राष्ट्रपति भण्डारीले वैशाख २० गते सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

Advertisement

काठमाडौँ । सरकारको वार्षिक नीति तथा कार्यक्रम वैशाख २० गते प्रस्तुत गर्ने तय भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्वोधनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको संसद् सचिवालयले जनाएको छ ।

संसद्को वर्षे अधिवेशन वैशाख १६ बाट सुरु हुँदैछ । चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति फर्केकै भोलिपल्ट सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सरकारको वार्षिक नीति तथा कार्यक्रम पारितपछि बजेट प्रस्तुत गर्ने प्रचलन छ।

प्रतिनिधिसभा नियमावलीमा बजेट प्रस्तुत गर्नु १५ दिन अगावै प्रिबजेट छलफल गर्नुपर्ने व्यवस्था छ। नियमावलीको नियम १४२ को २ मा भनिएको छ, ‘विनियोजन विधेयक प्रस्तुत गर्नु पूर्व बैठकमा बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियो भनी अर्थमन्त्रीले प्रस्ताव राख्नेछन्।’ सोही नियमको उपनियम ४ मा राजस्व र व्यायको वार्षिक अनुमान (बजेट) प्रस्तुत हुनुभन्दा कम्तिमा १५ सदन अगावै छलफल भइसक्नुपर्ने व्यवस्था छ।

संसदीय अभ्यासमा प्रिबजेट छलफलका आधारमा अर्थमन्त्रीबाट बजेट निर्माण गर्ने विश्वास गरिन्छ। अर्थमन्त्रीले जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक व्यवस्था छ। संसद्को अर्थ समितिले बजेटका सिद्धान्त र प्राथमिकताबारे सातवटै प्रदेशमा छलफल गरिरहेको छ।

Advertisement

Advertisement

Advertisement