टोयोटा र सफ्टबैंकले अमेरिकी कम्पनी उबेरमा एक अर्ब लगानी गर्ने, चालकबिहीन कार बनाउँदै

Advertisement

टोकियो । जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबेरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने शुक्रबार घोषणा गरेका छन् ।

टोयोटाले यसअघि नै उबेरमा ५० करोड डलर लगानी गरिसकेको छ । गुगलको स्वामित्वमा रहेको वाइमो र अरु प्रमुख कार निर्माता कम्पनीहरुले पनि चालकबिहीन कार निर्माणलाई तिब्रता दिएका छन् ।

पछिल्लो लगानी उबेरको स्वामित्वमा रहेको एडभान्स्ड टेक्नोलोजिज ग्रुपमा हुनेछ । यस समूहले स्वचालित र चालकबिहीन कार निर्माणको आधार तयार गर्नेछ, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कूल एक अर्ब डलर लगानीमध्ये कारका पार्टपूर्जा निर्माता डेन्सो सहित टोयोटाका तर्फबाट ६६ करोड ७० लाख डलर र सफ्टबैंकका तर्फबाट ३३ करोड ३० लाख लगानी हुनेछ । उबेरमा यसअघि नै सफ्टबैंकको १६ प्रतिशत लगानी रहेको छ ।

उबेरका प्रमुख कार्यकारी डारा खोस्रोशाशीले चालकबिहिन कारले यातायात क्षेत्रलाई रुपान्तरण गर्ने बताउँदै यसबाट हाम्रा सडकहरु बढी सुरक्षित र शहरहरु बस्नयोग्य हुने दाबी गरे ।

गत साता उबेरले प्रारम्भिक शेयर जारी गर्नेसम्बन्धी कागजात अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज आयोगमा बुझाइसकेको छ । उबेरले आयोग समक्ष बुझाएको कागजातमा छ वटा महादेशमा झण्डै प्रतिदिन एक करोड ४० लाख पटक उबेरका सबारी साधन प्रयोग हुने र सन् २०१० यतामात्र १० अर्बभन्दा बढी मानिसले कार प्रयोग गरेको उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement