भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले गरे सामूहिक राजीनामा

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन् । भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् । ४ वर्ष अघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर विभिन्न कार्यक्रम भईरहँदा पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भने सरकारले आफूहरुको माग सुनुवाइ नगरेको भन्दै काठमाण्डौमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको जानकारी गराएका छन् ।

भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग नौ महिनासम्म पनि सरकारले सुनुवाई नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्निनियरहरु सामूहिक राजीनामा दिन बाध्य हुनु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले जानकारी दिनुभयो ।

united

प्राधिकरणका इन्जिनियरहरुले विगत नौ महिनायता कटौति गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै आन्दोलन गर्दै आएका थिए । तर त्यसको सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिनुपरेको समितिका अध्यक्ष अमरको भनाइ छ ।

समितिले आफूहरुको माग सरकारले सम्बोधन गरे पुनर्निर्माणको काममा फर्कने प्रतिबद्धता पनि जनाएको छ । भत्तालगायतको सेवा, सुविधा उपलब्ध गराउन माग गर्दै पुनर्निर्माणमा खटिएका झण्डै १ हजार ५ सय इन्जिनियरहरुले गत फागुन २५ गतेबाट आन्दोलन सुरु गरेका थिए ।