मनमोहन नेतृत्वमा सुरु गरेका उदाहरणीय काम अघि बढाउँछौँः प्रधानमन्त्री

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेको उदाहरणीय कामलाई अघि बढाउँदै लैजान वर्तमान सरकार अग्रसर भइरहेको बताए । नेपालका सर्वा्धिक लोकप्रिय प्रधानमन्त्री एवम् बाम तथा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा मनमोहन अधिकारीको २० औं स्मृति दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउने, नेपाल कम्युनिस्ट आन्दोलनलाई विजयको शिखरमा पुर्याउने मनमोहन अधिकारीको सपना अनुसारनै आफ्नो पार्टी अघि बढिरहेको दावी गरे ।

प्रधानमन्त्री ओलीलेवर्तमान सरकार मुलुकमा विद्यमान समस्याको समाधान गर्दै ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानमा प्रतिवद्ध भएर लागि गरेको दावी गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको एकल कम्युनिस्ट नेतृत्वको पहिलो सरकारले आर्थिक विकास, सामाजिक सुरक्षाको सुप्रबन्धलगायतको क्षेत्रमा उदाहरणीय काम गरेर देखाएको पनि स्मरण गराए ।

मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्ध भत्तालगायतका सामाजिक सुरक्षाको प्रबन्धलाई नेपालको इतिहासमै सबैभन्दा उदाहरणीय कामको रुपमा लिने गरिन्छ । प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी नेतृत्वको सरकारले मुलुकको शान्ति सुरक्षा, परराष्ट्र सम्बन्ध, सामाजिक न्याय र समानताको पक्षमा खेलेको भूमिका पनि उल्लेखनीय रहेको बताए । उनले मनमोहन अधिकारीलाई नेपालको अग्लो कम्युनिस्ट नेताको रुपमा चित्रण गरे ।

२०५१ सालमा जनताबाट निर्वा्चित पहिलो कम्युनिस्ट पार्टी नेतृत्वको सरकार बनाउन सफल मनमोहन अधिकारीको नौं महिने कार्यकाललाई नेपालको इतिहासमै सर्वा्धिक लोकप्रिय सरकारको कार्यकालको रुपमा लिने गरिन्छ । वृद्ध भत्ता, आफ्नो गाउँ आफै बनाऔंजस्ता लोकप्रिय कार्यक्रममार्फत् नेपाली जनताको मनमा बस्न सफल मनमोहन अधिकारीको २०५६ साल बैशाख १३ गते अर्थात् आजकै दिन निधन भएको थियो । उनको स्मरणमा मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले स्वर्गीय मनमोहन अधिकारीको शालिकमा माल्यअर्पण गरेका थिए ।

Advertisement

Advertisement

Advertisement