माथिल्लो तामाकोशीको तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु

Advertisement

काठमाडौं । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङमा वैशाख २२ भित्र पेनस्टक पाइप जडान सुरु हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडान र परीक्षणलाई अत्यन्तै जटिल एवं चुनौतिपूर्ण मानिएको जनाउँदै प्राधिकरणले तल्लो ठाडो सुरुङमा ५ मिटर लम्बाइ र २७ टन तौल भएका पेनस्टक पाइप जडान गर्नुपर्ने जनाएको छ ।

माथिल्लो र तल्लो ठाडो सुरुङको पुछारमा रहने बेण्ड पेनस्टक पाइपहरु जडान भइसकेको जनाइएको छ । अब ती बेण्ड पाइपहरुभन्दा माथि पाइपहरु जडान सुरु गर्न क्रेन राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो सुरुङमा पाइप जडान भने टेक्स्याकोले नै गरिरहेको छ ।

टेक्स्म्याकोका प्रमुख कार्यालयका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जिसी अग्रवाल लगायत प्रमुख डिजाइन र इरेक्सेन इन्जिनियरहरु, सिभिल ठेकेदार सिनो हाइड्रोका आयोजना प्रमुख, एन्ड्रिज हाइड्रोका साइट प्रतिनिधि र परामर्शदाताका प्रतिनिधिहरुको उपस्थिति थियो ।

अग्रवालले लगायत अन्य ठेकेदार कम्पनीले आ–आफ्नो काम एक अर्कासँग समन्वय गरी निर्धारित समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भने ‘हामीलाई अवसर दिनुहोस्, हाम्रो काम निर्धारित समयमै सम्पन्न गर्न प्रतिबद्ध छौं ।’

बैठकमा आयोजनाको अत्यन्तै जटिल एवं चुनौतिपूर्ण मानिएको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडानको प्रगतिका बारेमा विस्तृत छलफल तथा समीक्षा गरिएको थियो । त्यस्तै बाँध, इन्टेक र बालुवा थिग्रयाउने पोखरीमा आगामी जेठ महिनाको पहिलो साताभित्रमा पानी भरी परीक्षण गर्नेबारे छलफल भएको थियो ।

आयोजनाको अनुगमन गर्न आइपुगेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काम छिटो सक्न निर्माण कम्पनीका प्रतिनिधिहरुलाई निर्देशन दिए । २०७२ को विनाशकारी भूकप्प एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाई भएको थियो ।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३÷७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५÷७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो ।

तर, लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस २०७६ (३१ डिसेम्बर २०१९) भित्र एक युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादनको लक्ष्यसहितको नयाँ समयतालिका तय गरी काम भइरहेको छ ।

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड थियो ।

अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ (निर्माण अवधिको ब्याज बाहेक) पुग्ने संसोधित अनुमान छ । निर्माण अवधिको व्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ ।

आयोजनामा कर्मचारी संचय कोषले १० अर्ब,नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २÷२ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैया नेपाल सरकारले ऋण लगानी गरेका छन् । कम्पनीमा प्राधिकरणको ४१,नेपाल टेलिकमको ६,नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक शेयर छ ।

कम्पनीमा सर्वसाधारणको १५, दोलखाबासीको १०,संचय कोषका संचयकर्ता,कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत सेयर छ ।

Advertisement

Advertisement

Advertisement