चार लाख र आयात आठ करोड ४५ लाख ३८ हजारको भएको थियो । करीब ९० लाख हेक्टरमा कफी खेती गर्न सकिन्छ ।

Advertisement

Advertisement

Advertisement