राष्ट्रपतिको चीन भ्रमणमा तिब्बतसम्म पुग्ने कार्यक्रम

Advertisement

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो चीन भ्रमणमा दोस्रो बेल्ट एण्ड रोड फोरमसमेत गरी तीन कार्यक्रममा सहभागी हुने भएकी छन् । चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ गतेदेखि नौदिने भ्रमणमा जान लागेकी राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी हुने तयारी गरिएको हो ।

राष्ट्रपति भण्डारीको भ्रमणबारे आइतबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने ‘सेकेण्ड बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुने बताए । त्यस क्रममा उनी नेपालको समेत सहभागिता रहेको अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटनमा सहभागी हुने, चिनियाँ समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने जनाइएको छ ।

उक्त वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने र राष्ट्रपति भण्डारीको वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता हुने मन्त्री ज्ञवालीले जानकारी दिए । बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्त रुपमा सम्बोधन गर्ने र बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने पनि ज्ञवालीले जानकारी दिए ।

बेइजिङ प्रस्थान गर्ने क्रममा राष्ट्रपति भण्डारीले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्ने र स्वदेश फर्कँदा चीनको स्वशासित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्ने कार्यक्रमसमेत तय गरिएको छ । राष्ट्रपति भण्डारीका साथ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, सरकारी कर्मचारी, उद्योगी–व्यवसायीलाई लिएर जाँदैछिन् ।

Advertisement

Advertisement

Advertisement