अब मोवाइल एप्सबाटै ट्याक्सी बोलाउन सकिने, पाँच मिनेटमा घरमै आउने दाबी

Advertisement

काठमाडौं । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले पछिल्लो दिनमा प्रविधिको बढ्दो प्रयोगलाई अंगिकार गर्दै मोबाइल एप्समा आधारित सेवा दिने भएको छ ।

उपत्यकाका ५ हजार भन्दा बढि स्वरोजगार ट्याक्सी चालकहरुको समाजले आफ्ना यात्रुहरुलाई प्रविधिमा आधारित हुँदै ट्याक्सी सेवा शुरु गर्ने भएको हो ।

समाजले मोबाइल एप्स इजीट्याक्सीनेपालमार्फत वैशाख दोस्रो सातादेखि परिक्षणको रुपमा एप्समा आधारित हुँदै ट्याक्सी सेवा दिन लागेको जनाएको छ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले सरकारी मूल्यदरमा नै सेवा दिने तयारी गरेको जानकारी दिइको छ ।

समाजले हालको ट्याक्सी भाडा दरले ट्याक्सी सेवा संचालन गर्न कठिन रहेको भन्दै भाडा वृद्धि गर्न सम्बन्धित निकायलाई अनुरोध पनि गरेको छ । सो आधारमा ट्याक्सी भाडा समायोजन गरेपछि हुने नयाँ मिटर भाडा दरमा नै एप्समा आधारित भएर सेवा संचालन गर्ने समाजको भनाई छ ।

हाल काठमाडौं उपत्यकामा मात्र संचालन गरिने इजीट्याक्सीनेपाल एप्सको सेवाका लागि यात्रुले सो एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यसको लागि कस्टमर लगइन रजिस्टर बनाईएको छ भने यात्रुले लगइन गरेपछि त्यसमा देखिने रियलटाइम म्यापमा आफू बसेको स्थानदेखि जाने गन्तव्य छनौट गर्नुपर्दछ ।

यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकहरुले सोही एप्समार्फत अनुरोधलाई स्वीकार गर्नेछन् र त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिनेछन् ।

इजीट्याक्सीनेपाल एप्समार्फत यात्रुले लगइन गरेर अनुरोध गरेको ५ मिनेटभित्रै यात्रुले ट्याक्सी सेवा प्राप्त गर्ने दावी गरिएको छ । आम उपभोक्ताहरु ट्याक्सी चालकहरु भनेको ठाउँमा जान नमान्ने, चर्को मूल्य माग्ने, मिटरमा जान नमान्ने जस्ता समस्याले पीडित भइरहेको बेला ट्याक्सी चालकहरु इमान्दार भएर यो सेवा प्रदान गरे निकै प्रभावकारी हुने देखिन्छ ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले भने, ‘नेपालमा ट्याक्सी र चालकलाई निकै हेप्ने गरिन्छ तर हामी पनि यही समाजका नागरिक हौं, त्यसैले हामीले यात्रुको सुविधालाई ध्यानमा दिँदै प्रविधिमैत्री ट्याक्सी सेवा संचालन गर्न लागेका हौं ।’

सफ्टवेयर कम्पनीको सहयोगमा तयार पारिएको एप्सबाट यात्रुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमा नै पुगेर सेवा दिने उनले स्पष्ट पारे । हालको लागि यात्रुले सो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछ भने छिटै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधा आउनेछ ।

यात्रुले इजीट्याक्सीनेपालको वेबसाइटमार्फत पनि यो एप्स र यसको प्रयोगको बारेमा जानकारी लिन सक्नेछन् । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले ट्याक्सी सेवालाई नकारात्मकरुपमा मात्र हेर्ने गरिएको हुँदा प्रविधिको आधारमा सेवा दिएर यात्रुलाई सुविधा दिँदै नयाँ प्रयास गर्न लागिएको बताएको छ ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका महासचिव पूर्णलाल मोक्तान (तामाङ)ले काठमाडौंको ट्याक्सी सेवालाई भरपर्दो, यात्रुमैत्री र प्रविधियुक्त बनाएर नयाँ ढंगले अगाडि जाने योजनासाथ एप्स संचालन गरेको बताए ।

Advertisement

Advertisement

Advertisement