तोकिएभन्दा दशौं लाख बढि शुल्क अशुली, समयमा नतिरे चर्को हर्जना र परीक्षामा फेल

Advertisement

काठमाडौँ । काठमाडौं विश्वविद्यालयले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग शैक्षिक शुल्कका नाममा ‘मिटर ब्याज’ असुल्ने गरेको भेटिएको छ । केयूको विस्तारित कार्यक्रमका रूपमा स्थापित विराटनगरको विराट मेडिकल कलेज र रूपन्देहीको देवदह मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी असुल्दै आएका हुन् ।

ऊक्त शुल्कसहित अतिरित्त रकम समयमै नबुझाउनेसँग यी कलेजले ब्याजमाथि ब्याज लिने गरेका छन् । दुवै कलेज काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्सेसद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत पर्छन् । केयूको क्षमताका कारण सम्बन्धन दिन नसकिने भएपछि प्रत्यक्ष रूपमा चल्ने गरी कार्यक्रम विस्तार गरिएको थियो । विराटले सार्वजनिक सूचना नै प्रकाशन गरी विद्यार्थीले तिर्ने ५० हजार शुल्कबराबर प्रतिदिन दुई सयका दरले ब्याज दिनुपर्ने जनाएको छ ।

सरकारले काठमाडौं उपत्यकाबाहिर एमबीबीएस अध्ययन गर्न ४२ लाख शुल्क तोकेको छ । पहिलो किस्तामा ५० प्रतिशत रकम बुझाएर विद्यार्थी भर्ना हुन्छन् । दोस्रो किस्तामा करिब १० लाख रुपैयाँ बुझाउनुपर्छ । उक्त रकम समयसीमाभित्र नबुझाए कलेजले चर्को ब्याज असुल्ने गरेको हो । १० लाखको ४ सयका दरले दैनिक ब्याज मात्रै ४ हजार उठ्छ । करिब १० लाखको तेस्रो किस्तामा पनि यसै गरी ब्याज असुलिन्छ । यसबाहेक पनि यी कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिन्छन् । उक्त रकममा पनि सोही दरले ब्याज लिने गरिएको एक अभिभावकले बताए । ब्याजबापत एउटै विद्यार्थी १० लाखसम्म तिर्न बाध्य भएको अभिभावकको गुनासो छ । अतिरिक्त शुल्क र ब्याजको बिलभर्पाइ भने दिइँदैन ।

विश्वविद्यालयका उपकुलपति रामकण्ठ माकजु, डिन राजेन्द्र कोंजुलगायत पदाधिकारीको संरक्षण र मिलमतोमा कलेजले मनोमानी शुल्क र ब्याज लिएको विद्यार्थीको गुनासो छ । पदाधिकारीहरू निजी कलेजले अतिरिक्त रकम असुले पनि धुलिखेलको आंगिक क्याम्पसले बढी रकम नलिएको भनी पन्छिने गरेका छन् । पटकपटक गुनासो र उजुरी गर्दा पनि कारबाहीका लागि चासो नदिएको पीडित विद्यार्थी बताउँछन् । स्कुल अफ साइन्सेसमै विलम्ब शुल्कका नाममा मनोमानी रकम लिइएकाले पदाधिकारी सम्बन्धन लिएका निजी कलेजलाई कारबाही गर्न ‘नैतिक’ रूपमा तयार नभएको एक पूर्वपदाधिकारीले जनाए । विस्तारित कार्यक्रमअन्तर्गत सञ्चालित कलेजमा पनि उनीहरूकै संरक्षणमा ठगी भइरहेको हो । ‘बोल्यो भने आन्तरिक, प्रयोगात्मक परीक्षामा फेल गरिन्छ, इन्टर्नसिपको प्रमाणपत्र रोकेर राखिन्छ,’ एक विद्यार्थीले भने, ‘निजी मेडिकल कलेजहरूको
अवस्था झन् कस्तो होला ?’

विराट कलेज स्रोतले उपलब्ध गराएको अर्को एक सूचनामा ब्याजसहितको रकम नबुझाउनेलाई परीक्षामा सहभागी हुन नदिने र रिजल्टको जिम्मा पनि नलिने ‘धम्कीपूर्ण चेतावनी’ दिइएको छ । सूचनामा कलेजको ‘पेमेन्ट डिपार्टमेन्ट’ मा सम्पर्क गरेर ब्याजसहितको रकम बुझाउन निर्देशन छ । एक विद्यार्थीका अनुसार उक्त जानकारी कलेजको सूचनापाटीमा समेत टाँसिएको थियो । ‘लाखौं शुल्क तिरेर पढेको हुन्छ, परीक्षामा सहभागी हुन नपाउने र भए पनि आन्तरिक परीक्षामा फेल हुने डरले ब्याजसहितको रकम तिर्न बाध्य हुन्छौं,’ उनले भने, ‘कलेज सञ्चालकहरूले रकम तिर्न कक्षाकोठामा आएर धम्की दिन्छन् ।’ सञ्चालकहरूले विद्यार्थी र अभिभावकपिच्छे मोलमोलाइ गर्ने हुँदा कुन विद्यार्थी र कुन अभिभावकसँग कति रकम लिएको थाहा नहुने स्रोतको भनाइ छ । यी कलेजले इन्टर्नसिप फी, डेभलपमेन्ट फी, फिल्ड भिजिट, परीक्षा शुल्कका नाममा ३० लाखसम्म अतिरिक्त लिने गरेका छन् । केयूकै धुलिखेलको स्कुल अफ साइन्सेसमा समेत ब्याजसहितको विलम्ब शुल्क नबुझाए आन्तरिक परीक्षामा फेल गराउने र इन्टर्नसिपको प्रमाणपत्र नदिने गरिएको विद्यार्थीको गुनासो छ । उनीहरूले समूह नै गठन गरेर विश्वविद्यालय र डिन कार्यालयलाई अतिरिक्त शुल्क र ब्याजका विषयमा दबाब दिइरहेका छन् ।

डिन कोंजुले पनि निजी मेडिकल कलेजले अतिरिक्त शुल्क लिएकाले फिर्ता गर्न आग्रह गरिएको जनाएका छन् । तर स्कुल अफ साइन्सेन्सले ब्याज नलिएको उनको दाबी छ । ‘मेडिकल कलेजहरूको गुनासोबारे अवगत छौं । सकेसम्म सम्बोधन पनि गरेका छौं,’ उनले भने, ‘कलेजहरूमा भएको बदमासीलाई केयूकै बदमासी भन्न मिल्दैन ।’

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement