कर्मचारी समायोजनले पुनर्निर्माणको काममा समस्या भयोः ज्ञवाली

Advertisement

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाका कार्यहरु सम्पन्न गर्न सबैभन्दा ठूलो चुनौती वित्तीय व्यवस्थापनको देखिएको छ । संघीयता कार्यान्वयनका क्रममा भएको कर्मचारी समायोजनले पुनर्निर्माणमा अनुभवी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा खटाउनु पर्दा पुनर्निर्माणको काममा प्रमुख चुनौती बन्न पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबार पत्रकार सम्मेलन गरी जनाएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पपछिको पुनर्निर्माण पछिल्लो समयमा द्रुत गतिमा अघि बढिरहेको बताएका छन् । नेपालको पुनर्निर्माण कार्यको प्रगतिप्रति अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेको जिकिर गर्दै उनले कतिपय दातृ निकायले प्रतिबद्धता गरेको भन्दा थप रकम सहयोग गर्न थालेको समेत बताए ।

ज्ञवालीले भने, ‘हाम्रो पुनर्निर्माण धेरै हिसाबले विश्वका लागि नमूनायोग्य र अनुकरणीय बन्दैछ, जुन हामी सबै नेपालीका लागि गौरवको विषय हो ।’ यद्यपि उनले पुर्ननिर्माणको कामको थुप्रै चुनौति रहेको पनि बताए । ज्ञवालीले सबैभन्दा ठूलो चुनौती वित्तीय व्यवस्थापनको देखिएको बताए । पुनर्निर्माण र पुनस्र्थापनाको पञ्चवर्षीय योजनामा समग्र पुनर्निर्माणका लागि कूल नौ खर्ब ३८ अर्ब रकमको आंकलन गरिएको, जसमध्ये आर्थिक वर्ष २०७४।७५ सम्म एक खर्ब ८६ अर्ब रकम खर्च भएको, चालू आर्थिक वर्षमा एक खर्ब २३ अर्ब खर्च गर्ने परिमार्जित लक्ष्य लिइएको बताए ।

संघीयताको कार्यान्वयनका क्रममा भएको कर्मचारी समायोजनले पुनर्निर्माणमा अनुभवी कर्मचारीहरुलाई प्रदेश र स्थानीय तहमा खटाउनु पर्दा पुनर्निर्माणमा असर परिरहेको पनि ज्ञवालीले खुलासा गरे । उनले यसको व्यवस्थापन आफूहरुका लागि अर्काे प्रमुख चुनौती बनेको बताए ।

भूकम्पले विनास मात्र नगरेर अवसरहरु र सम्भावनाहरु पनि ल्यायो भन्दै ज्ञवालीले सुरक्षित भौतिक संरचनाहरुका साथै विभिन्न ठाउँमा सुन्दर बस्तीहरु बनेको उदाहरण दिए । निजी आवास पुनर्निर्माण सम्पन्न गर्नेहरुले जिविकोपार्जनका थप अवसरहरु समेत माग गरेको उनले बताए । भूकम्प पीडितहरुलाई जीवीकोपार्जनका अवसरहरुसँग जोड्ने र आर्थिक रुपमा रुपान्तरण गर्ने चुनौती पनि प्राधिकरणसँग रहेको भन्दै ज्ञवालीले यसका लागि सहुलियत ऋणको व्यवस्था मिलाइएको र आगामी वर्षदेखि विशेष सहयोग कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण र पुनस्र्थापनाको नीतिगत एवं कानूनी व्यवस्थाहरु सम्बोधन गर्न पहल गरिरहेको बताए । साथै, उनले पुर्ननिर्माणमा आफूहरुले अबलम्बन गरेको नीति सफल रहेको पनि जिकिर गरे । ज्ञवालीले भने, ‘हामीले अपनाएको पुनर्निर्माण र पुस्र्थापनाको मौलिक शैली हो । पुनर्निर्माणमा हासिल गरेका परिणामहरुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लिएको पुनर्निर्माणको अवधारणा र दृष्टिकोण सही छ भन्ने प्रमाणीत गरेका छन् ।’

प्रगति
प्राधिकरणले पुर्ननिर्माणको प्रगतिमध्ये निजी आवासको पुनर्निर्माणलाई सबैभन्दा केन्द्र विन्दुमा राखेर काम गरेको जनाउँदै निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धी हासिल गरेको जनाएको छ । अनुदान सम्झौता गरेका सात लाख ६२ हजार ३०७ घर परिवारमध्ये छ लाख १२ हजार ९३५ घर परिवार पुनर्निर्माणको प्रक्रियामा रहेको, जसमध्ये ५० प्रतिशत अर्थात तीन लाख ८२ हजार २७७ परिवारले घर पुनर्निर्माण सम्पन्न गरी आ–आफ्नो घरभित्र प्रवेश गरिसकेको, ३० प्रतिशत अर्थात दुई लाख ३० हजार ६५८ परिवार घर पुनर्निर्माणका क्रममा रहेको जनाइएको छ ।

जोखिममा परेका वर्ग र असुरक्षित स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने व्यवस्था मिलाएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । त्यस्तै भूमिहीन, स्ववासी लगायतको समस्या पनि समाधान गर्दैछौं भन्दै जनताबाट आएका अधिकांश गुनासो सम्बोधन गरेको बताउँदै अन्तिम पटकको गुनासो सुन्ने क्रममा स्थानीय तहसँगको समन्वयमा सर्वेक्षण गरिरहेको बताए ।

त्यस्तै, भूकम्पबाट सात हजार ५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति हासिल गरेको, जसमा ५९ प्रतिशत अर्थात चार हजार ४७६ को पुनर्निर्माण सम्पन्न भइसकेको र एक हजार ७७२ विद्यालय पुनर्निर्माणको क्रममा रहेको जनाइएको छ ।

स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ समग्रमा ६६ प्रतिशत उपलब्धी हासिल भएको, जसमा ५४ प्रतिशत अर्थात ६४३ को पुनर्निर्माण सम्पन्न गरेको र १२ प्रतिशत अर्थात १४५ पुनर्निर्माणको क्रममा रहेको जनाएको छ । पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा भूकम्प अति प्रभावित जिल्लामा ५९ प्रतिशत उपलब्धी हासिल गरेको भन्दै प्राधिकरणले जसमा २२४ वटा अर्थात ३० प्रतिशत पुननिर्माण सम्पन्न भएको, २२१ वटा अर्थात २९ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जनाएको छ ।

सुरक्षा निकायका भवनहरुको पुनर्निर्माणमा ५६ प्रतिशत प्रगति भएको छ, जसमा ३८ प्रतिशत अर्थात १४५ को पुनर्निर्माण सम्पन्न भएको छ भने १८ प्रतिशत अर्थात ७१ वटा भवन पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ । सरकारी भवनको पुनर्निर्माणमा ९८ प्रतिशत उपलब्धी गरेको भन्दै प्राधिकरणले त्यसमा ६३ प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको र ३५ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको जनाएको छ । भूकम्पबाट क्षति भएका सडक, खानेपानी लगायतका संरचनाहरुको पनि पुनर्निर्माण गर्ने काम भइरहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement