नेप्सेमा दोहारो अंकको वृद्धि, ९५ करोड माथिको कारोबार

share-Market-rising

काठमाडौं । बुधबार सेयर बजार (नेप्सेमा) दाहोरो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक १९.१४ अंकले उकालो लागेको छ । कारोबार शुरु भएदेखि निरन्तर वृद्धि हुँदै गएको सो दिनको नेप्से अघिल्लो दिनको तुलनामा १.५२ प्रतिशतले बढेर १२७९.२९ अंकमा पुगेको छ ।

दोहोरो अंकले उकालो लागेको बजारमा कुल १७२ कम्पनीको ९५ करोड रुपियाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन ९ हजार ६०९ वटा कारोबारमा कुल ३४ लाख ८ हजार ३७४ कित्ता सेयर किनबेच भएका छन् ।

united

गत मंगलबार सबैभन्दा बढी कारोबार गर्नेमा अधिकांश वाणिज्य बैंक रहेका छन् । त्यस्तै आज पनि वाणिज्य बैंक समूहको नै बढी सेयर कारोबार भएको पाईन्छ । एकैदिन यो समूहको कुल ३४ करोड रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

कुल ३ हजार ५२३ पटकको कारोबारमा सो मात्राको सेयर किनबेच भएको छ । वाणिज्य बैंक मध्ये पनि नेपाल बैंक लिमिटेडको ९ करोड रुपियाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आईएमई को ७ करोडको कारोबार भएको छ भने एनआईसी एशियाको कारोबार ६ करोडको हाराहारीमा भएको छ ।

दोहोरो अंकले बढेको बजारमा पनि दुई समूहको सूचक राताम्मे भएका छन् । हाइड्रो पावर र उत्पादनमूल समूहको सूचक क्रमशः १०.६८ र २.६९ अंकले घटेका छन् । कारोबारमा आएका १० वटा समूह मध्ये होटल समूहको ६०.११ अंकले बढेको छ भने विकास बैंक ३९.३४ अंकले बढेर हरियो भएको छ। नेप्सेका साथै ‘क’ वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.८० अंकले उकालो लागेर २७६.९४ अंकमा पुगेको छ ।