श्रीलंकामा सेना र अतिवादीबीच गोली हानाहान, १६ को मृत्यु

Advertisement

श्रीलंका । श्रीलंकामा प्रहरी र शंकास्पद अतिवादीबीच पुनः गोली हानाहान भएको छ । पूर्वी श्रीलंकाको अम्पारा साइतन्मरुतु सहरमा प्रहरीले छापा मार्ने क्रममा दोहोरो गोली हानाहान भएको हो । भिडन्तमा ६ बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । प्रहरीले छापा मार्ने क्रममा एउटा सशस्त्र समूहले तीनवटा शक्तिशाली विस्फोट गराएपछि गोली हानाहान भएको थियो । पछिल्लो झडप आइतबारको शृंखलाबद्ध हमलाका मुख्य योजनाकार बताइएका चरमपन्थी धर्मगुरु जाहरान हासिमको गृहनगरनजिकै भएको हो ।

ठूलो मात्रामा हतियार बरामद
अम्पारा साइतन्मरुतु सहरमा शंकास्पद लडाकु लुकेको सूचनाका आधारमा प्रहरीले एउटा घरमा छापा मारेको थियो । विस्फोटपछि झन्डै एक घन्टा प्रहरी र लडाकुबीच भिडन्त भएको थियो । घटनास्थलबाट प्रहरीले ठूलो परिणाममा विस्फोटक पदार्थ, ५० थान जिलेटिन, हजारौँ स्टिलका गेडीहरू र एउटा ड्रोन क्यामरा फेला पारेको सेनाको प्रवक्ताले बताएका छन् । प्रहरीले अतिवादी समूह स्लामिक स्टेट ९आइएस० का पोसाक तथा झन्डालगायत बन्दोबस्तीका सामग्री पनि बरामद गरेको छ । सो घर अतिवादीले बम निर्माण र भण्डारणका लागि प्रयोग गर्दै आएको सुरक्षा अधिकारीले जनाएका छन् । झडपपछि देशभरिबाट १० जनालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । योसँगै प्रहरीले आइतबारको आक्रमणमा संलग्नताको आशंकामा हिरासतमा लिएकाहरूको संख्या ८० पुगेको छ ।

मारिनेमा ६ बालबालिका
घरमा दोहोरो भिडन्तमा मारिएका १५ जनामध्ये ६ जना शंकास्पद अतिवादी र ९ सर्वसाधारण छन् । मारिनेमा ६ जना बालबालिका छन् । प्रहरीले सर्वसाधारणको शंकास्पद अतिवादीसँगको सम्भाव्य सम्बन्धबारे अनुसन्धान गरिरहेको छ । आक्रमणपछि एक शंकास्पद आक्रमणकारी मोटरसाइकल चढेर भागेका थिए भने अर्का शंकास्पद अतिवादी घटनास्थलवरपर लुकेको प्रहरीको भनाइ छ । मारिएका ६ शंकास्पद अतिवादीमध्ये एकजना एनटिजेका प्रभावशाली सदस्य भएको प्रहरीले दाबी गरेको छ । उनको नाम मोहमद नियास भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नियास इस्टर सन्डे हमलाका मुख्य योजनाकार जहरान हसिमका आफ्नै ज्वाइँ हुन् ।

आक्रमणका नाइके मारिए
शृंखलाबद्ध विस्फोटका नाइके मारिएका छन् । आइतबारको हमलाका नाइके जहरान हासिम मारिएको राष्ट्रपति सिरिसेनाले बताएका छन् । राजधानी कोलम्बोस्थित सांग्रिला होटेलमा गराइएको विस्फोटमा कट्टरपन्थी हासिम पनि मारिएको सिरिसेनाले बताए ।

प्रहरी­द्वारा छापा तीव्र
इस्टर सन्डे पर्वको अवसरमा आइतबार दुई सय ५३ जनाको मृत्यु हुने गरी अतिवादीले राजधानी कोलम्बोका तीन चर्च तथा होटेलसहित सात स्थानमा शक्तिशाली विस्फोटन गराएपछि सरकारी सेनाले शंकास्पद स्थानमा छापा मार्ने कार्यलाई तीव्रता दिएको छ । अन्तर्राष्ट्रिय अतिवादी समूहको सहयोगमा श्रीलंकाको नेसनल थविद जमाथ ९एनटिजे०ले सो नरसंहार मच्चाएको सरकारको आरोप छ, तर आक्रमणकारी र अतिवादी समूहबीचको सम्बन्ध अझ पुष्टि भएको छैन । एनटिजे सो हमलाबारे मौन छ, बरु आइएसले आक्रमणको जिम्मा लिएको छ ।

आइतबारका प्रार्थना कार्यक्रम स्थगित
श्रीलंकाको क्याथोलिक चर्चले आइतबारको प्रार्थना कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ । थप आक्रमणको धम्की आइरहेकाले प्रार्थना कार्यक्रम स्थगित भएको जनाइएको छ । आइतबार बम हमलाबारे पूर्वचेतावनीका सम्बन्धमा सरकारले समयमै कदम नचालेकोमा आफूहरूले ‘धोका पाएको’ क्रिस्चियन समुदायले गुनासो गरेको छ । श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीले पनि महत्वपूर्ण गुप्तचर जानकारी आफूहरूलाई नदिइएको भन्दै सुरक्षाकर्मीको आलोचना गरेका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सेना र प्रहरीको उच्च नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका छन् ।

Advertisement

Advertisement

Advertisement