बंगलादेशमा नेपाली धागो निकासीको अवरोध हट्यो

Advertisement

काठमाडौं । बंगलादेशले ४ वर्षदेखि नेपाली धागोको आयातमा लगाउँदै आएको निकासी प्रतिबन्ध फुकुवा गरेको छ । बंगलादेशको नेशनल बोर्ड अफ रेभेन्यु (एनबीआर)ले सरोकारवालाहरुसँगको छलफलपछि नेपाली धागोको आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको हो ।

राजस्व बोर्डले स्थलमार्ग हुँदै धागो आयात गर्न अनुमति दिने निर्णय गरेको बंगलादेशको सञ्चारमाध्यमले जनाएको छ । योसँगै अब नेपालबाट बंगालदेशमा धागो निकासी गर्ने बाटो खुलेको छ ।

ठूलो परिमाणमा पूँजी ,श्रम र उर्जा खपत हुने भएकोले धागो उद्योग पूर्ण क्षमतामा संचालन हुनु आवश्यक छ । स्वदेशी उद्योगले हाल वार्षिक करिब ११ अर्ब रुपियाँ बराबरको धागो निर्यात गरिरहेका छन् । एक्रेलिक यार्न (ऊन),भिस्कस यार्न, पोलिष्टर भिस्कस, डाइड यार्न (रंगिन धागो) निर्यात हुँदै आएको जनाईएको छ ।

स्वदेशी धागो उद्योग रिलायन्स स्पिनिङ, त्रिवेणी स्पिनिङ, जगदम्बा स्पिनिङले भारत, टर्की, बंगलादेश, अफ्रिकी मुलुकमा धागो निर्यात गर्दै आएका छन्।

बंगलादेशले ४ वर्षअघि नेपाली धागोको आयात बन्द गर्ने निर्णय गरेको थियो । तर, नेपाली पक्षले सन् २०१७ देखि नै प्रतिबन्धले नोक्सानी परेको भन्दै फुकुवा गर्न आग्रह गर्दै आएको थियो । निजी तथा सरकारी तबरमा भएका विभिन्न छलफल र नेपाली धागोको गुणस्तर परीक्षणपछि बंगलादेश सरकार नेपाली धागो आयात गर्न दिने निष्कर्षमा पुगेको हो ।

बोर्डको सीमा शुल्क निर्धारण विभागले गत अप्रिल ७ मा पाँचग्रहको तेतुलियामा स्थलमार्ग हुँदै धागो आयातको अनुमति दिने वैधानिक नियामक आदेशसमेत जारी गरिसकेको छ ।

बोर्डले जारी गरेको वैधानिक नियामक आदेशअनुसार, बोन्डेड वेयरहाउस लाइसेन्स लिएकाले मात्रै स्थलमार्ग भएर नेपाली धागोको आयात गर्न पाउने छन् । बोन्ड लाइसेन्समार्फत गरिने आयात ड्युटी फ्रि हुने व्यवस्था पनि बोर्डले गरेको छ । तर, सामान्य आयातमा भने थप १० प्रतिशत दायित्व पर्नेछ ।

नेपालमा हाल दर्जनौं धागो उद्योग सञ्चालनमा छन् । ४ वटा त ठूला लगानीका टेक्स्टायल उद्योग नै सञ्चालनमा छन् । जसमा करिब १५ अर्ब रुपियाँ लगानी गरिएको अनुमान गरिएको छ । १० हजारलाई प्रत्यक्ष रोजगारी दिँदै आएका यस्ता धागो उद्योगहरुले वार्षिक ४० हजार टन धागो उत्पादन गर्ने गरेको बताइन्छ ।

नेपालमा उत्पादन गरिएको धागो निर्यात गरिने प्रमुख ठाउँ नै बंगलादेश भएकाले बंगलादेशले लगाएको प्रतिबन्ध नेपालको लागि दुःखको कुरा थियो तर अब बंगलादेश सरकारको निर्णयसँगै नेपाली धागो व्यवसायीहरुलाई ठुलो राहत मिलेको छ ।

Advertisement

Advertisement

Advertisement