‘चीनले ऋणको पासोमा पार्ने योजना बनाएको भन्नु अमेरिकाको पूर्वाग्रह मात्रै हो’

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैशाख ११ गतेबाट सुरु हुने राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणबाट नेपाल–चीन द्धिपक्षीय सम्बन्ध नयाँ उचाईमा पुग्ने दावी गरेका छन् । सोमबार रिपोर्टर्स क्लवमा ज्ञवालीले राष्ट्रपति भण्डारीको चीन भ्रमणलाई नेपाल सरकारले विशेष महत्व दिएको बताए ।

उनले भने, ‘उहाँको भ्रमणपछि नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध थप नयाँ उचाईमा पुग्छ, राष्ट्रपतिको यो भ्रमणले सदियौंदेखि रहँदै आएको नेपाल–चीन सौहार्दपूर्ण सम्बन्धलाई अझै प्रगाढ बनाउने छ । चीनको विकाससँग नेपालको विकासलाई जोड्ने विभिन्न माध्यम र उपायहरुको खोजी गर्नेछ ।’

मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले भ्रमणको दौरान दुईपटक सम्बोधन गर्ने कार्यक्रम रहेको पनि सुनाए । उनले भने, ‘बेल्ट एण्ड रोड ईनिसिएटिभ फोरम, जहाँ सयभन्दा बढि राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु सहभागी हुन्छन्, त्यसमा उहाँले दुईपटक सम्बोधन गर्नुहुनेछ । पहिलो उहाँले उद्धघाट्न सत्रमा उच्चस्तरीय भेलामा सम्बोधन गर्नुहुनेछ, र दोस्रो चिनियाँ राष्ट्रपति सि जिनपिङले सञ्चालन गर्ने राउण्ड टेबलमा सम्बोधन गर्नुहुनेछ ।’
मन्त्री ज्ञवालीले अप्रिल २९ तारिखमा चिनियाँ राष्ट्रपतिसँग द्धिपक्षीय औपचारिक वार्ता गर्ने र त्यही दिन विभिन्न सन्धि, सम्झौता तथा प्रोटोकलमा हस्ताक्षर गर्नेपनि जनाए । उनले भने, ‘त्यो दिन प्रोटोकलमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।’

त्यस्तै, मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीले चीनको प्राचिन शहर र चिनियाँ राष्ट्रपतिको गृहनगरसमेत रहेको सियानको भ्रमण गर्ने कार्यक्रम रहेको समेत जनाए । उनले राष्ट्रपति भण्डारीले चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको र भ्रमणको दौरान प्रान्तीय गभर्नरसँग भेटवार्ता गर्नेपनि जनाए । राष्ट्रपति भण्डारीको भ्रमण र भेटवार्ताले नेपाल–चीन सम्बन्ध अझै उचाईमा बढाउने विश्वास रहेको पनि मन्त्री ज्ञवालीले सुनाए ।

ज्ञवालीले नेपाल–चीन सम्बन्धमा अहिले कुनै समस्या नरहेको जिकिर गरे । उनले भने, ‘हामीबीच सौहार्दपूर्ण र समझदारीपूर्ण सम्बन्ध छ ।’ चीनसँग जोडिएर नेपालले जसरी लाभ लिनुपर्ने थियो त्यो भने लिन नसकेको विगत मन्त्री ज्ञवालीले कोट्याए ।

उनले भने, ‘अब भने हामी चीनसँग सार्थकरुपमा आर्थिक लाभ लिनेगरि अघि बढ्छौं ।’ आफू यसअघि चीन भ्रमणमा जाँदा चिनियाँ समकक्षीसँगको भेटवार्तामा नै नेपाल–चीन विकासको ‘फ्रेमवर्क’ तय भैसकेको पनि ज्ञवालीले सुनाए । उक्त ‘ट्रान्स हिमालयन मल्टि–डाईमेन्शनल कनेक्टिभिटी नेटवर्क’ अन्तर्गत सिमा वारपार रेल, सडकहरु, बन्दरगाहाहरु, हवाई यातायात, सूचना प्रविधिलगायत थुप्रै विषयहरु पर्ने उनले सुनाए ।

ज्ञवालीले भने, ‘यसअन्तर्गत अघि बढ्नको लागि हाम्रो प्रधानमन्त्रीको गत असारमा भएको भ्रमणमा पनि अझ कम्प्लिट बनाएका छौं ।’ हालै नेपालले चीनसँग बिआरआईअन्तर्गत आफूहरुले गर्न खोजेका कामका सूचीसमेत आदान–प्रदान गरिसकेको उनको भनाई छ ।

