खपत घटेपछि अण्डाको मूल्य सस्तियो, प्रतिगोटा रु. १०.५ मात्रै, लागतभन्दा सस्तोमा बेच्नुपरेको गुनासो

Advertisement

काठमाडौं । खपत घट्दै गएपछि व्यवसायीले घाटा व्यहोरेर लागत मूल्यभन्दा सस्तोमा फुल (अण्डा) बिक्री गर्न थालेका छन् । नेपाल अण्डा उत्पादक सङ्घले सोमबार विज्ञप्ति जारी गरी धेरै नोक्सानीमा फुल बिक्री गर्न बाध्य भएको जनाएको छ ।

सङ्घका अध्यक्ष त्रिलोचन कँडेलका अनुसार फुलको लागत प्रतिगोटा रु १०.५० पर्ने भए पनि कृषकले रु ६.६६ पाउने गरी मूल्य निर्धारण गरिएकाले एउटै फुलमा करीब रु ४ घाटा व्यहोर्नु परेको छ ।

कुखुरालाई आवश्यक पर्ने दाना र कच्चा पदार्थको मूल्य वृद्धि हुँदै जानु र उत्पादित फुल तथा चल्लाको मूल्यमा क्रमशः गिरावट आउनाले व्यवसायीले धेरै नोक्सानी व्यहोर्न हो । फुलको उत्पादन र खपतको अवस्थामा निकै असन्तुलन भएको जनाइएको छ ।

आजदेखि लागूहुनेगरी केही समयका लागि नेपाल अण्डा उत्पादक सङ्घले फुलको उपभोक्ता मूल्य रु १३ बाट घटाइ रु १० निर्धारण गरेको छ । नेपालमा हाल दैनिक ५० लाख फूल उत्पादन हुने गरेको छ । हालको बजार अनुसार दैनिक रु एक करोड ९२ लाख नोक्सानी सहनुपरेको कँडेलले बताए ।

उद्योग वाणिज्य सङ्घ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतमले राज्यले समयमै यस क्षेत्रलाई सम्बोधन गर्न नसके आत्मनिर्भर व्यवसाय धरासायी हुने बताए ।

Advertisement

Advertisement

Advertisement