करोडौं रुपियाँको ठगी मुद्दा लागेका गण्डकी मेडिकल कलेजका अध्यक्ष सामान्य धरौटीमा रिहा

Advertisement

पोखरा । सरकारले तोकेभन्दा बढि शुल्क लिएर विद्यार्थी तथा अभिभावकहरुलाई ठगी गरेको मुद्दा लागेपछि फरार रहेका गण्डकी मेडिकल कलेज (जीएमसी)का अध्यक्ष खुमाप्रसाद अर्याल नाटकीय ढंगले रिहा भएका छन् ।

फरार रहेका उनी सोमबार एकाएक कास्की अदालत उपस्थित भएर बयान गराइदिन माग गरे र उनलाई अदालतले सामान्य धरौटी (१७ लाख रुपियाँ)मा छाड्न आदेश दियो । सोही ठगी मुद्दा लागेका कलेजका अरु कर्मचारीलाई पनि अदालतले यसैगरी यसअघि पालैपालो रिहा गर्दै आएकोमा खुमा पनि नाटकीय शैलीमा उपस्थित भएर रिहा भएका हुन् ।

घट्नाक्रम हेर्दा अदालतसँगकै सेटिङमा उनीहरु अदालतमा हाजिर हुँदै सामान्य धरौटीमा रिहा गराउने काम भएको देखिन्छ । अध्यक्ष खुमा आफ्नो बयान गराइदिन माग गर्दै बिहानै १० बजे अदालत छिरेका थिए । अपरान्हतिर उनी सामान्य धरौटी बुझाएर प्रफुल्ल मुद्रामा बाहिरिन सफल भएका थिए । थुनछेक बहसपछि न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

खुमाको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा, निर्मलकुमार कार्की र दीपक पौडेलले बहस गरेका थिए । सरकारले तोकेभन्दा चर्को शुल्क लिएका खुमासहित ११ जनाले करोडौं रुपियाँ ठगी गरेको आरोप लागेको छ । अब चिकित्सा शास्त्र अध्ययन संस्थानले तोकेको शुल्क लिने र लिएको बढि शुल्क फिर्ता गर्ने सहमति जनाएकाले सामान्य धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

Advertisement

Advertisement

Advertisement