मन्त्री ज्ञवालीले भने, ‘त्यसमा हामीले अहिले छलफल सुरु गरेका छौं । फण्डिङ मोडालिटी, लगानीको ढाँचा के हुनेछ ? कति अनुदानमा र कति सफ्ट लोनमा निर्माण होलान् ? कति चिनियाँ लगानीकर्ताको प्रत्यक्ष वैदेशिक लगानीअन्तर्गत आउलान् ? कति संयुक्त लगानीको रुपमा आउलान् ? कति बहुपक्षीय वित्तिय संस्थाबाट ऋण सहयोगबाट आउलान् ? कुन–कुन परियोजना कुन मोडालिटीमा गर्ने भन्नेबारे अहिले हामी एकदमै सघन छलफलमा छौं ।’

उनले आफूहरुले अघि सारेका सबै योजनाहरु र त्यसभित्र केरुङ–काठमाडौं रेल उच्च प्राथमिकतामा रहेको सुनाए । ज्ञवालीले भने, ‘त्यसको प्रि–फिजिविलिटी अध्ययन सकिएको छ । सम्भवत हामी फिजिविलिटी अध्ययन र यसको निर्माण कार्य सुरु गर्न सक्नेगरि निश्कर्षमा पुग्न सक्छौं भन्ने मलाई विश्वास छ ।’

त्यस्तै, कोशी, कालीगण्डकी र कर्णाली आर्थिक कोरिडोर जसभित्र सडक र विभिन्न उत्पादनका पकेटहरु र त्यहाँको जनताको जीवनस्तर माथि उठाउने कुराहरुलाई पनि आफूहरुले अगाडि बढाएको मन्त्री ज्ञवालीले बताए ।

उनले योग्य जनशक्तिको निर्माण गर्नु अहिलेको आवश्यकता रहेको सुनाउँदै त्यसको लागि प्राविधिक र वैज्ञानिक शिक्षामा केन्द्रित रहेको बहुआयामिक विश्वस्तरीय विश्वविद्यालय बनाउन चाहेको पनि सुनाए । उनले भने, ‘त्यो विश्वविद्यालयमा बिआरआई परियोजनाअन्तर्गत सय वटा त्यस्ता विश्विद्यालयहरु बनाउने सोच पनि छ । त्यसमा नेपालले त्यो ढंगले सहकार्य गर्न चाहेको छ ।’

राष्ट्रपति भण्डारीको यो भ्रमणमा चीनसँग सन् २०१६ मा भएको यातायात पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर गर्न लागेको पनि मन्त्री ज्ञवालीले जानकारी दिए । उनले भने, ‘त्यो प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपालका उत्तरी नाकाहरु उपयोग गरेर चीनको जुनसुकै बाटो प्रयोग गरेरपनि हामीले चीनका चारवटा समुन्द्री बन्दरगाह र तीन वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने सुविधा प्राप्त गर्नेछौं । र, त्यसले हाम्रो पारवहन सुविधालाई विविधता बनाउन र एकपक्षीय निर्भरता अन्त्य गर्न एउटा ठूलो भूमिका खेल्नेछ ।’

यसका अलवा अन्य थुप्रै समझदारीपत्रहरुमा हस्ताक्षर गर्न लागेको र उपयुक्त समयमा जानकारी गराईने उनले विश्वास दिलाए । ज्ञवालीले आगामी मे महिनामा तातोपानी नाका खुल्ने जानकारी दिए । उनले भने, ‘उताबाट तीव्र रफ्तारमा काम भैरहेको छ । उताको सुख्खा बन्दरगाहाको करिब–करिब ९८ प्रतिशत काम सम्पन्न भैसकेको छ । नेपालले कस्टम, क्वारेन्टाईन र ईमिग्रेशनलगायतका सुविधाहरु राख्दैछ । मितेरी पुल अन्तिम चरणमा पुगेको छ ।’

आफूहरुले विदेश ऋण र अनुदान लिँदासमेत राष्ट्रिय हितलाई केन्द्रमा र सर्वोपरि ठानेर मात्रै लिने ज्ञवालीको भनाई छ । उनले भने, ‘जहाँसम्म ऋणको कुरा छ, मेरो यसमा स्पष्ट भनाई छ । १९९० र २००० को दशकमा ल्याटिन अमेरिकाका थुप्रै देशहरुमा आर्थिक संकट आयो । अर्जेन्टिनालगायत अरु थुप्रै देशहरु ठूलो संकटमा परे । त्यहाँ त चीन लगानीकर्ता थिएन । चिनियाँ ऋणको पासोमा फसेका थिएनन् । ग्रिस अहिले पनि संकटबाट लडिरहेको छ । अरु थुप्रै देशहरु पनि आर्थिक संकटमा छन् । यसको अर्थ के हो भने कुन वित्तिय संस्था वा देशसँग लोन लिँदा ट्रयापमा परिन्छ र कुनमा परिँदैन् ? त्यसको कुनै नियम छैन् । मूल कुरा तपाईले परियोजनाहरुको छनौट कसरी गर्नुहुन्छ ? रिजल्ट दिनेगरि परियोजनाको छनौट गर्नुहुन्छ कि हुँदैन् ? पे–ब्याकको निम्ति तपाईसँग योजना के छ ? र तेस्रो कुरा स्वतन्त्र ढंगले निर्णय लिने क्षमता छ कि छैन ? कसैले ईम्पोज गरेका कुरा ग्रहण गर्नुहुन्छ कि हुँदैन् ? हामी चीनसँग मित्रतापूर्ण ढंगले कुराकानी गर्छौं ।’

