विप्लव माथिको प्रतिवन्ध हटाउन माग गर्दै चार वाम दलले संयुक्त आन्दोलन गर्ने

Advertisement

काठमाडौँ । नेत्र विक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माथि सरकारले लगाएको प्रतिवन्ध हटाउन माग गर्दै चार साना वाम दलले कार्यगत एकता गरी आन्दोलन गर्ने भएका छन्। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) संयुक्त मोर्चा बनाएर आन्दोलनको तयारी गरेका हुन्।

विप्लव समूह माथिको प्रतिवन्धसहित नागरिकता, भ्रष्टाचार र हत्या हिंशा अन्त्यको माग गर्दै साना वाम दलले आन्दोलनको तयारी गरेका हुन्। यो आन्दोलनमा क्रान्तिकारी माओवादी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा देजमो पनि सहभागि हुने छ । पहिलो चरणमा यी दलले वैशाख २७ गते शान्तिबाटिकमा सभा गर्ने जनाएका छन्। वैद्यसहित विप्लव समूहका सुलभ, कट्टेल, माओवादी केन्द्रका कर्णजीत बुढाथोकी र देजमो अध्यक्ष सिपी गजुरेलले हस्ताक्षर गरेको वक्तव्यमा नागरिकता विधेयक विचाराधीन रहेकै वेला गृहमन्त्रालयले जारी गरेको सर्कुलर खारेज गर्दै सर्कुलरका आधारमा वितरण गरिएका नागरिकता रद्ध गर्न मागसमेत गरिएको छ।

त्यसैगरि हालै सार्वजनिक भएको नेपालको नक्सा खारेज गर्दै नयाँ नक्सा तयार पार्न पनि माग गरिएको छ। ’भारतले तयार पारेको नक्कली नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा गाभेर हाम्रो ३७२ वर्ग्किलोमिटर जमिन गायब पारिएको छ । उक्त नक्सामाथि प्रतिबन्ध लगाएर नेपाल सरकारले आफ्नो भूभाग सुरक्षित भएको नक्सा तयार पार्न हामी माग गर्दछौँ,’ वक्तव्यमा भनिएको छ । साना वाम पार्टीले वाइडबडी विमान प्रकरणमा संलग्न भ्रष्टाचारीहरू तथा हालै प्रधानमन्त्री निवाससहित बालुवाटारको जग्गा व्यक्तिका नाममा लैजाने भ्रष्टाचार काण्डमा संलग्न सबैलाई कारबाहीको मागसमेत गरेको छ।

यता, एनसेलले तिर्नुपर्ने अर्बौं रूपैयाँ कर तुरुन्त असुली गर्नसमेत पनि वक्तव्यमा माग गरिएको छ । वक्तव्यमा नेपाल हुँदै तस्करी गरिएको भनिएको ३८ क्वीन्टल सुन र साढे ३३ किलो सुन कहाँ छ भन्दै संलग्न माथि कारवाही गर्न माग गरिएको छ। वक्तव्यमा कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीहरूलाई सार्वजनिक गरी कारबाही गर्नसमेत माग गरिएको छ ।

Advertisement

Advertisement

Advertisement