नेपालको भविष्यप्रति चिन्तित हुने साथीहरुले त्यस्तो कुनै परोपकारी संस्था जसले शुन्य ब्याजमा र अझ पछाडि फर्काउन पनि नपर्ने कुरा देखाईदिन पनि उनले आग्रह गरे । अमेरिकाको विश्लेषण अर्थशास्त्रीयभन्दा पनि आग्रहपूर्ण रहेको उनको टिप्पणी छ ।

ज्ञवालीले भने, ‘नेपालले के गर्न उपयुक्त हुन्छ र के हुँदैन् भन्ने कुरामा राम्रोसँग निर्णय गर्ने क्षमता नेपालसँग छ । र, नेपालले दक्षिण र उत्तर दुवैसँग ढोका खुल्ला राखेको छ । छिमेकी र उनीहरुको विकाससँग नजोडिईकन र उहाँहरुसँग अर्थपूर्ण विकास साझेदारी नगरीकन हामी समृद्ध हुँदैनौं । नेपालको चिन्ता गर्ने सबैमा धन्यवाद छ । तर, नेपालको सर्वोत्तम हित के हो भनेर छनौट गर्न नेपाली जनता सक्षम र सिपालु छन् ।’

मन्त्री ज्ञवालीले आफ्नो १३ महिने कार्यकालमा नेपालको बाह्य सम्बन्धलाई नेपालको राष्ट्रिय हित हुनेगरि अझै बढि अनुकुल बनाउन र नेपालले तय गरेको विकासको परिकल्पनालाई सघाउन अनुकुल अन्तर्राष्ट्रिय सम्बन्ध निर्माण गर्न सक्दो प्रयत्न गरेको सुनाए ।

उनले भने, ‘हाम्रा सम्बन्धहरुलाई औपचारिकतामा सिमित नगरी अर्थपूर्ण विकास साझेदारी अघि बढाउनको लागि सक्दो प्रयत्न गरेका छौं । त्यसका परीणामहरु पनि देखिएका छन् । विस्तारै नेपालको छबि विश्व परिदृश्यमा देखा पर्न थालेको छ । यो भिजिवल भएको छ । यो अडिवल भएको छ ।’

नेपालले आफ्ना उपलब्धिहरु सुनाउन सक्नेगरि आफ्नो आत्मबलको विकास गरेको पनि मन्त्री ज्ञवालीले दाबी गरे । उनले थपे, ‘हामीसँग सुनाउनको लागि महत्वपूर्ण विषयहरु पनि छन् । हामीले जुन मौलिक ढंगले लोकतान्त्रिक रुपान्तरण हाँसिल गरेका छौं । जुन मौलिक ढंगले नेपालको शान्ति प्रक्रियालाई झण्डै अन्तिम चरणमा पुर्याएका छौं । केही साना–तिना कामहरु बाँकी छन् ।’

नेपाली जनताको लामो चाहनाअनुसार बलियो सरकार बनेको उल्लेख गर्दै मन्त्री ज्ञवालीले स्थायी र बलियो सरकारको जग बसालेको पनि सुनाए । उनले भने, ‘छोटो समयभित्र आर्थिक विकास गरेर मध्यम आय भएको मुलुकमा पुर्याउने हाम्रो संकल्प छ । ती विषयहरु हामी अन्तर्राष्ट्रिय समूदायहरुसँग निरन्तर सेयर गरिरहेका छौं । र, त्यसप्रति उहाँहरुको चासो उल्लेख्य रुपले बढेको हामीले पाएका छौं । उहाँहरुको सद्भाव पनि हामीले पाएका छौं ।’

मुख्यतय चार वटा आयाममा राखेर नेपालले आफ्नो बाह्य सम्बन्धलाई अघि बढाएको उनको भनाई छ । ज्ञवालीले भने,‘स्वभाविक रुपले हाम्रो बाह्य सम्बन्धको कुरा आउँदा छिमेक पहिलो हुन्छ । दुवै छिमेकी मुलुकसँग सौहार्दपूर्ण सम्बन्ध राख्ने र दुवैका जायज चासोहरुप्रति संवेदनशील बन्ने, र, उहाँहरुको विकाससँग नेपाललाई जोड्ने नै हो । नेपालको छिमेकी नीतिमा यीनै मुख्य प्राथमिकताहरु हुन् ।’

त्यस्तै, दोस्रो आयाममा विकास साझेदार राष्ट्रहरु (जापान, युरोप, बेलायत) लगायत विकास साझेदारहरुसँग अर्थपूर्ण ढंगले विकास साझेदारीहरु अगाडि बढाईरहेको पनि मन्त्री ज्ञवालीले सुनाए । उनले भने, ‘चाहे अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन कार्यक्रम होस् । जहाँ झण्डै ५६ अर्ब बराबरको सहयोगको कुरा होस् या जापानसँग हामीले नयाँ ढंगले गरेका आर्थिक साझेदारीसँग सम्बन्धित कुरा होस वा श्रम बजारसँगको विषयहरु होस ्। चाहे युरोपियन युनियनले हामीलाई हतियारबाहेक अन्य सबै उत्पादनहरुमा सहुलियत दिने कुरा होस् । हामी उनीहरुसँग त्यही ढंगले अगाडि बढिरहेका छौं ।’

मन्त्री ज्ञवालीले श्रम गन्तब्य मुलुकहरुसँगको कुरा पनि अर्को आयाम रहेको सुनाए । उनले भने, ‘गलत काम हनु नपाओस् र हाम्रा युवाहरुले सम्मानजनक काम पाउन र कमाएको रेमिट्यान्स सुरक्षित साथ घर आओस् ।’ त्यस्तै चौथो आयाममा संयुक्त राष्ट्र संघ, क्षेत्रीय तथा बहुपक्षीय सम्बन्ध अगाडि बढाएको पनि उनले सुनाए ।

नेपालको आफ्नो छबी (प्रोफाईल) विस्तारै बढ्दो अवस्थामा रहेको ज्ञवालीको जिकिर छ । उनले भने, ‘नेपालले आफ्नो कुरा प्रष्टसँग भन्न नसक्ने हिजोको अवस्थालाई पछाडि छोडेर हामीले विकास प्राथमिकताका कुराहरु अघि बढाएका छौं । आज हाम्रो कुटनीतिको एउटा मुख्य हिस्सा सर्वाधिक महत्वपूर्ण हिस्सा चाहीँ आर्थिक कुटनीति नै हो । हामीले हाम्रा विदेशमा रहेका नियोगहरुलाई पनि बढिभन्दा बढि लगानी भित्र्याउन, बढिभन्दा बढि पर्यटकहरु नेपाल पठाउन, व्यापार घाटालाई कम गर्नको निम्ति हाम्रो निर्यात बढाउन, त्यहाँ रहेका नेपाली डायस्पोराहरुलाई उहाँहरुको प्रविधि, ज्ञान र रिसोर्सहरुलाई नेपालको विकासमा कसरी जोड्न सकिन्छ ? यो आर्थिक नीतिमा रहेर काम गर्न भनेर हामीले भनेका छौं ।’

नेपालले शान्ति प्रकृयाको काम मौलिक ढंगले सम्पन्न गरेको सुनाउँदै मन्त्री ज्ञवालीले भने,‘शान्ति प्रकृयाका सबभन्दा अप्ठ्यारा कामहरु हामीले एकदमै मौलिक ढंगले गरिसक्यौं । लडाकुको व्यवस्थापन गर्यौं ।’

चिनियाँ उच्चस्तरीय नेतृत्वको नेपाल भ्रमण छिट्टै हुनेमा आफूहरु आशावादी रहेको पनि ज्ञवालीले सुनाए । उनले भने, ‘उचित समयमा चिनियाँ उच्चस्तरीय राजनीतिक नेतृत्वको भ्रमण हुनेछ ।’

यही बैशाखको अन्तिम साता प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको भ्रमणमा जाने पनि उनले जानकारी दिए । ज्ञवालीले भने, ‘प्रधानमन्त्रीको भ्रमणको लागि औपचारिक गृहकार्य भैरहेको छ । दुवै देशको भ्रमण अत्यन्तै महत्वपूर्ण छ ।’

श्रीलंकामा हालै भएको श्रृंखलाबद्ध बम हमलाको घट्नाप्रति दुःख व्यक्त गर्दै श्रीलंकाली सरकार र जनताप्रति नेपालको सदैव साथ र सहयोग रहने पनि उनले बताए ।

Advertisement

Advertisement

Advertisement